
एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले विजयी शुरूआत गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार खेलिएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले काँक्रेबिहार युथ क्लबलाई ३–१ गोलले हराएको हो ।
खेलमा अग्रता भने काँक्रेबिहार युथ क्लबले लिएको थियो । खेल शुरू भएको छैटौं मिनेटमै फ्रेन्ड्स क्लबका कमल श्रेष्ठबाट आत्मघाती गोल भएपछि काँक्रेबिहार अगाडि बढेको थियो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रेन्ड्स क्लबका प्रशान्त लकसमले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याएका थिए ।
यसैगरी, निर्धारित समयको ५९औं मिनेटमा प्रवेश बस्नेतले फ्रेन्ड्स क्लबलाई २–१ गोलको अग्रता दिलाएका थिए । निर्धारित समयको अन्तिम समयमा आशिष चापागाईंले फ्रेन्ड्स क्लबका लागि तेस्रो गोल थपेका थिए ।
बुधबारको दोस्रो खेल श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच एन्फा कम्प्लेक्स मैदानमै दिउँसो १५:०० बजे शुरू हुनेछ । एन्फा राष्ट्रिय लिगको यो तेस्रो संस्करण हो ।
एन्फाले ११ वर्षपछि राष्ट्रिय लिग आयोजना गरेको हो । पहिलो संस्करण २०६८ सालमा आयोजना भएको थियो । पहिलो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।
यसैगरी, दोस्रो संस्करण २०७१ सालमा आयोजना भएको थियो । दोस्रो संस्करणमा भने थ्री स्टार क्लब च्याम्पियन बनेको थियो ।
तेस्रो संस्करणमा १७ टोली सहभागी छन् । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेल युथ क्लबले भाग लिएका छन् ।
यसैगरी, सातदोबाटो युथ क्लब, न्युरोड टिम (एनआरटी), लालीगुराँस स्पोर्ट्स एसोसिएसन, चित्लाङ फूटबल क्लब, काँक्रेबिहार युथ क्लब, नव जनजागृति युवा क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब पनि सहभागी छन् ।
विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ । दोस्रो हुने टोलीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ ।
फेयर प्ले पुरस्कार पाउने टोलीलाई पनि एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले पनि एक लाख रुपैयाँ पाउने छ ।
यसैगरी, सर्वोत्कृष्ट गोलरक्षकलाई एक लाख र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रत्येक खेलको विजेता टोलीलाई अतिरिक्त २० हजार रुपैयाँ र प्रत्येक खेलको पराजित टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । खेल बराबरीमा सकिए दुवै टोलीले १५–१५ हजार रुपैयाँ पाउने छन् ।