
कारागारलाई सुधार गृह बनाउने सरकारी योजना कागजमै सीमित रहेको तथ्यलाई थप एउटा घटनाले उजागर गरेको छ ।
४ वर्ष ६ महिनादेखि नख्खु कारागारमा रहेका काठमाडौं महानगरपालिका– २७ महाबौद्धका अभय तुलाधर र पाँच महिनादेखि पुर्पक्षमा जगन्नाथदेवल कारागारमा रहेका रोहित शाहीले जेनजी आन्दोलनको मौका छोपी कारागारबाट भागेपछि गरेको अपराधले त्यस्तो तथ्य उजागर गरेको हो ।
भागेपछि गरेको अपराधका कारण उनीहरूमाथि फेरि मुद्दा चलेको छ ।
यस्तो छ घटना
गएको भदौ २४ मा नख्खु कारागारबाट भागेर तुलाधरले थानकोटस्थित आमाबुवा बस्ने घरमा एक दिन बिताए । २६ गते नरदेवीस्थित साथी रोहित शाहीकोमा पुगे ।
शाही पनि चोरी तथा ज्यान मार्ने उद्योगमा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा पुर्पक्षका लागि चलान भएका अभियुक्त हुन् । शाही समेत जेनजी आन्दोलनको मौका छोपेर भागेका थिए ।
तुलाधरले बयान दिएअनुसार, शाहीसँग भेटेपछि चोरीको योजना बन्यो ।
बयानमा तुलाधरले भनेका छन्, ‘हामी यसै अपराधी, उसै अपराधी, एक न एक दिन फेरि थुनामा जानैपर्छ, यो अवधिमा चोरी गरेर धनमाल थुपार्नुपर्छ भन्ने कुरा भयो ।’
योजना अनुसार उनीहरूले काठमाडौं, ललितपुर र भक्तपुरबाट चार महिना (असोजदेखि पुस) को बीचमा तीनवटा डुक बाइक, ४२ वटा एफ जेड बाइक, दुईवटा एप्रेला बाइक, एउटा पल्सर बाइक र एउटा डिओ स्कुटर चोरी गरे ।
चोरी गरेका बाइक बेचेर उनीहरूले जम्मा चार लाख आम्दानी गरेका थिए । तर, आम्दानी गरेको रकम होटलमा बसेर भ्यए । उनीहरूले बाइकहरू निकै कम मूल्यमा बेचेको देखिएको छ ।
यसबीचमा उनीहरूले बसुन्धरामा पार्किङ गरेर राखेको लु ५८ प ३९७५ नम्बरको मोटरसाइकल चोरी गरे । गत पुस १६ गते तुलाधर र शाही चोरीकै मोटरसाइकलमा यात्रा गर्दैगर्दा काठमाडौं क्षेत्रपाटीमा एउटा गाडीमा बोराको पोको देखे ।
गाडी जाम भएको देखेपछि तुलाधर झरेर गाडीबाट बोरा खसाले । चालकले थाहा पाएनन् । बोराभित्र ३९ पिस नयाँ ज्याकेट थिए । ती ज्याकेटहरू उनीहरूले ४५ हजारमा बिक्री गरे । तुलाधरले शाहीलाई १० हजार दिए । बाँकी आफैँसँग राखे ।
चोरीको बाइक खोज्ने क्रममा पुस १८ मा शाहीलाई प्रहरीले पक्राउ गर्यो । तुलाधर भने चोरीकै बाइक बिक्री गर्न हिँडिरहेका बेला पुस २३ गते बिहान सूर्यविनायकस्थित अमलडोल गुम्बाबाट प्रहरीको फेला परे ।
त्यसक्रममा उनी प्रहरीका सई सञ्जीव केसीले लगाइदिएको हत्कडी फुकालेर भाग्न खोजे । त्यति मात्रै होइन, सई केसीलाई चक्कु प्रहार गरे । तुलाधरको पनि खुट्टामा चक्कु लाग्यो । उनी भाग्न पाएनन् । खासमा भक्तपुर प्रहरीले अनुसन्धान गर्दा तुलाधर र शाहीको कनेक्सनबारे थाहा थिएन ।
जिल्ला प्रहरी परिसर भक्तपुरले तुलाधरविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान गरिरहेको थियो । काठमाडौंमा शाही पक्राउ परेपछि उनले बयानमा तुलाधरको नाम पोलेका कारण प्रहरी वृत्त लैनचौरले बयानका लागि तुलाधरलाई झिकाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार (माघ १३) मात्रै तुलाधर र शाहीविरुद्ध जिल्ला अदालतमा चोरी कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तुलाधर र शाही काठमाडौं उपत्यकामा हुँदै आएका मोटरसाइकल चोरीका ‘खुंखार’ अभियुक्त हुन् ।
‘मोटरसाइकल चोरी गरेर हैरानी दिएका यी दुई जनालाई पक्राउ गर्न थुप्रै सीसीटीभी हेरियो,’ भट्टराईले लोकान्तरसँग भने, ‘अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मिसिल बुझाएपछि मंगलबार मात्रै अदालतमा मुद्दा दायर भएको हो ।’