
बाघको छाला तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालत काठमाडौंको फैसला उच्च अदालत पाटनले सदर गरेको छ ।
चिनियाँ नागरिक मा जिङ्गबिनलाई ५ वर्ष कैद र एक हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने जिल्ला अदालतको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको हो ।
उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गर्यो ।
सोही मुद्दामा आरोपित अन्य तीन चिनियाँ नागरिकहरू जाओ पेङचेङ, निउ युलियाङ र पेङ हुईले भने उच्च अदालतबाट सफाइ पाएका छन् ।
२०७८ असार २१ गते राति काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित एक होटलमा प्रहरीले छापा मारेर उनीलाई पक्राउ गरेको थियो । होटलको कोठा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म १० फिट लामो पाटेबाघको छाला फेला परेको थियो ।
यस्तै, बुद्धचित्तका गेडा, रुद्राक्ष, कस्तुरीको बिना र नगद ८ लाख ८९ हजार १५५ रुपैयाँसहित ठुलो परिमाणमा मोबाइल र एटिएम कार्डहरूसमेत बरामद गरिएको थियो ।
जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो ।