२६ जेठ २०८३, मंगलबार
बदलिएको कांग्रेस

भिजन- १० सहित बन्दै कांग्रेस घोषणा पत्र, चुनावी परिचालनका लागि एकपछि अर्को सर्कुलर

माघ १४, २०८२
काठमाडौं
भिजन- १० सहित बन्दै कांग्रेस घोषणा पत्र, चुनावी परिचालनका लागि एकपछि अर्को सर्कुलर

करिब २४ घण्टाअघि नेपाली कांग्रेसले आफ्नो आधिकारिक फेसबूक पेजमा अपडेट गर्‍यो- ‘भिजन-१०’ । 'बदलियो कांग्रेस‚ बदल्छौं देश'को ग्राफिक्ससहित अपडेट भएको पोस्टमा क्रिया-प्रतिक्रियाहरू आइरहेका छन् ।

भिजन १० के हो भनेर कांग्रेसले खुलाएको छैन । भिजन १० भित्र के-के पर्छन् त्यो पनि सार्वजनिक गरेको छैन । यद्यपि, यो कांग्रेसको घोषणापत्रसँग जोडिएको विषय हो । २१ फागुनमा हुने निर्वाचनको विषय हो ।

कांग्रेसको घोषणापत्र पार्टी सभापति गगनकुमार थापा नेतृत्वको टीमले लेखिरहेको छ । घोषणापत्र लेखन टोलीलाई संयोजन गरिरहेका प्रताप पौडेलका अनुसार ‘भिजन-१०’ कांग्रेसको घोषणापत्रको महत्त्वपूर्ण अंश हो ।

२३ र २४ भदौको जेनजी विद्रोहको जगमा २१ फागुनको निर्वाचन हुँदैछ । कांग्रेसले अबको घोषणापत्रमा त्यही विद्रोहपश्चातको उपलब्धिलाई संस्थागत गर्ने रणनीति लिएको देखिन्छ । विशेष गरी जेनजी विद्रोहले चाहेको सुशासन र समुन्नतिलाई जग बनाएर घोषणापत्रको बुँदा लेख्ने कार्यमा कांग्रेस लागेको पौडेल बताउँछन् ।

‘जेनजी विद्रोहको चहाना नै सुशासन र समुन्नति हो । हामीले यसलाई मूल थीम बनाएर घोषणा पत्र लेख्दैछौं,’ पौडेलले लोकान्तरसँग भने, ‘भिजन १० घोषणापत्रको अंश हो ।’

जेनजी विद्रोह अघिसम्म स्थिर कांग्रेसले पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन गरेर परिवर्तनको  शुरूआत गरेको छ । गगन थापाको नेतृत्व र विश्वप्रकाश शर्माको रणनीतिक योजनामा पुरानो पुस्तालाई बिदाइ गर्दै नवीन कांग्रेस बनाउने प्रयास भएको छ । यतिसम्म कि, संसदीय व्यवस्थामा बिरलै देखिने घटना भावी प्रधानमन्त्री घोषणा गरेर पार्टी अघि बढेको छ ।

null

पार्टीको उर्भरभूमि मधेशलाई आफ्नो पक्षमा पार्न सभापति थापा नै चुनाव लड्न सर्लाही- ४ पुगेका छन् । उपसभापति विश्वप्रकाश शर्मा चुनावै नलडेर चुनावी कमान्डरको रूपमा पार्टीलाई जिताउन लागेका छन् । विरासत जोडिए पनि पुराना नेता प्रकाशमान सिंह‚ शशांक कोइरालाहरूले टिकट पाउन सकेनन् । अर्थात्, टिकट वितरणदेखिनै रणनीतिकरूपमा अघि बढेको कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । १०६ जना नयाँ उम्मेदवारले टिकट पाएका छन् । यो कांग्रेसको समानुपातिकतर्फको मत बढाउने अवसर भएको बुझाइ कांग्रेस नेताहरूमा छ ।

‘१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिनु भनेको कांग्रेसले समानुपातिक मतलाई बढाउनु हो । यो सकारात्मक विषय हो,’ नेता डा. शेखर कोइराला भन्छन् ।

कांग्रेसले नवीन तथा बिक्ने रणनीति नबनाए उसलाई सहज छैन । रवि लामिछाने र बालेन शाह लगायत मिलेर बनेको नयाँ दल रास्वपाले माहोल बनाएको छ । पुरानो दलबाट वाक्क-दिक्क भएको भन्दै घण्टी (रास्वपाको चुनाव चिह्न)प्रेम मतदातामा जागेको छ । बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर रास्वपा निर्वाचनमा होमिएको छ । त्यसलाई काउन्टर दिन सभापति थापालाई केन्द्रीय समिति बैठकबाटै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको कांग्रेसले घोषणापत्र लेखनदेखि अन्य विविध पाटोमा रणनीतिक मुभ चालिरहेको छ ।

घोषणापत्रमा काम गरिरहेका पौडेलका अनुसार पार्टीले आर्थिक समृद्धि‚ बदलिएको र बदलिँदो सामाजिक परिवेश‚ नागरिक आवश्यकतालाई मध्यनजर गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपालीको’ अनेक पक्षलाई भिजन १० भित्र जोडेको छ । जसका लागि ग्राउन्डको सुझाव र सूचना लिने काम भइरहेको छ भने विषयविज्ञहरूसँग चरणबद्ध छलफललाई निचोडमा पुर्‍याउने काम भइरहेको छ ।

‘धेरै महत्त्वाकांक्षी विषय घोषणापत्रमा समावेश हुँदैनन् । आएका सुझावहरू मस्यौदाको चरणामा पुर्‍याउँदैछौं‚’ पौडेलले थपे ।

राजनीतिक दलले जनतासामु सार्वजनिक रूपमा प्रस्तुत गर्ने लिखित प्रतिबद्धता र कार्ययोजना नै घोषणापत्र हो । निर्वाचनमा जितेर सत्ता र शक्तिमा आएपछि के कस्ता काम गर्छौँ, निश्चित समयभित्र देशलाई कुन दिशामा लैजान्छौँ भन्ने दलहरूको स्पष्ट खाका घोषणा पत्र हो । यो केवल चुनाव जित्न मात्रै बनाइने कागज नभई जनतासँग गरिएको ‘पोलिटिकल कन्ट्राक्ट’ अर्थात् राजनीतिक वाचा वा करार पनि हो ।

मतदाता, सञ्चारमाध्यम तथा नागरिक समाजले उम्मेदवार मापन गर्ने आधार नै राजनीतिक घोषणा पत्र हो । अहिले विषम परिस्थितिमा कांग्रेसले बनाउने घोषणा पत्र र उसले लिने नीतिले पार्टीको भाग्य तथा भविष्य निर्धारण हुने देखिन्छ ।

निर्वाचनलक्षित ‘विशेष रणनीति’ : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

अन्तरघातजस्तो स्थायी ऐंजेरूले ग्रस्त कांग्रेसले यसपटक पनि त्यसलाई निको पार्ने छाँट छैन । विशेष महाधिवेशनबाट समग्रमा दललाई फाइदा पुगे पनि असन्तुष्ट पक्ष रिसाएरै बसेको छ ।

आधिकारिताको विषय अदालतमा पुगेकाले पार्टीभित्र हार्दिकताको माहोल बनिसकेको छैन । यस्तोमा सिङ्गो निर्वाचन हाँक्ने जिम्मेवारी पाएका उपसभापति विश्वप्रकाश शर्माले विभिन्न तहका जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खटिनुपर्ने भन्दै परिपत्र पठाएका छन् ।

null

चुनावी रणनीतिअनुसार अर्को निर्वाचनमा गएर ‘जात्रा देखाउने’ र आफ्नो निर्वाचन क्षेत्रमा ‘माखो नमार्ने प्रवृत्ति’ अन्त्य गराउने नीतिअनुसार 'निर्वाचन परिचालन निर्देशिका' तयार भइरहेको छ ।

उनको टीममा बसेर काम गरिरहेका एक सदस्यले दिएको जानकारीअनुसार चुनावको अन्तिम ३० दिन नेताहरूलाई जिम्मेवारी थपिएको छ । 'जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ' भन्ने नीति निर्देशिकामा समेटिएको छ‚’ उनले भने । 

निर्वाचनमा सफलता हासिल गर्नैका लागि उपसभापति शर्माले केन्द्रीय कार्यालयमा प्रदेशगत छलफल चलाइरहेका छन् । माघ १३ गते कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको छ । आज गण्डकी प्रदेशको छलफल सकिएको छ । छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक एवं युवाहरू सहभागी छन् भएका छन् ।

धार्मिक संघ-संस्थादेखि सामाजिक सञ्जालमा ‘भिड्न’ समिति बनाइँदै

चुनावै आफ्नो पक्षमा पार्न कांग्रेसले सात प्रदेश‚ ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रकेन्द्रित समिति गठन अनिवार्य गर्नुपर्ने परिपत्र गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले हरेक निर्वाचन क्षेत्रले कम्तीमा १२ वटा समिति अनिवार्य गठन गर्न भन्दै परिपत्र गरेका छन् । बुधबार गरिएको परिपत्रमा ‘उम्मेदवारलाई विजयी बनाउने अभियान व्यवस्थित बनाउन’ अविलम्ब समिति गठन गर्न भनिएको हो ।

यस्तै, निर्वाचन व्यवस्थापन मूल समिति गठन गर्ने र त्यसमा सहायक समिति पनि गठन गर्न उल्लेख गरिएको छ । जसमा सार्वजनिक कार्यक्रम व्यवस्थापन‚ महिला समन्वयसहित श्रमिक क्षेत्र समन्वय र परिचालन‚ कृषि क्षेत्र र कृषक समन्वय र परिचालन ‚ भ्रातृ संस्था समन्वय र परिचालन‚ शुभेच्छुक संस्था समन्वय र परिचालन उपसमिति गठन गर्नुपर्ने भएको छ । यस्तै, तेस्रोमा निर्वाचन प्रचार-प्रसार मूल समिति गठन गर्ने र त्यसलाई केन्द्रीय प्रचार-प्रसार समितिसँग प्रत्यक्ष सम्पर्क र समन्वयमा राख्ने भनिएको छ । प्रचारप्रासर समितिअन्तर्गत मिडिया समन्वय उपसमिति र सामाजिक सञ्जाल समन्वय उपसमिति गठन गर्न निर्देशन जारी भएको छ । सामाजिक सञ्जालको टीममा नवयुवालाई अग्रसर गराउन पनि परिपत्रमा लेखिएको छ ।

परिपत्र गर्दै शर्माले स्थानीय तह समन्वय समिति‚ बौद्धिक क्षेत्र समन्वय समिति‚ सामाजिक संघ-संस्था समन्वय समिति‚ धार्मिक संघ-संस्था समन्वय समिति गठन गर्न निर्देशन जारी गरेका छन् ।

‘निर्वाचन क्षेत्रमा रहेका विभिन्न धर्म र सम्प्रदायसँग सम्बन्धित संस्था र व्यक्तिसँग भेटघाट र समन्वय गरेर पार्टीको विजय अभियानमा समर्थन जुटाउने कार्यमा यो समिति क्रियाशील हुनेछ‚’ परिपत्रमा लेखिएको छ ।

निजी क्षेत्र समन्वय समिति‚ १८/३० विशेष अभियान चलाउने‚ पूर्वआप्रवासी समन्वय समिति र स्थानीय प्रशासन समन्वय समिति‚ अनुगमन समिति गठन गर्न भनिएको छ । ‘यी सँगै अत्यावश्यक अन्य समिति/उपसमिति अविलम्ब गठन गरेर केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गर्दछु ‚’ परिपत्रमा लेखिएको छ ।

null

महामन्त्रीद्वयले पनि निर्वाचन केन्द्रित हुन र उम्मेदवारलाई जिताउन भन्दै ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र गरेका छन् ।

उनीहरूले असन्तुष्ट पक्षहरूको पनि सहयोग र विश्वास खोजेका छन् । विशेष गरेर अन्तरघात नहोस् भन्ने उद्देश्य राखेर महमामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले निर्देशन जारी गरेका छन् ।

उनीहरूले केही दिनअघि गरेको परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरूलाई पनि विधि-विधानले पाएको विषय भन्दै जीतहारको कुरा नगरी चुनावमा केन्द्रित हुन भनिएको छ । अर्थात्, उनीहरूले पुराना नेता र निवर्तमान सभापति शेरबहादुर देउवाको पनि साथ खोजेका छन् ।

परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको छ ।

‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहजरूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिइएको छ,’ परिपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्