
काठमाडौंमा रोजगारी अभावको चित्र निर्वाचन प्रहरी (म्यादी)मा भर्ती हुन आवेदन दिनेहरूको सूचीले देखाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी बन्न काठमाडौंमा मात्रै सात हजार ६३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये तीन हजार ८ सय ८५ जना तालिमका लागि छनोट भएका छन् । छनोट भएकाहरूको तालिम आइतबारदेखि शुरू भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशल बुढाथोकीका अनुसार निर्वाचन प्रहरी बन्न स्नातकोत्तर (मास्टर्स डिग्री) पास गरेकादेखि इन्जिनीयरसम्मले आवेदन दिएका थिए ।
छनोट भएकामध्ये ६ जना स्नातकोत्तर गरेका, ३५ जना स्नातक गरेका, ९ सय ६१ जना प्लस टु गरेका, एक हजार ३८ जना एसएलसी/एसईई गरेका, तीन सय ५१ जना पाँच देखि नौ कक्षासम्म पढेका र एक हजार चार सय ६२ जना सामान्य लेखपढ जान्नेहरू छन् ।
छनोट भएकामध्ये दुई हजार सात सय एक जना पुरुष र एक हजार एक सय ५३ जना महिला छन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार वैकल्पिकसहितको उत्तीर्ण संख्या पाँच हजार तीन सय २९ छ । तर, तालिमका लागि तीन हजार ८ सय ५४ जनालाई समेटिएको छ । प्रहरी र सशस्त्र प्रहरीका विभिन्न कार्यालयमा तालिम गराउन शुरू भइसकेको परिसरले जनाएको छ ।

पूर्व सुरक्षाकर्मी मात्रै ७४९
डीएसपी बुढाथोकीका अनुसार आवेदन दिएर छनोट भएकामा सात सय ४९ जना पूर्व सुरक्षाकर्मी (पूर्व म्यादीसहित) छन् ।
जसअनुसार नेपाली सेनाबाट अवकाश पाएका ८७ जना, प्रहरीबाट अवकाश पाएका २० जना, सशस्त्र प्रहरीबाट अवकाश पाएका ६ जना, पूर्व सुरक्षागार्ड ४० जना र पूर्व म्यादी पाँच सय ९६ जना छनोट भएका छन् ।

मतदान केन्द्रमा सुरक्षाकर्मीसँग समन्वय गरेर निर्वाचन प्रहरीलाई परिचालन गरिने छ ।
‘सुरक्षा निकायमा जागिर खाएर अवकाश पाएकालाई राख्दा मतदान केन्द्रको सुरक्षा थप मजबुत हुने देखिन्छ,’ परिसरका एक अधिकृतले लोकान्तरसँग भने, ‘पूर्व सुरक्षाकर्मीले रणनीतिक तहबाट आफ्नो जिम्मेवारी पूरा गर्छन् ।’

देशभरबाट एक लाख ४९ हजार छनोट
देशभरबाट एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट भएका छन् । उनीहरूलाई १० दिनको तालिम दिएर निर्वाचन सुरक्षामा ४० दिने कार्यावधि तोकेर खटाइने छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलअन्तर्गत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छानिएका हुन् ।
निर्वाचन प्रहरीलाई आधारभूत सुरक्षा तालिमअन्तर्गत आफूभन्दा माथिल्लो तहका प्रहरीलाई गर्ने शिष्टाचार कसरी देखाउने, फिल्डमा सर्वसाधारणसँग कसरी व्यवहार गर्ने र शारीरिक पोजिसन कसरी मिलाउने लगायतका व्यवहारको प्रशिक्षण दिइन्छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीले चुनावलाई लक्षित गरेर कुनै पनि व्यक्तिगत धारणा राख्न पाउँदैनन् । कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न पूर्ण निषेध छ ।
निर्वाचन प्रहरीले तालिम सकाएपछि प्रहरी वा सशस्त्र प्रहरीको युनिटप्रति पूर्ण जवाफदेही भएर काम गर्नुपर्छ ।
काफ्लेका अनुसार गत पुस २५ गतेदेखि माघ ३ सम्म निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो । देशभरबाट करिब २ लाख जनाले आवेदन दिएका थिए । लिखित र स्वास्थ्य परीक्षणबाट उत्तीर्ण भएकाहरूलाई आइतबारबाटै नियुक्ति पत्र दिई तालिममा खटाइएको जानकारी नायब महानिरीक्षक काफ्लेले दिए ।
‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि– २०८२ अनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८ सय ६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एकपटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोशाक भत्ताअनुसार कपडाको खर्च व्यवस्था गरिएको जानकारी प्रहरी मुख्यालयले दिएको छ ।