०२ साउन २०८३, शनिबार
झापा–५ मा ‘हेभीवेट’ भिडन्त

वडा-वडामा ओली, जेनजी र विदेशका नेपालीमा बालेनको नजर

माघ १०, २०८२
विराटनगर
वडा-वडामा ओली, जेनजी र विदेशका नेपालीमा बालेनको नजर

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनावी प्रतिस्पर्धामा उत्रिएको झापा–५ अहिले चर्चाको केन्द्रमा छ। दुवै दलले भावी प्रधानमन्त्रीका उम्मेदवारसमेत घोषणा गरेका ओली र बालेनको उम्मेदवारीका कारण झापाले देशभरकै ध्यान तानेको हो। झापाको चुनावी प्रतिस्पर्धा दुई उम्मेदवारबीचको लडाइँ मात्र नभई, दुई पक्षको प्रतिष्ठाको लडाइँसमेत बनेको छ।

ओली र बालेन दुवै फरक–फरक रणनीतिसहित चुनावी मैदानमा उत्रिएका छन्। एमाले अध्यक्ष ओली यसपटक विगतको तुलनामा निर्वाचन क्षेत्रमा बढी समय खर्चिने मुडमा छन्। विगतका चुनावमा मनोनयन दर्ता गरेर देशव्यापी दौडाहमा निस्कने ओली यसपटक भने आफ्नै क्षेत्रका असन्तुष्ट कार्यकर्ता फकाउन केन्द्रित हुने तयारीमा लागेका हुन् । 

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओलीले यसपटक क्षेत्रका सबै २९ वटै वडामा पुगेर कार्यकर्ता भेटघाट गर्ने तालिका छ। कतिपय स्थानीय नेता र कार्यकर्तामा पार्टीप्रति असन्तुष्टि देखिएकाले उनीहरूको घरदैलोमै पुगेर फकाउने ओलीको रणनीति छ।

यसपटक राप्रपासँग औपचारिक गठबन्धन नभए पनि उनीहरूको समेत मत तान्ने ओलीको दाउ छ। मनोनयन दर्ताअघि ओलीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त दमकका मेयर राम थापाको घर, दमक नगरपालिका र अन्य संरचनाहरूको अवलोकन गरेर स्थानीयको सेन्टिमेन्ट बुझ्ने प्रयास गरेका थिए। दमकका मेयर थापा राप्रपा कोशी प्रदेशका अध्यक्ष हुन्।

नेपाली कांग्रेसले तुलनात्मक रूपमा कमजोर उम्मेदवार उठाएको विश्लेषणसहित ओली र बालेन दुवैको नजर कांग्रेसको परम्परागत मतमा समेत छ।

रास्वपाका वरिष्ठ नेता शाह भने मनोनयन दर्तापछि पूर्वी नेपालको धार्मिक तथा राजनीतिक भ्रमणमा छन्। ७ गते दमकमा कार्यकर्तासँग भेटघाट गरेपछि उनी ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गर्न पुगेका छन्। उनले म्याङ्लुङ देवीको दर्शन पनि गरेका छन्।

null

बालेनको चुनावी कमान्ड सशस्त्र प्रहरीका पूर्वएसपी भरतबहादुर कार्कीले सम्हालिरहेका छन्। स्थानीय स्तरमा कार्कीको टोलीले समन्वय गरिरहेको छ। यसका अलावा बालेनले काठमाडौंबाट एउटा छुट्टै टिम पनि ल्याएका छन्। बालेनको रणनीति मुख्यतया युवा पुस्तालाई परिचालन गर्ने र उनीहरूका माध्यमबाट घरका ज्येष्ठ सदस्यहरूको मत तान्ने रहेको छ।

विशेष गरी विदेशमा रहेका छोराछोरीमार्फत् घरका अभिभावकलाई ‘घन्टी’ मा भोट हाल्न लगाउने डिजिटल रणनीति बालेनको टोलीले अख्तियार गरेको छ। बालेन समूहले यो क्षेत्रमा ओलीसँगभन्दा पनि अन्य नेताका कारण रुष्ट भएका धेरै मतदाता छन् भन्ने निष्कर्ष निकालेर उनीहरूलाई मनाउने प्रयास गरिरहेको छ।

विशेष गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा नेता देवेन्द्र दाहाल, दीपक कार्की, रोमनाथ ओली र होम थापालगायत स्थानीय नेताहरूसँग असन्तुष्ट मतदातालाई भेटेर फकाउने रणनीतिमा बालेन छन्। उनीहरूमाथि पदमा बसेर ओलीको अघिपछि हिँड्ने र आफू ओलीसँग नजिक हुन अरूलाई रोकेको आरोप स्थानीय नेता–कार्यकर्ताको छ।

ओलीसँगभन्दा पनि उनको अघिपछि लागेर पद हत्याउनेका कारण असन्तुष्टि बढेको दमकका स्थानीय लोकनाथ पोख्रेलले बताए। ‘यहाँ ओलीले धेरै काम गर्नुभएको छ,’ पोख्रेलले भने, ‘तर उहाँका अनुयायीहरूले उहाँको नाम बेचेर धेरैलाई रुष्ट बनाएका छन्।’ दमकका अर्का स्थानीय नगेन्द्र न्यौपानेले पनि ओलीले पहिलेभन्दा यसपटक चुनावमा धेरै मिहिनेत गर्नुपर्ने देखिएको बताए।

बालेनको टोलीले एमालेका तल्लो तहका असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा तान्ने योजना बनाएको छ। एमालेका प्रभावशाली नेताहरूको कार्यशैलीप्रति असन्तुष्ट रहेकाहरूलाई विकल्पका रूपमा बालेनले आफूलाई प्रस्तुत गरेका छन्।

null

ओली र बालेन दुवैले झापा–५ मा रहेका २९ वटै वडामा पुग्ने तयारी गरेका छन्। एमालेले आफ्नो संगठन र पुरानो विरासत जोगाउने कसरत गरिरहँदा बालेनले भने नयाँ पुस्ता र परिवर्तनकारी लहरको नेतृत्व गर्दै ओलीलाई चुनौती दिएका छन्।

बालेनलाई ७७ वटै जिल्लामा पुर्‍याउने रास्वपाको रणनीति रहे पनि झापा–५ मा उनको उपस्थिति र क्रेजले एमालेलाई रक्षात्मक बन्न बाध्य बनाएको छ। कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा बालेनलाई पुर्‍याउने तयारी रहेको मोरङ क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य गणेश कार्कीले बताए।

एमाले अध्यक्ष ओली केही दिन मतदाता भेटेर काठमाडौं फर्किए पनि उनी चाँडै पुनः झापा आएर वडा–वडाको अभियानमा जोडिने नेताहरू बताउँछन्।

null

बालेन पनि पाथीभराको दर्शनपछि थप ऊर्जाका साथ झापाकै चुनावी मैदानमा केन्द्रित हुने रास्वपा नेताहरूको भनाइ छ। झापा–५ मा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई गरी कुल एक लाख ६३ हजार ३७९ मतदाता छन्।

salt training

कमेन्ट गर्नुहोस्