
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर नेपालका राजनीतिक पार्टीबीच तीव्र ध्रुवीकरण भइरहेको छ । विगतका निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चर्चा/परिचर्चा हुन्थ्यो । तर, भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजनीतिक माहोल फेरिएको छ ।
बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि चुनावी बहस थप तातेको छ ।
स्थापित राजनीतिक दलहरूको लामो विरासत र बलियो पार्टी संगठनलाई स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेनसहितको रास्वपाले कडा टक्टर दिने देखिन्छ ।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेपछि लुम्बिनीको राजनीतिमा पर्न सक्ने प्रभावलाई नयाँ/पुराना शक्तिले गम्भीरताका साथ हेरेका छन् ।
स्वतन्त्रबाट काठमाडौंमा ठूला दलको जग भत्काएका बालेनको चर्चा यस क्षेत्रमा पनि धेरै छ । बालेन रास्वपामा जोडिएर भावी प्रधानमन्त्रीको उम्मेवदारका रूपमा अगाडि बढेको विषयले माहोल तताउन भूमिका खेलेको छ ।
वि.सं. २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै हुन लागेपछि लुम्बिनीमा पुराना दलहरूले आफ्नो ‘गढ’ जोगाउन निकै जोडबल लगाइरहेका छन् ।
तीन वर्षअघि वि.सं. २०७९ को चुनावमा रास्वपाले लुम्बिनीबाट प्रत्यक्ष चुनाव नजिते पनि धेरै ठाउँमा राम्रो मतका साथ निकटतम् प्रतिस्पर्धी र समानुपातिकमा पनि उल्लेख्य मत पाएको थियो ।
रविले चितवनबाट दुईपटक चुनाव जितिसकेका छन् । त्यसको प्रभाव बुटवल, दाङ, नेपालगञ्जलगायत पश्चिम क्षेत्रका ठूला शहरहरूमा पनि परेको छ ।
युवा विश्लेषक देवराज पोखरेल रास्वपाले आउँदो निर्वाचनमा लुम्बिनीबाट राम्रो सिट र मत ल्याउने देख्छन् । ‘रास्वपाले तराई मूलको पहिलो प्रधानमन्त्री भनेर बालेनलाई तराई झार्ने देखिन्छ,’ उनले भने, ‘शहरी क्षेत्रमा बालेनको क्रेज यसै पनि राम्रो छ । त्यसमाथि उनको लोकप्रियता र रास्वपाको प्रभावले रुपन्देही, दाङ, नवलपरासी र बाँकेमा पनि प्रत्यक्ष चुनावमा राम्रो मत ल्याउने देखिन्छ ।’
उनले लुम्बिनी प्रदेशबाट रास्वपाले प्रत्यक्षमा ५/७ सीट र समानुपातिकमा राम्रो मत ल्याउने सम्भावना आफूले देखेको बताए । शहरी क्षेत्रको जनघनत्वका कारण चुनावका बेला सबै राजनीतिक दलको प्राथमिकतामा लुम्बिनी पर्ने गरेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये लुम्बिनीमा २६ वटा क्षेत्र पर्छन् ।
तराई, पहाड र हिमाली क्षेत्रको मिश्रित बसोबास रहेको लुम्बिनीमा तराई मूल र शहरी क्षेत्रका मतदाताको बलियो उपस्थिति छ । अन्य प्रदेशको तुलनामा लुम्बिनीबाट समानुपातिकतर्फ बढी सांसद निर्वाचित हुन्छन् ।
१ लाख ३७ हजार नयाँ मतदाता थपिँदा लुम्बिनीमा कूल ३३ लाख ८६ हजार ६८० मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
रास्वपाले गत निर्वाचनमा लुम्बिनी प्रदेशबाट २ लाख २० हजार १३९ मत प्राप्त गरेको थियो, जसमध्ये सबैभन्दा धेरै रुपन्देहीबाट ६६ हजार १६९, दाङबाट ३९ हजार ८५३, गुल्मीबाट १२ हजार ३७९, पाल्पाबाट १२ हजार ६६२, अर्घाखाँचीबाट ८ हजार ९५१, कपिलवस्तुबाट १५ हजार ४१८, रुकुमपूर्वबाट ४६६, रोल्पाबाट १ हजार ९०४, प्यूठानबाट ५ हजार ८५१, बाँकेबाट १९ हजार ५६८, बर्दियाबाट १५ हजार ५२३ र पश्चिम नवलपरासीबाट २१ हजार ३९५ मत प्राप्त गरेको थियो ।
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये १५ वटा तराईका जिल्लामा पर्छन् । अघिल्लो उपचुनावमा चितवन र तनहुँमा जितेको रास्वपाले बारामा सन्तोषजनक मत पनि ल्याउन नसकेको राम्रोसँग बुझेको छ । अहिले रविको राजनीतिक सक्रियता बढेको छ ।
रास्वपामा जोडिएर १२ दिनमै छुट्टिएका कुलमान घिसिङ आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी (उनेपा) गठन गरेर सक्रिय भएका छन् । यसले लुम्बिनीमा रास्वपालाई धेरथोर क्षति पुग्ने देखिन्छ ।
वैकल्पिक शक्ति स्थापित गर्दै जेनजी विद्रोहसँग पार्टीलाई जोडेर अगाडि बढेका रवि–बालेन पार्टीलाई निर्णायक शक्ति बनाउने प्रयासमा छन् । लुम्बिनीका अर्का विश्लेषक विक्रम गौतम रास्वपाले विगतमा भन्दा सुधार गर्ने देखिए पनि अहिले नै चित्र प्रस्ट भइनसकेको बताउँछन् ।
‘लोकप्रिय ‘फिगर’ बालेनलाई प्रधानमन्त्री बनाउने भनेर अघि बढेपछि रास्वपाले विगतमा भन्दा लुम्बिनीमा सुधार गर्ला, तर तराई क्षेत्रमा जीत हासिल गर्ने गरी अझै उनीहरूको पक्षमा माहोल बनिसकेको छैन । बालेन र रवि चुनावी अभियानमा हिँडेपछि बल्ल चित्र प्रस्ट देखिएला,’ उनले भने ।
पुराना दलले आफूलाई समयमा रिफर्म गर्न नसक्दा त्यसको फाइदा रास्वपालाई भएको उनको विश्लेषण छ ।
रवि लामिछाने र बालेन शाहको चुनावी अभियान यसपटक फरक ढंगबाट अघि बढ्ने संकेत देखिएको छ । कम बोल्ने तर काम देखाउने शैली, डिजिटल र युवामुखी अभियान, शहरी क्षेत्र र परिवर्तन चाहने मतदातालाई लक्षित रणनीति तथा ठूला सभाभन्दा सिधा सन्देशमा जोड दिने उनीहरूको रणनीति देखिन्छ । 'हामी फरक छौं' भन्ने स्पष्ट सन्देशसहित अभियान अघि बढाइने रास्वपा नेताहरूको भनाइ छ ।
रास्वपा रुपन्देहीका युवा नेता मधु अर्यालका अनुसार पार्टीले लुम्बिनी प्रदेशबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ठूलो मत र जितको लक्ष्य लिएको छ । 'शहरी क्षेत्रसँगै दक्षिणका क्षेत्रमा रवि र बालेन चुनावी अभियान लिएर आएपछि त्यसको प्रभाव ठूलो देखिनेछ,' अर्याल भन्छन् ।
उनका अनुसार, 'अबको निकास रवि र बालेनले दिन्छन्' भन्ने नागरिकस्तरमा बनेको छापलाई मतमा रूपान्तरण गर्ने गरी चुनावी अभियानका लागि टीम खटाइँदै छ ।
अर्यालका अनुसार माघ ६ गतेपछि रवि र बालेन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा चुनावी अभियानमा देखिनेछन् । बालेन अहिले एउटा नेता र मेयर मात्र नभई नेपाली युवा पुस्तामाझ ‘लोकप्रिय पात्र’ का रूपमा स्थापित भइसकेका छन् । काठमाडौं महानगरपालिकामा उनले देखाएको कार्यशैली र स्वतन्त्र छविका कारण देशभरका युवा मतदातामा ठूलो आकर्षण पैदा गर्न सक्ने देखिन्छ । उनी इन्जिनियर, साहसी र स्पष्ट वक्ताका रूपमा परिचित छन् ।
यसैबीच, लुम्बिनी प्रदेशका रास्वपा नेता तथा बालेन समर्थकहरूले ‘अबकी बार बालेन सरकार’ भन्ने एआईबाट बनाइएका तस्वीरहरू सामाजिक सञ्जाल फेसबूकमा सार्वजनिक गर्न थालेका छन् ।