वरिष्ठ मुटुरोट विशेषज्ञ प्रा.डा भगवान कोइरालाको नेतृत्वमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामको विशिष्टिकृत बाल अस्पताल सञ्चालनमा आएको छ ।
काठमाडौंको बूढानीलकण्ठ चपलीमा बनेको अस्पतालको बहिरंग सेवा आइतबारदेखि शुरू भएको र ३ हप्ताभित्र पूर्णरूपमा सञ्चालनमा आउने व्यवस्थापनले जनाएको छ । अहिले पनि भवन निर्माणको काम धमाधम चलिरहेको छ ।
अस्पतालका अध्यक्ष डा. कोइरालाले बहिरंग सेवा शुरू भएको लोकान्तरलाई जानकारी दिए ।
‘आजदेखि बहिरंग सेवा शुरू भयो, २ देखि ३ हप्ताभित्र सम्पूर्ण सेवा सञ्चालनमा आउँछन्’, आइतबार अस्पतालमै भेटिएका कोइरालाले भने, ‘अस्पतालमा बालबालिकासम्बन्धी विशेषज्ञको विशिष्टिकृत सेवा सञ्चालन हुनेछ ।’
अस्पतालका प्रमुख परिचालन अधिकारी दीपेन्द्र खड्काले ३ हप्तापछि आकस्मिक, क्रिटिकल केयरसहित एउटा ब्लकबाट सय बेडको अस्पताल शुरू हुने जानकारी दिए ।
अस्पतालमा बन्ने ३ वटा ब्लकमध्ये एउटा भवन भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बनाइदिएका हुन् ।
अस्पतालका सबै संरचना सम्पन्न गर्दा २ अर्ब खर्च लाग्ने खड्काले बताए । अबको ८ महिनापछि अस्पतालमा २ सय बेड क्षमता विस्तार हुनेछ ।
एउटै अस्पतालबाट सबै सुविधा उपलब्ध हुने र शुल्क अन्य सरकारी अस्पतालसरह हुने खड्काले बताए ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको चपलीमा बनेको अस्पतालका लागि सरकारले सार्वजनिक जग्गा लिजमा उपलब्ध गराएको हो ।
अस्पतालमा अन्य के–के सुविधा र विशेषता हुनेछन् ?
हेर्नुहोस्, भिडियोमा :