
धनकुटा जिल्लामा नेपाली कांग्रेसको इतिहास जति पुरानो छ, संसदीय राजनीतिमा यसको नतिजा उत्तिकै संघर्षपूर्ण रहँदै आएको छ ।
रोचक कुरा त के छ भने, अहिलेसम्म धनकुटामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फको चुनावमा विजय हासिल गर्न सकेको छैन । २०६४ सालको निर्वाचनमा लिला सुब्बा, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मनोहर नारायण श्रेष्ठ र अन्जना ताम्ली समानुपातिकबाट संविधानसभा सदस्य भएयता धनकुटा कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा आफ्नो कुनै पनि प्रतिनिधि पठाउन सकेको थिएन ।
करिब १२ वर्ष लामो संसदीय रिक्ततालाई चिर्दै अन्तत: सुनिलबहादुर थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएका छन् ।
कोशी प्रदेशको ‘अन्य’तर्फको कोटामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनका साझा उम्मेदवार रहेका थापविरुद्ध कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यो पदमा नेकपाका हेमराज घिमिरेले उम्मेदवारी दर्ता गर्ने भनिएपनि उनी निर्धारित समयमा पुगेनन् ।
मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंका अनुसार यसपटक तीन दलका ५ जना उम्मेदवारले मात्र विभिन्न क्लस्टरमा मनोनयन दर्ता गराएका छन् । थापाले नेपाली कांग्रेस र नेकपा एमालेको साझा गठबन्धनबाट उम्मेदवारी दिएका हुन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेबीच क्रमश: ९ र ८ सीटमा भागबण्डा भएको छ भने एक सिट जसपाका महन्थ ठाकुरलाई छुट्याइएको छ । यही राजनीतिक समीकरणले थापालाई बिनाप्रतिस्पर्धा सदनमा पुर्याउने बाटो प्रशस्त गरेको हो ।
पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनिलको राजनीतिक यात्रा बहुआयामिक र उतारचढावले भरिएको छ । लामो समय संयुक्त राष्ट्रसंघमा आबद्ध रहेका थापाले सन् २०११ मा सुडानमा कार्यरत रहँदा राजीनामा दिएर नेपालको सक्रिय राजनीतिमा पाइला टेकेका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा राप्रपाबाट धनकुटा–२ मा प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री समेत बनेका थिए ।
बाबुको निधनपछि २०७७ साउन १३ गते राप्रपा छोडेर कांग्रेसमा प्रवेश गर्दा उनलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत निर्वाचित भए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएपछि थापाको संसदीय यात्रामा केही समय अल्पविराम लागेको थियो । सो हारपछि उनी राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । तर, राष्ट्रियसभाको ढोका खुलेसँगै उनले सल्लाहकार पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने निर्णय गरेका थिए ।
कांग्रेसभित्र पछिल्लो समय गगन थापा पक्षमा उभिन थालेका थापालाई यसपटकको निर्वाचनले ठूलो राजनीतिक राहत दिएको छ । थापा गगन लाइनतिर लाग्न थालेपछि उनलाई संस्थापनपक्षले राष्ट्रियसभाको उम्मेदवार बनाउने रणनीति लिएको कांग्रेस कोशीका केही नेता बताउँछन् ।
प्रत्यक्ष निर्वाचनमा सधैँ पराजयको तीतो अनुभव भोग्दै आएको धनकुटा कांग्रेसका लागि थापाको यो जितले ‘नील’को लज्जा तोडिदिएको छ ।
थापाको पुनरागमनले जिल्लाका कांग्रेस कार्यकर्तामा नयाँ उत्साह सञ्चार गरेको छ । कांग्रेस धनकुटाका सभापति दिनेश राईले थापा निर्वाचित हुनुलाई जिल्लाको राजनीतिक ‘ग्रहदशा’ काटिएको रूपमा टिप्पणी गरेका छन् ।
उनले भने, ‘प्रत्यक्षमा अहिलेसम्म नफापे पनि यसपटक धनकुटा कांग्रेसलाई लक्की लागेको छ । अब आउने प्रतिनिधिसभा निर्वाचनमा पनि हामीले नै जित्ने आधार खडा भएको छ ।’
१२ वर्षपछि धनकुटेली जनताको प्रतिनिधित्व गर्दै सदनमा पुगेका थापाले राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्नेछन्, त्यो भने आगामी दिनले नै देखाउनेछ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट अब २ पदका लागि ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ ।