
२०६४ मा रोल्पाबाट पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक रुकुम पूर्वबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
२१ पुसमा पश्चिम रुकुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्ने तयारीमा रहेको जानकारी गराएका थिए ।
रुकुम–रोल्पा तत्कालीन नेकपा माओवादीको आधार इलाका हो ।
हरेक चुनावमा निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै फेरि एकपटक आधार इलाकामा फर्किने पक्का भएको छ ।
रुकुम पूर्वमा माओवादीको बलियो संगठनात्मक आधार रहेकाले जीतको अपेक्षासहित २० वर्षपछि प्रचण्डले पुरानो आधार इलाका रोजेका हुन् ।
आफ्नो दलभित्रको संगठनमा फरक मत राख्नेलाई पन्छाउँदै आएका प्रचण्ड चुनावमा भिड्न कठिन भएकाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै देशभर हिँडेको आरोप लाग्ने गरेको छ । तर, माओवादीका नेता/कार्यकर्ता उनी गतिशील नेता भएकाले देशभरको जुनसुकै ठाउँबाट पनि चुनाव लड्दै आएको तर्क गर्छन् ।
नेकपा रुकुमपूर्वका संयोजक कुमारी बरालले पूर्व प्रधानमन्त्री तथा पार्टी संयोजक प्रचण्ड आफ्नो जिल्लाबाट चुनाव लड्ने भएपछि उत्साह थपिएको बताइन् ।
‘उहाँ (प्रचण्ड) चुनाव लड्न आउने भएपछि जनतामा उत्साह र माहोल बढेको छ । जिल्लाबासी उत्साहित हुनुहुन्छ,’ बरालले भनिन्, ‘प्रभावशाली नेता आएपछि पिछडिएको जिल्लामा विकास हुन्छ भन्ने आशा पनि छ ।’
रुकुमपूर्व कान्छो जिल्ला पनि हो । मुलुक संघीयतामा गएपछि राज्य पुन:संरचना गर्दा साविक रुकुमलाई रुकुमपूर्व र रुकुम पश्चिम गरेर दुई भागमा विभाजन गरिएको छ । रुकुमपूर्व लुम्बिनी प्रदेशमा पर्छ भने रुकुम पश्चिम कर्णाली प्रदेशमा पर्छ ।
दाहालले २०६४ मा रोल्पा– २ र काठमाडौं–१० बाट चुनाव जितेका थिए । २०७० मा काठमाडौं– १० बाट पराजित भए भने सिराहा–५ बाट चुनाव जिते ।
२०७४ मा उनले आफ्नो गृहजिल्ला चितवन– ३ बाट चुनाव जितेका थिए । त्यसपछि २०७९ मा गोरखा– २ बाट निर्वाचित भए ।
नेकपाका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालले संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने निश्चित भएको बताए । अघिल्लो निर्वाचनमा रुकुम पूर्वबाट लुम्बिनी प्रदेशका पूर्व सभामुख तथा माओवादी नेता पूर्णबहादुर घर्तीले जितेका थिए ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा माओवादी नेतृ दिलकुमारी बुढाले प्रचण्डलाई जनप्रतिनिधि बनाउने अवसर जिल्लाले पाउँदा खुशी लागेको बताइन् । ‘प्रचण्ड आएपछि विकास होला भन्ने अपेक्षा छ । उहाँ यस क्षेत्रमा संघर्षको बेलादेखि हुनुहुन्छ । माहोल पनि राम्रो बन्दै गएको छ,’ उनले भनिन् ।
प्रचण्डसँग हालै माओवादीबाट अलग भएर जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आबद्ध भएका शहीद परिवारका छोरा सन्दीप पुनले प्रतिस्पर्धा गर्ने भएका छन् । जेनजी युवा पुन पार्टी विभाजन हुनुपूर्व अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष थिए ।
उनका बुवाआमाको २०५३ साल जेठ २५ गते जनयुद्धकै समयमा जनवादी विवाह भएको थियो । २०५४ सालमा जन्मेका सन्दीप शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्ष समेत हुन् । २०५९ जेठ १४ गते बझाङको रायलमा उनकी आमा परम्परा गौतम र २३ जेठमा बझाङमै उनका बुवा सूर्यप्रकाश पुनको हत्या तत्कालीन शाही सेनाले गरेको थियो ।
पुन: रुकुम पूर्वमा चुनाव लड्ने आफ्नो पहिलेदेखिकै तयारी भएको बताउँछन् ।
‘मेरो तयारी पहिलेदेखि नै थियो’, पुनले भने, ‘प्रचण्ड आउने कुरा पछि भएको हो । चुनाव जित्ने गरी जुटेको छु । कांग्रेस–एमालेसँग पनि सहकार्य गरेर अघि बढ्ने तयारीमा हामी छौं । मेरा बुवा मुलुक परिवर्तन गर्ने भनेर हिँड्दा शहीद बन्नुभयो । शहीदको सन्तानलाई सबैको सहानुभूति छ ।’
उनले आफू निर्वाचन क्षेत्रको हरेक वडामा पुगिसकेको जिकिर गरे ।
‘जिल्लाका हरेक वडामा पुगेको छु । स्थानीयहरूसँग छलफल गरेको छु,’ उनले थपे । माओवादी शहीदका छोरा भएकाले चुनावमा प्रचण्डलाई नैतिक रूपमा अप्ठ्यारो पर्ने पूर्वमाओवादी नेताहरू बताउँछन् ।
पूर्वी रुकुममा अहिले ३४ हजार ७७२ मतदाता छन् । यता एमालेले खेममान खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
२०७९ मा माओवादीका पूर्णबहादुर घर्ती १२ हजार २६२ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाशकुमार मल्लले ५२११ मत पाएका थिए ।
समानुपातिकतर्फ पनि माओवादी पहिलो बनेको थियो । माओवादीले ८ हजार २७१ म पाउँदा नेपाली कांग्रेसले ५ हजार ६९२ र एमालेले ३६५९ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने ४६६ मत मात्र पाएको थियो ।