०३ साउन २०८३, आइतबार

'सोलमेट' को खोजी: कतै यो एउटा भ्रम त होइन ?

फागुन २, २०८२
काठमाडौं
'सोलमेट' को खोजी: कतै यो एउटा भ्रम त होइन ?

भ्यालेन्टाइन डे वा अन्य विशेष अवसरहरूमा हामीमध्ये धेरैलाई लाग्ने गर्छ कि यो संसारमा कतै न कतै हाम्रो लागि मात्र बनेको एउटा खास व्यक्ति वा 'सोलमेट' छ। 

प्राचीन ग्रीक दार्शनिक प्लेटोका कथादेखि आधुनिक हलिउड चलचित्रसम्मले प्रेमलाई भाग्यको खेल र दुई आत्माको मिलनका रूपमा व्याख्या गर्दै आएका छन्। तर, पछिल्लो समय वैज्ञानिक अनुसन्धान र मनोवैज्ञानिकहरूले यो धारणामाथि प्रश्न उठाउँदै नयाँ तथ्यहरू अघि सारेका छन्।

मनोवैज्ञानिकहरूका अनुसार 'सोलमेट' को अवधारणा एउटा मनोवैज्ञानिक पासो  हुन सक्छ। युनिभर्सिटी अफ ह्युस्टन र ब्रिघम योङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार मानिसहरूमा दुई प्रकारका विश्वास हुन्छन्- एउटा भाग्यमा आधारित र अर्को विकास (ग्रोथ) मा आधारित। 

'सोलमेट' मा विश्वास गर्नेहरूले सम्बन्धलाई सजिलो र संघर्षरहित हुनुपर्ने अपेक्षा राख्छन्। यस्तो सोच भएका व्यक्तिहरू सम्बन्धमा थोरै मात्र उतारचढाव आउँदा पनि यो मेरो लागि सही मान्छे होइन रहेछ भन्दै छिट्टै हार मान्ने गर्छन्। यसको विपरित, विकासमा विश्वास गर्नेहरूले सम्बन्धलाई मेहेनत र आपसी समझदारीबाट निर्माण गरिने कुराका रूपमा बुझ्छन्, जसका कारण उनीहरूको प्रेम दिगो हुने देखिन्छ।

प्रेम प्रशिक्षक विक्की पाभिटका अनुसार कहिलेकाहीँ हामी जसलाई 'केमिस्ट्री' वा गहिरो आकर्षण भन्छौँ, त्यो वास्तवमा हाम्रो मस्तिष्कले पुरानो घाउ वा असुरक्षालाई चिन्नु पनि हुन सक्छ। 

कहिलेकाहीँ अस्थिर र दुःख दिने व्यक्तिप्रति आकर्षित हुनुलाई हामीले 'सोलमेट' ठानेर गल्ती गरिरहेका हुन सक्छौँ। त्यस्तै, जैविक रूपमा पनि हर्मोनहरूले हाम्रो आकर्षणलाई परिवर्तन गर्न सक्ने वैज्ञानिकहरू बताउँछन्।

गणितीय र आर्थिक दृष्टिकोणबाट पनि संसारमा हाम्रो लागि कुनै एक मात्र अद्वितीय व्यक्ति हुनु असम्भव जस्तै छ। भ्यान्डरबिल्ट युनिभर्सिटीका डा. ग्रेग लियोको अल्गोरिदमले देखाएअनुसार संसारमा हाम्रा लागि धेरै जना उपयुक्त जोडीहरू हुन सक्छन्।

त्यस्तै, समाजशास्त्री ज्याकी ग्याबको अध्ययनले दिगो प्रेम ठूला र महँगा उपहारमा नभई स-साना दैनिक व्यवहारमा लुकेको तथ्य पुष्टि गरेको छ। बिहानको एक कप चिया, कठिन समयमा दिइने साथ र आपसी सम्मानले नै सम्बन्धलाई 'सोलमेट' जस्तो गहिरो बनाउने गर्छ।

विज्ञानले के भन्छ भने 'सोलमेट' कतै तयारी अवस्थामा भेटिने चिज होइन। यो त दुई व्यक्तिले एक-अर्काका कमजोरी र सबलतालाई स्वीकार गर्दै वर्षौँको मेहेनत, माफी र आपसी समझदारीबाट निर्माण गर्ने एउटा विशेष सम्बन्ध हो। त्यसैले सही व्यक्तिको खोजी गर्नुभन्दा सँगै भएको व्यक्तिलाई सही बनाउनु नै वास्तविक प्रेमको विज्ञान हो।

salt training

कमेन्ट गर्नुहोस्