०८ साउन २०८३, शुक्रबार

एपीएफ क्लबसँग स्तब्ध बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड

माघ ८, २०८२
काठमाडौं
एपीएफ क्लबसँग स्तब्ध बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड

एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको छ ।

एपीएफको जितमा युवराज खड्काले दुई गोलको योगदान गरे । विभागीय टोली एपीएफ क्लबले पहिलो हाफमै २–० गोलको अग्रता लिएको थियो ।

निर्धारित समयको २२ औं मिनेटमा एपीएफ क्लबका लागि समिराज थोकरले पहिलो गोल गरे । ३८ औं मिनेटमा प्रदीप लामाले टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समयको ६० औं मिनेटमा युवराज खड्काले टोलीका लागि तेस्रो गोल गरे । ७७ औं मिनेटमा उनले नै व्यक्तिगत रूपमा दोस्रो गोल गरे ।

पराजित टोली चर्च ब्वाइज युनाइटेडका लागि एकमात्र गोल मिलन राईले निर्धारित समयको ८२ औं मिनेटमा गरेका थिए ।

चर्च ब्वाइज युनाइटेड क्लब पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन बनेको थियो । सोही आधारमा चर्च ब्वाइज युनाइटेड जारी राष्ट्रिय लिगमा सहभागी भएको हो ।

एपीएफ क्लब भने पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुरूमा रेलिगेसनमा परेको थियो । तर, थ्रीस्टार क्लबले नियम विपरीतका खेलाडी खेलाएर जावलाखेललाई पराजित गरेको खेलको नतिजा उल्टिएपछि एपीएफ ‘ए’ डिभिजनमै रहन सफल भएको थियो ।

एन्फाले ११ वर्षपछि राष्ट्रिय लिग आयोजना गरेको हो । पहिलो संस्करण २०६८ सालमा आयोजना भएको थियो । पहिलो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

यसैगरी, दोस्रो संस्करण २०७१ सालमा आयोजना भएको थियो । दोस्रो संस्करणमा थ्रीस्टार क्लब च्याम्पियन बनेको थियो ।

तेस्रो संस्करणको विजेताले ५० लाख रूपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीलाई २५ लाख रूपैयाँ पुरस्कार प्रदान गरिने छ । तेस्रो हुने टोलीले १५ लाख रूपैयाँ नगद पुरस्कार हात पार्नेछ ।

फेयर प्ले पुरस्कार पाउने टोलीलाई पनि एक लाख रूपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रूपैयाँ प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले पनि एक लाख रूपैयाँ पाउनेछ ।

यसैगरी, सर्वोत्कृष्ट गोलरक्षकलाई एक लाख र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई पाँच हजार रूपैयाँ प्रदान गरिने छ ।

प्रत्येक खेलको विजेता टोलीलाई अतिरिक्त २० हजार रूपैयाँ र प्रत्येक खेलको पराजित टोलीलाई १० हजार रूपैयाँ प्रदान गरिने छ । खेल बराबरीमा सकिए दुबै टोलीले १५–१५ हजार रूपैयाँ पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्