
यौन अपराधी जेफ्री एपस्टाइनसँग जोडिएका विश्वका धनी र शक्तिशाली व्यक्तिहरूको सूची अझ लम्बिएको छ। अमेरिकी सरकारले एपस्टाइनमाथिको अनुसन्धानका क्रममा संकलन गरिएका लाखौं नयाँ दस्ताबेजहरू सार्वजनिक गरेसँगै धेरै चर्चित व्यक्तित्वहरूको नाम बाहिर आएको हो।
सार्वजनिक दस्ताबेजहरूमा नाम समावेश हुनुको अर्थ उनीहरूले कुनै गलत काम गरेकै हुन् भन्ने पुष्टि नभए पनि यसले एपस्टाइनको पहुँच कति गहिरो थियो भन्ने देखाउँछ।
नयाँ दस्ताबेज अनुसार प्रविधि अर्बपति एलन मस्क र एपस्टाइनबीच यात्रा र पार्टीका विषयमा इमेल आदानप्रदान भएको देखिएको छ। सन् २०१२ को एक इमेलमा मस्कले एपस्टाइनको टापुमा हुने 'वाइल्डेस्ट पार्टी'बारे सोधेका थिए। यद्यपि, मस्कले आफू कहिल्यै एपस्टाइनको निजी टापुमा नगएको दाबी गर्दै यी कुराहरू आफ्नो बदनाम गर्न ल्याइएको बताएका छन्।
त्यसैगरी, माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम पनि यसमा मुछिएको छ। सार्वजनिक भएको एउटा विवादास्पद इमेलमा गेट्सले रूसी युवतीहरूसँगको यौन सम्बन्धका कारण केही औषधीहरू मगाएको दाबी गरिएको छ। गेट्सका प्रवक्ताले यी दाबीहरूलाई पूर्णतया गलत र हास्यास्पद भनेका छन्। गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले पनि यी दस्ताबेजहरूले आफ्नो वैवाहिक जीवनका पीडादायी क्षणहरूको सम्झना गराएको प्रतिक्रिया दिएकी छिन्।
बेलायती राजपरिवारका सदस्य एन्ड्रयू माउन्टब्याटन-विन्ड्सर (प्रिन्स एन्ड्रयू) को एउटा आपत्तिजनक तस्बिर पनि यस पटक सार्वजनिक भएको छ। तस्बिरमा उनी भुइँमा सुतिरहेकी एक महिलामाथि घुँडा टेकेर बसेको अवस्थामा देखिएका छन्। एन्ड्रयूले सधैं कुनै पनि गलत काममा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। उनकी पूर्वपत्नी सारा फर्गुसनले पनि एपस्टाइनलाई लिजेन्ड र विशेष साथी भन्दै पठाएका इमेलहरू सार्वजनिक भएका छन्।
यसैबीच, बेलायती राजनीतिज्ञ लर्ड म्यान्डलसनले एपस्टाइनसँगको आर्थिक सम्बन्धका कारण हाउस अफ लर्ड्सबाट राजीनामा दिने घोषणा गरेका छन्। एपस्टाइनले म्यान्डलसनसँग जोडिएका खाताहरूमा ७५ हजार डलर पठाएको र म्यान्डलसनले बजारसम्बन्धी संवेदनशील सूचनाहरू एपस्टाइनलाई उपलब्ध गराएको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यसअघि सार्वजनिक भएको दस्ताबेजमा डोनाल्ड ट्रम्पको नाम पनि धेरै ठाउँमा उल्लेख छ।
यसबाहेक भर्जिन ग्रुपका मालिक रिचर्ड ब्रान्सनको नाम पनि फाइल्समा देखिएको छ ।