
विश्वविख्यात अङ्ग्रेजी साहित्यकार, पत्रकार तथा इतिहासकार र समाजवादी चिन्तक एच. जी. वेल्सका अनुसार हालको मानव इतिहासको विकास युरोप तथा एशिया र अफ्रिकाबाट शुरू भएको हो । उनले आफ्ना कृति विश्वको इतिहास, नेपाली अनुवाद नारायण गिरि, दोस्रो संस्करण २०६८, पृष्ठ ४५ देखि ९७ सम्मका विभिन्न खण्डमा उल्लेख गरेअनुसार करीव ४० हजार वर्षपूर्व हालका मानवजाति गोरो वर्ण र कालो वर्ण गरी दुई किसिमका थिए ।
यिनमा गोरो वर्णका जाति उत्तर वा पूर्वबाट र कालो वर्णका जाति भूमध्यरेखीय दक्षिणप्रदेशबाट आएर बसेका थिए । उनीहरूमध्ये करीव ई. पू. दश हजार वर्ष पूर्वसम्म काला प्रजातिका मानिस मुख्यरूपले उष्णकटिबन्धीय अफ्रिकाका जङ्गलमा रहन्थे । ककेशियाई अर्थात् गोरो वर्ण प्रजातिका मानिस उत्तरअफ्रिका, युरोप तथा पश्चिम एशियादेखि भारत र श्रीलङ्कासम्म फैलिका थिए भने मङ्गोल अर्थात् पीतवर्णी प्रजातिका मानिस ककेशियाई क्षेत्रभन्दा पूर्वको सम्पूर्ण एशियामा फैलिका थिए ।
करिब चार हजार वर्षपूर्व मध्य तथा दक्षिणपूर्वी युरोप र मध्य एशियाली क्षेत्रमा भ्रमण गर्दै हिँड्ने गोरो वर्ण तथा नीलो आँखा भएका नार्डिक कविलाहरूसहितका कविलाहरू नै आर्यहरूका पूर्वज थिए । उनीहरूको सङ्ख्या खासै धेरै नभए पनि राइन (नेदरल्याण्ड, जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड आदि देश भएर बग्दै क्यास्पियन अर्थात् काश्यपसागरमा मिसिने युरोपको सबैभन्दा लामो (१२३३ किमि) नदीदेखि क्यास्पियन अर्थात् काश्यपसागर (रुस, अजरवैजान, कजाखस्तान, तुर्कमेनिस्तानको बीचमा पर्ने विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित ताल) सम्म फैलिएर रहेका थिए । यो यही ताल हो, जसलाई विभिन्न विशेषताले गर्दा सागर भन्ने गरिएको छ ।
रुसको मस्को हुँदै बग्ने विश्वको सबैभन्दा लामो नदी भोल्गा तथा युराल पर्वतमालाबाट निस्केर कजाखस्तान हुँदै बग्ने २४२८ किमि लामो युराल नदी र जर्जियाको ककेशस पर्वतमालाबाट निसृत भई उत्तरी ककेशसको प्रमुख नदी टेरेससमेत यसै सागरमा मिल्ने भएकाले यस क्षेत्रलाई मानवविकासका लागि निकै उपयोगी मानिएको बुझिन्छ ।
गोरु जोतेर खेतिकिसानी गर्ने, कतै जानुपर्दा गोरुगाडामा समान लदाएर हिँड्ने, रोकिनुपर्दा बार तथा माटाको झुपडी बनाएर बस्ने, बासस्थान खेतिकिसानी गर्ने स्थानभन्दा केही पर बनाउने, काँस र फलामको सामान प्रयोग गर्ने विशेषता भएका ती क्षेत्रका कविलाजातिहरू मृतकलाई अवस्थाअनुसार जलाउने र दवाउने दुवै कार्य गर्थे ।
करिब ई. पू. ३००० सम्ममा मिश्रमा नीलघाँटी सभ्यता र पर्शियनक्षेत्रमा अर्थात् फरात र दजला नदी (यी दुई नदी त्यतिबेला हालको भन्दा छुट्टै मार्गबाट बगेर फारसको खाडीमा मिल्दथे) का बीचवर्ती क्षेत्रमा सुमेरियन सभ्यता विकास भइसकेका थिए । स्मरणरहोस् प्रलयपूर्व त्यस क्षेत्रमा बसोबास गर्ने प्रोटोइलामाइट जातिका वंशज नै सुमेर जाति हुन्, जो प्रलयको बेला कतै गएर बसेका थिए भने प्रलयपश्चात् पुन: पैत्रिक थातथलो खोज्दै यस क्षेत्रमा आई सुमेर सभ्यता विकास गरेका थिए । सुमेरहरूका आफ्नै लिपि थियो भने घर तथा मन्दिरमा सूर्यपक्व इट्टा प्रयोग गर्दथे ।
कृषि र पशुपालन दुवै पेश अप्नाउने यी जाति युद्धमा भाला र छालाको ढाल प्रयोग गर्दथे भने काँस्य, तामा, सुन, चाँदी र फलामको पनि राम्रै पारखी थिए । मुद्राको चलन नभएकाले उनीहरू व्यपारव्यवसायमा वस्तुविनिमयले काम चलाउँथे । तारा हेरेर मौसम पत्ता लगाउने र साइत जुराउने उनीहरूको विशेषता थियो । उनीहरूको समाजमा शाशक र पुरोहितवर्गप्रति गहिरो सम्मान थियो ।
ई. पू. १००० सम्ममा युनानी भूमिमा संस्कृत भाषाभाषी आर्यहरूका एउटा शाखा फैलिन पुगिसकेको थियो । उनीहरूका आफ्नै गायक र चारण (भाट जाति) हुन्थे, जसले गानबजानको माध्यमबाट समाजलाई जोड्ने काम गर्दथे । यी जातिले समाजलाई मानिसको असभ्य प्रादुर्भावदेखि दुई महान् काव्य इलियड र ओडेसी दिएका थिए । ई. पू. आठौँ वा सातौँ शताब्दीतिर लेखिएको यी दुई काव्यको श्रेय नेत्रहीन चारण (भाट जाति) होमरको नाममा अङ्कित गरिएकोे छ ।
उल्लिखित प्रसङ्गहरूबाट के अनुमान लगाउन सकिन्छ भने युरोप, मध्य एशिया तथा अफ्रिकी भूभागमा चालीस हजार वर्षपूर्व देखा परेका मानवजाति अरू कोही नभएर आर्यहरूकै पुर्खा थिए, जो बेबिलोन, इरान, इराक, युनान, जर्जिया आर्मेनिया, अजरवैजान, काजखस्तान हुँदै भारतीय उपमहाद्वीपमा फैलिन पुगेका थिए । जहाँसम्म यी जातिका पूर्वज को थिए र एक्कासि त्यस क्षेत्रमा कसरी देखा परे भन्ने कुरा छ त्यसका लागि हिन्दूपुराणको सहयोग लिनुपर्ने देखिन्छ ।
हिन्दूपुराणले छैटौँ मनु चक्षुका पुत्र चाक्षुष हुन् भनेको छ । (भागवत ८/५/७) उनका अत्यरातिजानन्तपति, मन्यु (अभिमन्यु), उर, पुर र तपोरत पाँचपुत्र थिए । यीमध्ये कान्छा तपोरतपुत्र अङ्गिरासमेत छ जना महारथि मिलेर चाक्षुष मनुको पालामा पर्शिमाथि आक्रमण गरी सिरिया, बेबिलोनिया, पर्शिया, मिश्र लगायतका तमाम भूभागमाथि अधिकार जमाएका थिए । उनीहरूमध्ये अत्यरातिजानन्तपतिले आर्यवीर्यानक्षेत्र अर्थात् आर्मेनिया–अजरवैजान, मन्युले मन्युपुरी–सुुसाक्षेत्र अर्थात् अमरावती, तपोरतले तपोपुरिया अर्थात् वैकुण्ठ–देमावन्द–ककेशियस पर्वतीयक्षेत्र, अङ्गिराले कुशद्वीप अर्थात् उत्तर अफ्रिकी मुलुकहरू, उरले अफ्रिका, सिरिया, बेबिलोनिया अर्थात् मेसोपेटामिया क्षेत्र (हालको इराक तथा त्यसको आसपास) र पुरले पर्शियामाथि विजय गरेका थिए ।
पर्शियामा त्यतिबेला सुग्द, मरु, वरवधी, निशा, हरयु (शायद हरप्पा) बक्रित (काबुल) आदि क्षेत्र समेटिएका थिए । (आचार्य चतुर्सेन, वयंरक्षाम, मनुर्भरत प्रकण, राजपाल प्रकाशन, मदरा रोड, कश्मीरी गेट, दिल्ली, सन् २०१४)
छैटौँ चाक्षुषमन्वन्तरको अन्त्यमा एउटा भयङ्र जलप्रलय भएको थियो । यति बेला भएको जलप्रलयबाट उल्लिखित क्षेत्रका अधिकांश भूमिलाई लामो समयसम्म जलमग्न भएको थियो । यद्यपि यो प्रलय कहिले भएको थियो भन्नेबारे विभिन्न मत भेटिएकाले यसै भन्न सकिन्न ।
तथापि सत्य के हो भने वर्तमान सातौँ मन्वन्तरको समय बिक्रमपूर्व ५६३० बाट शुरू भएको मानिन्छ । यसको आधारमा भन्नुपर्दा सो प्रलय त्यसअघि भएको अनुमान लगाउन सकिन्छ । स्मरणरहोेस् प्रलयअघि जुन जातिले पर्शियन क्षेत्रमा साम्राज्य कायम गरेका थिए तिनै जातिका वंशज नै प्रलयको जल सुकेर सो क्षेत्र उर्वर बन्न थालेपछि पुन: फकेर आएको बुझिन्छ । प्रमाणका लागि माथिका भनाइहरूलाई नै लिन सकिन्छ ।
लामो समयसम्म वन–उपवन हिँड्दा पक्कै उनीहरूको वंशवृद्धि पनि हुँदै गयो होला र उनीहरू शारीरिक बनोट तथा भाषा, भूषा तथा जीवनचर्या पनि त्यस्तै हुँदै गयो होला । तथापि खुशीको कुरा त के भने लामो समयसम्म जङ्गलीजीवन व्यतीत गर्दै आएका भए पनि उनीहरूले पैतृकभूमि बिर्सेका रहेनछन् र भिन्न रूप र शैलीमै सही पुन: पैतृकभूमिमा फर्केर आएका देखिएका छन् ।