१० साउन २०८३, आइतबार

भारतको आईएनएसभी कौडिन्य मस्कटको अन्तिम गतव्यतर्फ

पुस २३, २०८२
काठमाडौं
भारतको आईएनएसभी कौडिन्य मस्कटको अन्तिम गतव्यतर्फ

भारतीय नौसेनाको पालवाला जहाज आईएनएसभी कौडिन्य ओमानको मस्कटस्थित अन्तिम गन्तव्य नजिक पुगेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जीव सान्याल, जो हाल उक्त जहाजमै यात्रा गरिरहेका छन्, ले यात्राको अवस्थाबारे जानकारी दिँदै भने, 'समुद्र शान्त छ र उत्तर–पूर्वी हावा अनुकूल चलिरहेको छ। पश्चिमी हावा शान्त रहने आशा छ।'

यस यात्राले महासागरसँग भारतको दीर्घकालीन सम्बन्धलाई पुनः उजागर गर्नुका साथै भावी पुस्ताका नाविक र अन्वेषकलाई प्रेरित तथा प्रशिक्षित गर्ने प्रयासलाई समेत उजागर गरेको छ।

यसअघि सान्यालले नौसेनाका प्रमुख एडमिरल दिनेश त्रिपाठीसँगको संवादका तस्बिरहरू सार्वजनिक गरेका थिए। उक्त अवसरमा नौसेनाप्रमुख त्रिपाठीले चालक दलको व्यावसायिकता र भारतको समुद्री इतिहाससँग जोडिएको यस विशिष्ट यात्राका लागि गरेको प्रयासको प्रशंसा गरे।

उनले आईएनएसभी कौडिन्यको यात्रा राष्ट्रिय समुद्री चेतना पुनर्जागृत गर्ने भारतीय नौसेनाको दीर्घकालीन प्रतिबद्धताको प्रतीक भएको बताए। हजारौं वर्ष पुराना जहाज निर्माण र समुद्री यात्राका परम्परालाई पुनर्जीवित गर्दै यो अभियानले भारतको समृद्ध समुद्री विरासत र ऐतिहासिक सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाएको उनले उल्लेख गरे।

गत पुस १४ गते भारतको गुजरातस्थित पोरबन्दरबाट ओमानको मस्कटतर्फ भारतीय नौसेनाको स्वदेशमै निर्मित परम्परागत सिउने प्रविधिमा बनेको पालवाला जहाज आईएनएसभी कौडिन्यले आफ्नो पहिलो अन्तर्राष्ट्रिय समुद्री यात्रा शुरू गरेको थियो।

यो ऐतिहासिक अभियानले जीवित समुद्री यात्रामार्फत भारतको प्राचीन समुद्री विरासतलाई पुनर्जीवित, अध्ययन र उत्सवका रूपमा मनाउने प्रयासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिएको छ।

जहाजलाई पश्चिमी नौसैनिक कमाण्डका कमाण्डर–इन–चिफ भाइस एडमिरल कृष्ण स्वामीनाथनले औपचारिक रूपमा बिदाइ गरेका थिए। कार्यक्रममा भारतका लागि ओमानका राजदूत इस्सा सालेह अल शिबानी तथा भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस अभियानको प्रशंसा गर्दै भनेका छन्, 'आईएनएसभी कौडिन्यले पोरबन्दरबाट मस्कटतर्फ आफ्नो पहिलो यात्रा सुरु गरेको देख्दा खुशी लागेको छ। प्राचीन भारतीय सिउने जहाज निर्माण प्रविधिबाट बनेको यो जहाजले भारतको समृद्ध समुद्री परम्परालाई उजागर गर्छ। यसलाई साकार पार्न योगदान गर्ने डिजाइनर, कारीगर, जहाज निर्माता र भारतीय नौसेनालाई बधाई। चालक दललाई सुरक्षित र सम्झनलायक यात्राको शुभकामना।'

आईएनएसभी कौडिन्य परम्परागत सिउने जहाज निर्माण प्रविधिबाट, प्राकृतिक सामग्री र सयौं वर्ष पुराना विधि प्रयोग गरी निर्माण गरिएको हो। ऐतिहासिक स्रोत र कलात्मक प्रमाणबाट प्रेरित यो जहाजले भारतको स्वदेशी जहाज निर्माण, समुद्री सीप र महासागरीय नेभिगेसनको समृद्ध विरासत प्रतिनिधित्व गर्छ।

यस यात्राले भारतको पश्चिमी तट र ओमानलाई जोड्ने प्राचीन समुद्री मार्गको पुनःअनुसरण गरेको छ, जसले भारतीय महासागर क्षेत्रमा व्यापार, सांस्कृतिक आदानप्रदान र सभ्यतागत सम्बन्धलाई मजबुत बनाएको थियो।

अभियानले भारत र ओमानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। मस्कटमा आईएनएसभी कौडिन्यको आगमनले शताब्दीयौंदेखि जोडिएका मित्रता, आपसी विश्वास र सम्मानको सशक्त प्रतीकका रूपमा काम गर्नेछ।

यस यात्राले गुजरात र ओमानबीचको ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ, जुन सहकार्यको विरासत आजसम्म निरन्तर रहँदै आएको छ। यस अभियानमार्फत भारतीय नौसेनाले समुद्री कूटनीति, विरासत संरक्षण र क्षेत्रीय सहकार्यप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। आईएनएसभी कौडिन्यको यात्रा भारतीय महासागर क्षेत्रमा भारतको जिम्मेवार र सांस्कृतिक रूपमा जरा गाडिएको समुद्री राष्ट्रको पहिचानको प्रतीक बनेको छ।

salt training

कमेन्ट गर्नुहोस्