
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विवादास्पद फाइनान्सियर जेफ्री एपस्टाइनको खराब व्यवहारका बारेमा सन् २००६ मै जानकारी रहेको खुलासा भएको छ।
हालै सार्वजनिक गरिएको एफबिआईको एउटा दस्ताबेज अनुसार, फ्लोरिडाका एक पूर्व प्रहरी प्रमुखले ट्रम्पले आफूलाई फोन गरेर एपस्टाइनको हर्कतबारे 'सबैलाई थाहा भएको' बताएको दाबी गरेका हुन्।
पाल्म बीचका तत्कालीन प्रहरी प्रमुख माइकल रिटायरले सन् २०१९ मा एफबिआईलाई दिएको बयानमा यो खुलासा गरेका थिए।
रिटायरका अनुसार, प्रहरीले एपस्टाइनमाथि यौन शोषणको विषयमा अनुसन्धान सुरु गरेपछि ट्रम्पले उनलाई फोन गरेका थिए। उक्त फोन वार्तामा ट्रम्पले भनेका थिए, 'राम्रो भयो तपाईंले उनलाई रोक्दै हुनुहुन्छ, उनी कस्तो व्यवहारका मान्छे हुन् भन्ने कुरा सबैलाई थाहा छ।' ट्रम्पले एपस्टाइनलाई न्युयोर्कका मानिसहरूले घिनलाग्दो मान्ने गरेको र आफूले उनलाई आफ्नो क्लबबाट निकालिसकेको समेत बताएका थिए।
त्यस समयमा ट्रम्पले एपस्टाइनकी सहयोगी घिस्लेन म्याक्सवेललाई दुष्ट संज्ञा दिँदै प्रहरीको ध्यान उनीतिर पनि केन्द्रित गर्न सुझाव दिएका थिए। म्याक्सवेललाई पछि सन् २०२१ मा नाबालिग किशोरीहरूलाई एपस्टाइनका लागि फसाउने कार्यमा दोषी ठहर गरिएको थियो। रिटायरका अनुसार ट्रम्पले आफू एपस्टाइनसँग हुँदा त्यहाँ किशोरकिशोरीहरू देखेपछि तुरुन्तै निस्किएको समेत बताएका थिए।
यद्यपि, राष्ट्रपति ट्रम्पले भने विगतमा एपस्टाइनका अपराधहरूबारे आफूलाई कुनै जानकारी नभएको र धेरै वर्षदेखि उनीसँग सम्पर्कमा नरहेको दाबी गर्दै आएका छन्।