
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरू हुनेछ ।
तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध खेल्दा नेपाल जित्नैपर्ने दबाबमा हुनेछ । आईसीसी महिला टी-२०आई वरीयतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा छ ।
सुपर सिक्समा प्रवेश गर्न नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था छ ।
नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो ।
स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण यूएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो ।
नेपालले हालसम्म स्कटल्यान्डसँग टी-२०आई खेलेको छैन । प्रतियोगिताअघि नेपालले अभ्यास खेल भने खेलेको थियो जहाँ २७ रनले पराजित भएको थियो ।
समूह ‘बी’ मा तीन खेलबाट ६ अंक बटुलेर पहिलो स्थानमा रहेको नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पनि पुगिसकेको छ । तीन खेलबाट चार अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट चार अंक नै बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा आसीन छ । तीन खेल खेलेको नेपाल दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । चारवटै खेलमा पराजित भएको जिम्बाब्वे भने अंकविहीन छ ।
जारी ग्लोबल छनोट प्रतियोगिताको दुवै समूहबाट तीन–तीनवटा टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ । यो प्रतियोगिताबाट चारवटा टोली आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् ।