
अस्ट्रेलियामा बसेर कार्यालयमा कीर्ते हाजिरी गराउँदै आएका पशु सेवा विभाग काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढेको छ ।
पशु सेवा विभागका तत्कालीन महानिर्देशक डा. रामनन्दन तिवारीले गरेको निर्णयानुसार उनलाई सेवाबाट बर्खास्त गर्ने गरी विभागीय कारबाहीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिश गरिएको हो ।
२०८२ मंसिर १९ मा उक्त कारबाहीका लागि पशुपन्छी विकास सचिव दीपक खरालसमक्ष प्रस्ताव पेश गरिएकोमा हालसम्म कुनै पनि निर्णय भइसकेको छैन ।
विभागका तत्कालीन महानिर्देशक रामनन्दन तिवारीले विभागका कर्मचारी घिमिरे २०८२ भदौ २ गतेदेखि लगातार ९० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम कारबाहीका लागि मन्त्रालयका सचिव खरालसमक्ष टिप्पणी उठाएर प्रस्ताव गरेका हुन् ।
त्यसैगरी, विभागका तत्कालीन महानिर्देशक तिवारीको समेत कृषि मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालय स्रोतका अनुसार उनको सरुवा पनि कारबाही स्वरूप नै भएको हो ।
वरिष्ठ पशु चिकित्सक घिमिरेले आफ्नो हाजिरी पुस्तिकामा विभागकै कर्मचारीबाट कीर्ते हाजिरी गर्न लगाई तलब भत्ता समेत बुझेका थिए । त्यसमा महानिर्देशक तिवारीको समेत मिलेमतो रहेको आरोप छ ।
घिमिरे २०८२ वैशाख १ गतेदेखि असार २७ गतेसम्म बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहँदा पनि उनको हाजिरी भएको पाइएको थियो । सोही उपस्थितिका आधारमा विभागकी लेखा अधिकृत चम्पा बिसीले वैशाख १ देखि असारसम्ममा मासिक ६८ हजार ५२३ रूपैयाँको दरले कुल २ लाख ५ हजार ५६९ रूपैयाँ तलब घिमिरेको खातामा पठाएकी थिइन् ।

मासिक तलब ४८ हजार ७३७ रूपैयाँ, ग्रेड ११ हजार ३७५ रूपैयाँ, सञ्चयकोष ६ हजार ११ रूपैयाँ, बिमा ४ सय रूपैयाँ , महंगी भत्ता २ हजार रूपैयाँ गरेर ६८ हजार ५२३ रूपैयाँको दरले उनको खातामा तलब पठाइएको थियो ।
उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारमा उजुरी परेको थियो । महानिर्देशक तिवारीकै मिलेमतोमा विदेशमा बसेका कर्मचारीको कीर्ते हाजिरी गराइएको उजुरीमा उल्लेख थियो ।
उजुरी परेपछि तिवारीले आन्तरिक छानबिनका लागि २०८२ पुस ११ गते विभागकी उपमहनिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईको संयोजकत्वमा वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ र शाखा अधिकृत कमल पन्थी रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
‘वरिष्ठ पशु चिकित्सक डा. नविन घिमिरे (कर्मचारी संकेत नम्बर १९४४९२) को मिति २०८२ असार १९ देखि २०८२ भदौ ०९ सम्म (२०८२ असार ३२ गतेबाहेक) यस विभागको हाजिरी रजिस्टरमा दस्तखत रहेको देखिन आएकोमा निजसँग लिखितरूपमा यस विभागबाट बुझ्दा उक्त अवधिमा आफू अष्ट्रेलियामा रहेको र हाजिरी रजिस्टरमा देखिएको दस्तखत आफ्नो नरहेको भन्ने समेत व्यहोराको जवाफ प्राप्त हुन आएको हुनाले सो सम्बन्धमा उक्त घटनाको छानबिन गरी दोषी पहिचान गर्न उक्त छानबिन समिति गठन गरिएको छ,’ तिवारीले भट्टराईलाई दिएको अख्तियारीको पत्रमा उल्लेख छ ।
दोषिउपर प्रचलित कानूनबमोजिम कारबाही सिफारिस गर्न तथा भविष्यमा यस प्रकारका घटना नदोहोरिनका लागि अपनाउनुपर्ने उपायहरूको सिफारिस कार्य प्रारम्भ गरेको १० दिनभित्र उक्त घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न समेत उक्त पत्रमा भनिएको छ ।
तिवारीमाथि समेत आरोप लागेको र उनी विभागमा महानिर्देशक रहँदा छानबिन प्रभावित हुने हुँदा उनलाई सरुवा गरिएको मन्त्रालय स्रोतले बतायो ।
छानबिन समितिले प्रारम्भिक छानबिन गर्दा घिमिरे कार्यालयमा अनुपस्थित रहेको तथा अन्य व्यक्ति कसैले उनको हाजिरी गरेको पाइएपछि कारबाही अघि बढेको हो ।

२०८२ मंसिर १६ गतेको विभागीय निर्णयानुसार अनुपस्थित भएको अवधिमा गरिएको हाजिरीलाई गयल कट्टी र तलब कट्टी गर्ने निर्णयका आधारमा मंसिर २९ गते भुक्तानी भएको उक्त तलब विभागको खातामा फिर्ता गर्न पत्राचार गरिएको थियो ।
घिमिरेले बुझेको त्यस अवधिको तलब विभागको खातामा फिर्ता गरिसकेको विभागकी उपमहानिर्देशक तथा छानबिन समिति संयोजक प्रेरणा सेढाईं भट्टराईले बताइन् ।
घिमिरेले २०८२ साउन १६ गते पेश गरेको निवेदन र उनको सञ्चित बिदाको आधारमा २०८२ वैशाख ११ देखि ६ दिन घर बिदा र १२ दिन बिरामी बिदा भने विभागले स्वीकृत गरेको थियो । उक्त स्वीकृत बिदा समाप्त भएपश्चात हालसम्म उनी विभागमा अनुपस्थित छन् ।
विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माले विभागमा पनि आन्तरिक छानबिन समिति गठन भएर छानबिन भइरहेको तथा राष्ट्रिय सतर्कता केन्द्रले समेत छानबिन गरिरहेको भनेर आफूले सुनेको बताइन् ।
यता छानबिन गरिरहेकी विभागकी उपमहानिर्देशक प्रेरणा सेढाईं भट्टराई भने छानबिन जारी नै रहेकाले अहिले नै केही भन्न नसकिने बताउँछिन् ।
विभागले घिमिरेलाई विभागीय कारबाहीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिश गरेको उनले पुष्टि गरिन् ।
‘यहाँ विभागमा घिमिरेको हाजिरीमा कुन कर्मचारीले हस्ताक्षर गरेका थिए भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन,’ उनले लोकान्तरसँग भनिन्, ‘छानबिन जारी नै छ । छानबिन सकिएपछि मात्र त्यस विषयमा केही भन्न सकिन्छ ।’
घिमिरेलाई आफूले एक महिनाअघि एक दिन मात्र देखेको उनले बताइन् ।
बिदा स्वीकृतिका लागि आएको दिन मात्र आफूले घिमिरेलाई देखेको उनको कथन छ । त्यसअघि र पछि आफूले उनलाई कहिल्यै नदेखेको उनले बताइन् । २०८२ मंसिर १४ गते घिमिरेले बिदा स्वीकृत गरी पाऊँ भनेर विभागका महानिर्देशकसमक्ष निवेदन दिएको देखिन्छ ।
‘हाल विदेशमा रहेको म ब्याक पेन लगायतका कारण नेपाल फर्कन केही समय लाग्ने भएकाले मेरो सञ्चित बिरामी बिदा १ सय दिनबाट कट्टा हुने गरी निजामती सेवा नियमावली ५८ (५) अनुसार बिरामी विदा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु । साथै, निजामती सेवा नियमावली ५७(१) र (२) अनुसार रहेको मेरो सञ्चित बिदा यकिन गरी यस अवस्थामा मेरो बिदा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु,’ घिमिरेले दिएको निवेदनमा उल्लेख छ ।

मंसिर १२ गते दिएको उनको निवेदन विभागमा १४ गते दर्ता भएको देखिन्छ । त्यसपछि मंसिर १६ गते विभागको निर्णयबाट उनको बिदा निजामती सेवा नियमावली,२०५० बमोजिम रीत पुगेको नदेखिएको, बिरामी भएको अवस्थामा चिकित्सकको प्रमाणपत्र समेत संलग्न नरहेको हुनाले माग भएबमोजिम बिरामी बिदा स्वीकृत नगर्ने निर्णय भएको भन्दै घिमिरेलाई विभागका महानिर्देशक तिवारीले पत्रमार्फत जानकारी गराएका थिए ।

स्रोतबाट लोकान्तरलाई प्राप्त लिखित जवाफमा मंसिर १६ गतेकै निर्णयबाट २०८२ वैशाख १ देखि असार २७ गतेसम्म बिदा स्वीकृत नगराई अनुपस्थित रहेको हुनाले उक्त अवधिको गयल कट्टी र तलब कट्टी गरिएको निर्णय भएको भन्दै भूलवश भुक्तानी हुन गएको उक्त अवधिको तलब समेत विभागमा फिर्ता गर्न भनी निर्देशन दिएर फिर्ता लिइएको उल्लेख गरेका छन् ।


मंसिर १६ गते नै विभागका शाखा अधिकृत कमल पन्थीले लिखित जवाफ पेश गर्न भनेर घिमिरेलाई अर्को पत्राचार गरेको देखिन्छ ।
‘यस विभागको कर्मचारी हाजिरी रजिस्टरको पाना नम्बर १६ मा २०८२ असार २९ देखि २०८२ साउन ९ गतेसम्म (२०८२ साउन ३२ गते बाहेक) हाजिर दस्तखत भएको देखिएको हुनाले सो दस्तखत तपाईंको रहेको/नरहेको ? उक्त अवधिमा तपाईं कहाँ रहनुभएको थियो ? ५ दिनभित्र सोको लिखित जवाफ पेश गर्नुहुन विभागको २०८२ मंसिर १६ को निर्णयानुसार अनुरोध छ,’ पन्थीले घिमिरेलाई पठाएको पत्रमा उल्लेख छ ।

२०८२ साउन ११ गतेदेखि भदौ १ गते सम्मको बिदा स्वीकृतिका लागि माग गर्दा उनको सञ्चित घर बिदा र बिरामी बिदासहित १८ दिन मात्र नियमानुसार स्वीकृत गरिएको भनेर तिवारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जवाफ पेश गरेका छन् ।
'२०८२ असर २९ गतेदेखि २०८२ साउन ९ गतेसम्म (२०८२ असार ३२ गतेबाहेक) उल्लिखित अवधिमा हाजिरी रजिस्टरमा उपस्थिति देखिएको, तर निज उक्त अवधिमा अनुपस्थित भएको सम्बन्धमा निजसँग मौखिक सोधपुछ गर्दा महानिर्देशक समक्ष आफैंले हाजिर गरेको जानकारी दिएको तर विभागबाट लिखित जवाफका क्रममा आफूले दस्तखत नगरेको व्यहोरा उल्लेख गरेकाले यस विषयमा छानबिन गरी दोषी पहिचान गर्न र दोषीलाई कारबाहीको सिफारिश गर्न छानबिन समिति गठन गरिएको' तिवारीले अख्तियारलाई पठाएको लिखित जवाफमा भनेका छन् ।
२०८२ पुस १७ गते तिवारीले आयोगलाई दिएको जवाफमा 'आफू समेतको मिलेमतोमा कीर्ते हाजिरी गरेको भन्ने आरोप कपोलकल्पित, भ्रामक एवं झूटो रहेको तथा आरोपमा कुनै सत्यता नरहेको र जिकिर गरेका छन् । उक्त कीर्ते हाजिरीमा विभाग भित्रको कुनै कर्मचारीको संलग्नता हुनसक्ने आशंकाले छानबिन कार्यदल गठन गरी छानबिन कार्य भइरहेको' जवाफ उनले दिएका छन् ।
यस विषयमा तिवारीसँग प्रतिक्रिया लिन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट समेत अनुसन्धान भइरहेको भन्दै थप बोल्न मानेनन् ।


२०८२ असोज २७ मा प्राप्त इमेललाई आधार मानी २०८२ साउन ११ देखि साउन १६ सम्म (६ दिन) घर बिदा र बिरामी बिदा १२ दिन (२०८२ साउन १८ देखि भाद्र १ गतेसम्म २०८२ कात्तिक ९ गते महानिर्देशक तिवारीले स्वीकृत गरेको विभाग स्रोतले बतायो ।
पशु सेवा विभागमा २०८२ साउन महिनामा ई-हाजिरी मशिन जडान भएता पनि घिमिरे लगातार अनुपस्थित रहेको कारणले उक्त प्रणालीमा उनको नाम प्रविष्ट भएको छैन ।
उनको हाजिरी विवरण रजिस्टरमा मात्र छ । उनी २०८१ को (मंसिर २ देखि ६ गते सम्म) र २०८१ चैत १० देखि चैत ३१ सम्म कार्यालयमा हाजिर भएको देखिएको छ । ती दिनबाहेक उनले वर्षभर घर बिदा र बिरामी बिदा लिएको देखिन्छ ।
त्यसैगरी, २०८२ सालमा ६ दिन घर बिदा र १०६ दिन बिरामी बिदा सञ्चित रहेकोमा वैशाख २ गतेदेखि असार २७ गतेसम्म कुनै पनि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित थिए ।
कार्यालयमा अनुपस्थित हुँदाहुँदै पनि २०८२ असार २९ गतेदेखि साउन ९ गतेसम्म लगातार हाजिर भएको कार्यालय रेकर्डमा देखिन्छ ।
त्यसपछि २०८२ साउन ११ देखि साउन १६ सम्म ६ दिन घर बिदा र १२ दिन बिरामी बिदा, २०८२ साउन १८ देखि भदौ १ गतेसम्म) कार्यालयबाट स्वीकृत गराएको देखिएको भए पनि २०८२ भदौ २ गतेदेखि हालसम्म उनी कार्यालयमा उपस्थित हुन सकेका छैनन् ।
विभाग स्रोतका अनुसार घिमिरे २०८१ चैत २८ गते बिहान अस्ट्रेलिया प्रस्थान गरी २०८२ मंसिर १७ गते नेपाल फर्किएका छन् ।