०९ साउन २०८३, शनिबार

शेखरको भेलामा प्रश्न– हामीलाई टिकट कसले दिने, गगन कि तपाईंले ?

जवाफमा शेखरले भने- 'मध्यमार्गीहरू सधैँ दुई अतिवादको चेपुवामा पर्ने रहेछन्'
माघ ४, २०८२
काठमाडौं
शेखरको भेलामा प्रश्न– हामीलाई टिकट कसले दिने, गगन कि तपाईंले ?

विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन भएपछि अन्योलमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला आइतबार बस्यो । बत्तिसपुतलीस्थित अनुपमा फूडल्यान्डमा तीन घण्टाभन्दा बढी भएको भेलामा पार्टीलाई कसरी अघि बढाउने मात्र होइन, आफ्नो समूहको अस्तित्व जोगाउँदै कसरी अघि बढ्ने ? भन्ने विषयमा समेत सहभागीहरूले धारणा राखे ।

सहभागीहरूले आसन्न निर्वाचन कसरी फेस गर्ने ? पार्टीको १५ औँ महाधिवेशनको तयारी कसरी गर्ने ? समूहलाई कसरी सक्रिय रूपमा अघि बढाउने ? लगायतका विषयमा केन्द्रित रहेर पालैपालो धारणा राखेका थिए । दिउँसो साढे १ बाट शुरू भएको भेलाको शुरूआतमै बोल्दै कोइरालाले आगामी रणनीतिबारे सुझाव दिन आग्रह गरेका थिए ।

त्यसपश्चात् पहिलो वक्ताको रूपमा बोल्दै कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले आफूले आइतबार बिहान निकालेको वक्तव्यले 'भ्रमित कुरा प्रचार भएको' भन्दै क्षमा मागे ।

वर्तमान सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै समर्थन गर्ने आशयको विज्ञप्ति उनका तर्फबाट आएको थियो ।

null

निर्वाचन लड्ने-नलड्ने दोधार

छलफलमा एकपछि अर्को धारणा राखेका नेताहरूले २१ फागुनमा हुने निर्वाचन लड्ने कि नलड्ने ? भन्दै शेखरलाई प्रश्न गरे ।

नुवाकोट जिल्ला सभापति रमेश महतले कांग्रेस विवादमा रहेको र २ दिनपश्चात उम्मेदवारी दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्था आएकाले कसरी अघि बढ्ने भन्नेबारे स्पष्ट धारणा दिन आग्रह गरे ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सांसद रामप्रसाद चित्रकारले विवादको मुखमा निर्वाचनमा होमिएर कसरी परिणाम दिन सकिन्छ ? भन्दै प्रश्न तेर्स्‍याए ।

छलफलमा बोल्ने नेताहरूले निर्वाचनको विषयमा फरक-फरक मत राखे । रामेछापका पूर्व जिल्ला सभापति लवश्री न्यौपानेले कांग्रेसलाई फुटबाट जोगाउँदै चुनावमा भाग लिनुपर्ने धारणा राखे ।

पार्टी केन्द्रीय सदस्य मदनबहादुर अमात्यले पार्टीभित्रै बसेर लडाइँ लडे मात्र पार्टी राजनीतिमा सफल हुन सकिने मत राखे । ‘बगिरहेको खोलासँगै हामी बहन नसके खोलाले हामीलाई फ्याँक्छ,’ उनको मत थियो, ‘वार्ता र संवाद गरौं । सबै एक ठाउँमा उभिएर अघि बढौं ।’

रुकुम पूर्वका नेता रामबहादुर विष्टले चुनावको टिकटबारे प्रश्न गरे । ‘टिकट कसले दिने, तपाईं (शेखर) कि गगन थापाले ?’ उनको प्रश्न थियो, ‘हाम्रो समूहबाट कति जनाले टिकट पाउँछन् ? हामीले चुनाव लड्नैपर्छ ।’

'चुनाव नलडे महाधिवेशन लड्न सकिन्न'

छलफलमा धारणा राख्ने नेताहरूले चुनाव नलडे १५ औँ महाधिवेशन कसरी लड्न सकिन्छ? भन्ने गम्भीर प्रश्न पनि तेर्स्याए । उनीहरूले समूहलाई एक ढिक्का राख्न पनि चुनावमा बढीभन्दा बढी टिकट लिएर जानुपर्ने र जनता एवं कार्यकर्तामाझ पुग्नुपर्ने स्पष्ट अडान राखे ।

मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले देशभरका नेता/कार्यकर्तालाई समूहको लाइनबारे क्लियर म्यासेज दिनुपर्ने बताए । उनले दुवैतिर मिलाउने गरी लाग्ने मध्यमार्गी धारणा नभई स्पष्ट एक कित्ता लिएर अघि बढ्नुपर्ने बताए ।

‘तपाईंले खुट्टा नकमाउनुहोस् । लत्रिएर जाने होइन, हामी तपाईंको साथमा छौं,’ छलफलमा लिम्बूले भने, ‘हामीलाई स्पष्ट अडान चाहियो । हाम्रो राजनीतिक भविष्यसँग जोडिएको छ ।’

यस्तै, नेता तेजुलाल चौधरीले राजनीति गर्नुको उद्देश्य नै सांसद बन्दै सरकारमा जानु भएकाले पनि आगामी निर्वाचन लड्नै पर्ने धारणा राखे ।

‘टिकट लिएर निर्वाचनमा नजाने हो भने साथीहरूले टीम छाड्छन्,’ चौधरीले भने, ‘बढीभन्दा बढी साथीहरूले जितेर आउनुभयो भने १५ औं महाधिवेशन लड्न सहज हुन्छ ।’

'१५ औं महाधिवेशन जित्नेगरी लागौं'

त्यसो त छलफलका क्रममा बोल्ने लगभग सबै नेताहरूले १५ औँ महाधिवेशनको तयारी अहिलेदेखिनै थाल्नुपर्ने धारणा राखे । कुनै समय शेरबहादुर देउवा र कृष्ण सिटौलानिकट मानिने केन्द्रीय सदस्य शिव हुँमागाईंले सत्य र पार्टी हितमा काम गर्नेभन्दा पनि सामाजिक सञ्जाल र मिडियामा हल्ला गर्नेहरूको कब्जामा पार्टी र देश नै परेको गुनासो गरे ।

कोशी प्रदेश सभापति उद्धव थापाले पनि एकताको बाटो पहिल्याउने र पार्टीलाई जोगाउने भूमिका खेलिदिन आग्रह गरे । बाजुरा जिल्ला सभापति रामसिंह रावलले आगामी महाधिवेशनबाट शेखर कोइरालाको नेतृत्व स्थापित गर्ने भए अहिलेबाटै क्रियाशील सदस्यतामा काम गर्नुपर्ने धारणा राखे ।

नेतृ बिजुला बर्माले सातै प्रदेश र सबै जिल्लामा सचिवालय नै खडा गरेर महाधिवेशनको तयारीमा लाग्नुपर्ने धारणा राखिन् । उनले चुस्तदुरुस्त सचिवालय बनाएर अगाडि बढ्न सकेमात्र सफलता हात लाग्ने बताइन् ।

नुवाकोट जिल्ला सभापति महत, धादिङ जिल्ला सभापति अधिकारी मात्र होइन, कार्यक्रमको शुरूदेखि अन्त्यसम्म बोल्ने सबै नेताहरूले १५ औं महाधिवेशनमा शेखरकै नेतृत्वमा अधिवेशन लडेर नेतृत्व स्थापित गर्नुपर्ने धारणा राखे ।

null

जवाफ दिँदै शेखरले भनेः'मध्यमार्गीहरू सधैं दुई अतिवादी धारमा पर्ने रहेछन्'

४ बजेर ३५ मिनेट जाँदा नेता कोइरालाको सम्बोधन शुरू भयो । उनले आफू स्वयं मध्यमार्गी विचारबाट अघि बढिरहेको व्यक्ति भएको बताए ।

‘नेपाली कांग्रेस पनि मध्यमार्गी पार्टी हो । तर, विडम्बना के छ भने मध्यमार्गीहरू सधैं दुई अतिवादी धारको चेपमा पर्ने रहेछन्,’ उनले भने, ‘सत्यको बाटो सधैं अप्ठ्यारो र कठिन हुन्छ, तर अन्ततः विजय सत्यकै हुन्छ भन्ने कुरामा हामी सबै स्पष्ट हुन जरुरी छ ।’

उनले नेपाल र नेपाली कांग्रेस दुवै अनेक कोणबाट प्रहारको सामना गरिरहेको भन्दै अत्यन्त शालीनता र संयमका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

शेखरले जातीय र धार्मिक द्वन्द्वको खतरा पनि देशमा देखिन थालेको बताए ।

‘आज नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा असफल राष्ट्रको रूपमा चित्रण गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

सम्बोधनको अन्त्यमा उनले चुनावमा सहभागिताको विषयमा पनि जवाफ दिए । निर्वाचनका सन्दर्भमा कसैले बहिष्कार गर्नुपर्ने, कसैले सहभागिता जनाउनुपर्ने र कसैले तटस्थ बस्नुपर्ने धारणा राखेको भन्दै जवाफ दिए ।

पार्टीले उम्मेदवार चयन गर्ने प्रक्रियाभन्दा पहिले निर्वाचन आयोगले गरेको निर्णय र ६ गतेको मनोनयन प्रक्रियाले नेपाली कांग्रेसभित्र ठूलो हलचल ल्याएको उनले बताए ।

निर्वाचन आयोगको निर्णयलाई अदालतमा चुनौती दिएको भन्दै उनले अदालतले जे निर्णय गर्छ, त्यो स्वीकार्य हुने धारणा राखे ।

‘तपाईंहरूलाई शेखरले के गर्छ भन्ने जिज्ञासा पनि अवश्य होला । मुलुकको संवैधानिक संकट र पार्टीभित्रको असहज परिस्थितिमा आफू कहाँ उभिने भन्ने विषयमा म परामर्शकै क्रममा छु । तर, पार्टीका उम्मेदवारहरूको विजयका लागि अग्रपंक्तिमा रहेर सहयोग गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु,’ उनले अन्त्यमा भने ।

salt training

कमेन्ट गर्नुहोस्