
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार अपराह्न साढे ४ बजेपछि बैठक शुरू भएको हो ।
बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनमार्फत अहिलेको निकास खोज्न आग्रह गर्ने तयारी गरेका छन् ।
बैठकअघि महामन्त्री शर्माले विशेष महाधिवेशन नै अहिलेको उपयुक्त निकास भएको बताएका थिए । संस्थापन पक्षका नेता विमलेन्द्र निधिले सो प्रस्ताव अस्वीकार्य रहेको बताए ।
कार्यसम्पादन समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए ।
शुक्रबार नै कांग्रेस नेताहरूसँग भेट गरेका देउवाले पार्टी विभाजन हुन नदिने बताएका थिए ।
गगन–विश्वको आह्वानपछि पुस २७–२८ गते महाधिवेशन गर्न काठमाडौंको भृकुटीमण्डपमा हलसमेत बूकिङ गरिएको छ ।