
गएको मंसिर २२ गते सिरहाको कर्जान्हा नगरपालिका– २ स्कूल टोलमा १७ वर्षीया किशोरी अविना वैद्य मृत फेला परिन् ।
ढुंगाले टाउको थिचेर वीभत्स तरिकाले हत्या गरेको अवस्थामा वैद्यको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुग्यो ।
शुरूमा घटना अनुसन्धानको सुराक केही थिएन । प्रहरीले वैद्यसँग सम्पर्क भएका व्यक्तिलाई अनुसन्धानका लागि झिकायो । शंकास्पद व्यक्ति अनुसन्धानको ‘राडार’मा कोही आएनन् ।
वैद्यको मोबाइलमा फोन आएको नम्बरको पछि लाग्दा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ३ का ४५ वर्षीय रामबालक चौधरीतर्फ अनुसन्धानको सुई तेर्सियो ।
धनुषामै रहेको मधेश प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली पनि जिल्ला र ईप्रकाको टोलीसँग मिसियो ।
काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि घटना अनुसन्धानमा जोडियो । वैद्यसँग फोन सम्पर्कमा रहेका चौधरीको ‘कल लोकेसन’ सिरहाकै पोर्ताहा (पूर्व–पश्चिम राजमार्ग) छेउछाउमा देखियो ।
प्रहरीले पोर्ताहा पुगेर चौधरीको फोटो देखाएर सोधपुछ गर्दा एक होटलमा उनले मदिरा सेवन गरेको तथ्य खुल्यो ।
मंसिर २१ मा राति ७ बजेदेखि चौधरीले वैद्यलाई पटक–पटक कल गरेको कल डिटेलमा देखियो । तर, वैद्यले भने राति साढे ८ बजे मात्रै चौधरीको फोन रिसिभ गरेको खुल्यो ।
घटना विवरण
चौधरीले सिरहामै डेरा लिएर बसेका हुन्छन् । वैद्यलाई डेरामै बोलाउँछन् । राति सवा ९ बजे वैद्य चौधरीको डेरामा पुग्छिन् ।
दुवैजना गफिँदै कमला नदीको तिरैतिर हिँड्दै स्कूल टोल पुग्छन् । पोखरीको छेउ पुगेपछि दुवै जनाबीच सहमतिमै शारीरिक सम्पर्क हुन्छ ।
प्रहरीसँगको बयानमा चौधरीले भनेका छन्, ‘हामीबीच लामो समयदेखि सहमतिमै शारीरिक सम्पर्क हुँदै आएको थियो । घटना हुने दिन पनि खोलानजिकै पुगेर सहमतिमै शारीरिक सम्पर्क भयो । वैद्यले विवाह गर्ने ढिपी कसिन्, तर उसको अरू केटासँग पनि हिमचिम देखेपछि मलाई रिस उठ्यो, ढुंगाले हानेर मारेँ ।’
वैद्यले भिडियो कलमा अरू केटासँग कुरा गरेको चौधरीलाई मन परेको थिएन । यो विषयलाई लिएर उनीहरूबीच पटक–पटक विवाद भएको अनुसन्धानबाट खुलेको छ ।
बयानमा चौधरीले भनेका छन्, ‘मसँग विवाह गर्ने सल्लाह भएपछि पनि वैद्यले अरू केटासँग फोन तथा भिडियोमा सम्पर्क गरेपछि मलाई असैह्य भयो, शुरूमा घाँटी थिचेर बेहोश पारें, मरेकी छैन होला भनेर ढुंगाले टाउकोमा हानेर भागेँ ।’
उनले असन्तुष्टि र आवेगमा आएर वैद्यको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
चौधरीले बयानमा उल्लेख गरेअनुसार वैद्यलाई बेहोश अवस्थामा बोकेर नजिकै झाडीमा पुर्याई पुन: अनुहारमा ढुंगाले हानेर उनी कमला नदीको तीरैतीर डेरामा गएर बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाले चौधरीलाई घटनाको तेस्रो दिन (मंसिर २४ गते) नै पक्राउ गरेको थियो । तर, शुरूमा चौधरीले वैद्यको हत्या आफूले गरेको विषय स्वीकार गरेका थिएनन् ।
घटना घटेको दिन आफू डेरामै रहेको प्रारम्भिक बयान दिएका थिए । तर, जुन दिन उनी होटलमा मदिरा पिएका थिए, त्यो दिन लगाएको कपडा उनले देखाउन सकेनन् । अनि अनुसन्धानको केन्द्रमा उनी आएका थिए । प्रहरीले चौधरीविरुद्ध जबर्जस्तीकरणीपछि हत्या गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार चौधरीसँग बयान लिएर अनुसन्धान भइरहेको छ । उनले लोकान्तरसँग भने, ‘चौधरीलाई हामीले घटना घटेको तीन दिनमै नियन्त्रणमा लिएका थियौं, तर प्रमाण पुर्याउन र अनुसन्धानको सुई जोड्न समय लागेको हो ।’
यही पुस २२ मा मात्रै चौधरीविरुद्ध प्रमाण पुग्ने देखिएपछि प्रहरीले अनुसन्धान विवरण सार्वजनिक गरेको हो ।
चौधरी विवाहित हुन् । पहिलेकी श्रीमतीसँग राम्रो सम्बन्ध हुन नसकेपछि उनले वैद्यलाई विवाह गर्ने आश्वासन दिएर सम्बन्ध राख्दै आएका थिए ।