१७ असार २०८३, बुधबार
मदनको घर र गिरिजाले जितेको क्षेत्र

मोरङ-२ स्थलगत : चियाको चुस्कीमा चुनावी चर्चा, उम्मेदवारको बहीखाता खोतल्दै मतदाता

माघ २१, २०८२
विराटनगर
मोरङ-२ स्थलगत : चियाको चुस्कीमा चुनावी चर्चा, उम्मेदवारको बहीखाता खोतल्दै मतदाता

मोरङको रतुवामाई नगरपालिका–६ स्थित सौठा बजारको ‘सेवारो होटल’ केवल चिया पिउने ठाउँ मात्र रहेन, यो एउटा मिनी–संसद् जस्तो बनेको छ। मंगलबार दिउँसो होटलभित्र १०–१२ जना स्थानीयहरू चुनावी ‘हिसाब–किताब’ मिलाउन व्यस्त थिए। त्यहाँ नेकपा एमाले, नेपाली कांग्रेसदेखि रास्वपासम्मका समर्थक र कार्यकर्ताहरू चियाको चुस्कीसँगै बहसमा उत्रिए। कसैले आफ्नो पार्टीको बचाउ गर्दै थिए भने केहीले ‘यी सबै उस्तै हुन्’ आक्रोश पोखिरहेका थिए।

मोरङ–२ राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ। पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले चुनाव जितेको यो क्षेत्रमा एमालेका जननेता मदन भण्डारीको घर पनि पर्छ। यही भीडमा भेटिएका कर्णबहादुर बस्नेत एउटा जीवित इतिहास हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै झापामा उनी पनि पक्राउ परेका थिए।

मदन भण्डारीसँगको व्यक्तिगत चिनजान र भूमिगत कालका यादहरू सम्झँदै उनले अहिलेको विकासप्रति गुनासो गरे। उनको नजरमा २०५६/५७ सालतिर गिरिजाप्रसाद कोइरालाको पालामा भएको बिजुली विस्तार र मुख्य सडक निर्माणबाहेक यहाँ खासै ठूलो विकास भएको छैन। अहिलेका नेताहरूभन्दा उनलाई कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीजस्ता सादगी नेताहरूको अभाव खड्किएको छ।

मोरङ–२ को चुनावी इतिहास हेर्दा २०७० सालसम्म यहाँ नेपाली कांग्रेसको वर्चस्व थियो। तर, दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले पहिलोपटक जीत दर्ता गराएर कांग्रेसको विरासत तोडेका थिए। त्यसपछि २०७४ मा कांग्रेसका मिनेन्द्र रिजालले जीत निकाले पनि २०७९ मा पुनः एमालेका पोखरेलले सुजाता कोइरालालाई पराजित गर्दै एमालेको साख जोगाएका थिए।

यसपटकको निर्वाचनमा भने परिस्थिति फेरिएको छ। एमालेले रंगेली नगरपालिकाका पूर्वमेयर दिलीपकुमार बगडियालाई मैदानमा उतारेको छ भने कांग्रेसबाट पुनः रिजाल चुनावी दौडमा छन्।

सुनवर्षी–९ डायनियामा भेटिएका विजय शाह यसपटकको भिडन्त त्रिपक्षीय हुने अनुमान गर्छन्। एमाले, कांग्रेस र रास्वपाबीच कसले बाजी मार्छ भन्न सकिने अवस्था नरहेको उनको बुझाइ छ। मतदाताहरूको ‘मुड’ पनि फेरिँदो छ। डायनियाकी पुष्पा उप्रेती भन्छिन्, ‘हामीले त सधैँ एमालेलाई भोट दियौँ, तर अहिलेका छोराछोरीले हाम्रो कुरा मान्दैनन्, उनीहरू आफैँ निर्णय गर्छन्।’

null

यसले पुराना दलहरूका लागि पुस्तान्तरणको मत जोगाउनु ठूलो चुनौती रहेको देखाउँछ। उता सौठामा भेटिएका देशबहादुर बस्नेत नेकपाका उम्मेदवार चन्द्रवीर राईलाई इमानदार नेता मान्छन् तर, उनको जित्ने जनमत भने नदेखिएको उनी बताउँछन्।

विकासको कुरामा जनता केही आक्रोशित पनि छन्। रतुवामाईका नरेश भट्टराईले आफ्नो पालिकामा दिलीप र मिनेन्द्रले केही नगरेको बताए। दिलीप यो क्षेत्रका लागि नयाँ भए पनि मिनेन्द्रले गिरिजाले गरेको कामको ब्याज मात्रै खाने गरेको उनले आरोप लगाए।

गोविन्दपुरका गोविन्द खनालले गोविन्दपुरको कटनु खोलामा भत्किएर अलपत्र बनेको पुल देखाउँदै भने, ‘हाम्रोतिरको विकास यस्तै छ। त्यो पुलमा ट्रक कुद्दाकुद्दै भत्किएको थियो। त्यसपछि बनाउन थालिए पनि अलपत्र अवस्थामा छ।’ बर्खामा खोलामा आउजाउ नै बन्द हुने उनले बताए।

null

अलपत्र परेको पुल र सडक देखाउँदै नेताहरूले वाचा पूरा नगरेको गुनासो गर्छन्। गोविन्दपुरमा पसल गर्ने प्रभास शाह पुराना दलहरूसँग जनता रुष्ट भएको बताउँछन् भने भूपेन्द्र राजवंशी उम्मेदवारहरू घरदैलोमा नआएसम्म कसलाई भोट दिने भन्ने निश्चित नहुने बताउँछन्।

यसपटक एमालेका उम्मेदवार दिलीप बगडिया रंगेलीमा आफूले गरेको विकासको ‘मोडल’ क्षेत्रभरि विस्तार गर्ने एजेन्डा लिएर हिँडेका छन्। उनले अस्पताल निर्माण, सडक विस्तार र तटबन्धका कुरालाई प्राथमिकता दिएका छन्।

अर्कोतर्फ, कांग्रेसका रिजाल नीतिगत सुधार, संविधान कार्यान्वयन र ठूला पूर्वाधारका योजनाहरूलाई आफ्नो मुख्य मुद्दा बनाउँदै मतदाता रिझाउन व्यस्त छन्।

null

उनीहरूका बीचमा रास्वपाका कृष्णकुमार कार्की पनि एउटा शक्तिका रूपमा उदाउने प्रयासमा छन्, यद्यपि उनीमाथि लागेका केही विवादित आरोपहरू छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सिंहदरबार जलाउँदै गरेको फोटो उनले आफैँले फेसबुकमा राखेका थिए। त्यसलाई नै विपक्षीले चुनावी एजेन्डा बनाइरहेका छन्।

१७ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा समानुपातिक मतको अघिल्लो नतिजा हेर्दा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिन्छ। रास्वपाको बढ्दो प्रभाव र साना दलहरूको उपस्थितिबीच मोरङ–२ का मतदाताले यसपटक कसलाई आफ्नो प्रतिनिधिका रूपमा चुन्ने हुन्, त्यो हेर्न बाँकी नै छ।

एमालेका उम्मेदवार दिलीपले भने आफूलाई बालेन भन्ने गरेका छन्। उनी भन्छन्, ‘मान्छेहरूले एउटा हावा चलाएका छन्– बालेन, बालेन, बालेन। यहाँको उम्मेदवार बालेन हो र? होइन। तपाईँहरूलाई काठमाडौँको बालेन त नजर आउँछ, तर यो पूर्वाञ्चलको बालेन तपाईँहरूलाई नजर आइरहेको छैन?’

null

रंगेलीमा बालेनभन्दा कम काम नगरेको उनको दाबी छ। उनले एउटा भिडियोमा भनेका छन्, ‘कसलाई भन्छन् बालेन? जसले काम गर्‍यो उसैलाई त बालेन भन्छन् नि। रंगेलीमा जे काम गरेको छु, त्यो बालेनको भन्दा कम छ र? बालेनले त मेरो छेउछाउ (तुलनामै आउने गरी) पनि काम गरेको छैन।’

salt training

कमेन्ट गर्नुहोस्