
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा आयरल्यान्डले अमेरिकालाई १६ रनले हराएको छ ।
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो ।
आयरल्यान्डको जितपछि समूह ‘ए’ को समीकरण पनि रोचक मोडमा पुगेको छ । दुई खेल खेलेको आयरल्यान्ड चार अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
दुई खेलबाट चार अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक हात पारेको अमेरिका तेस्रो स्थानमा छ ।
एक खेल खेलेको नामिबिया चौथो र दुई खेल खेलेको पपुवा न्यू गिनी (पीएनजी) पाँचौं स्थानमा छन् । यी दुबै टोलीले हालसम्म अंक बटुल्न सकेका छैनन् ।
अमेरिकाविरुद्धको खेलमा आयरल्यान्डका लागि लेह पलले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । उनले ५२ बलमा आठ चौकाको मद्दतले ६७ रन बनाइन् ।
कप्तानसमेत रहेकी ओपनर गेबी लुइसले पनि टोलीका लागि ४२ रनको योगदान गरिन् । उनले केवल ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काइन् ।
अमेरिकाकी बलर तारा नोरिसले तीन विकेट लिइन् । जवाफी ब्याटिङ गरेको अमेरिकाका लागि रितु सिंहले ४१ रन बनाइन् । उनले ३० बलमा दुई छक्का र चार चौका प्रहार गरिन् ।
ओपनर चेतना पग्द्यलाले २२ रन जोडिन् । अमेरिकाका अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । आयरल्यान्डकी बलर अर्लिन केलीले चार विकेट लिइन् ।