
'ठूला नेता, हेलिकप्टर चढेर आएका, अब केही हुन्छ भन्ने भयो, सबैले मत दिए, तर केही नगरी गए,' नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई सम्झिँदै उनका एक मतदाताले भने ।
लगातार ४ पटक नवलपुर क्षेत्र नम्बर १ को भूगोलबाट जितेका शशांक यसपटक प्रतिस्पर्धामा छैनन्, तर उनीप्रति मतदाताको गुनासो जताततै सुन्न पाइन्छ ।
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ कोइलापानीका पर्वत सेन ठकुरीको परिवार वि.सं. २०२२ सालमा नै तराई झरेको रहेछ । स्थानीय तहले उनको घरअगाडिको सडक पिच गरिदिएको छ, तर अहिलेसम्म बस्दै आएको जग्गाको पुर्जा हातमा परेको छैन ।

'यत्रा घर छन् यहाँ, तर कसैको हातमा पुर्जा छैन,' उनले आफ्ना गाउँका अन्य घरहरूतर्फ इशारा गर्दै भने, 'नेताहरू आए-गए, तर हाम्रो कुरा सुनेनन् ।'
कावासोती ५ साझा चोकका ५२ वर्षीय दुर्गाराज गुरुङले पनि शशांकलाई गुनासोसहित नै सम्झिए । 'शशांकले पटक-पटक जितेर गए, तर काम गरेनन्,' उनले भने, 'अब त सिधै भन्नुपर्दा हामी घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) हो ।'

सँगै रहेका बलबहादुर गुरुङले अघिल्लोपटकसम्म आफूहरू सबैले शशांकलाई भोट दिएको बताए ।
'पहिला हाम्रो टोलमा सबैले शशांकलाई भोट हालेका हुन् । यो ठाउँ एमालेको गढ भए पनि मैले वडाध्यक्षमा ७० भोटले हारेको हो । मेरो ११० भोट बदर भएको थियो । अहिले सबैले घण्टी भनिरहनुभएको छ । मैले पनि सम्झाउन सक्ने अवस्था छैन,' गुरुङले भने ।

शशांक यो ठाउँको बासिन्दा नहुनु र सीमित व्यक्तिको घेरामा रहनुले समस्या भएको उनले सम्झिए ।
आजभोलि मोबाइलको प्रभावका कारण वृद्ध बाआमाले समेत घण्टीमा भोट हाल्छु भन्न थालेको उनले जानकारी दिए ।
'यी आमाहरू राति ३ बजेसम्म मोबाइल हेर्छन् । रविलाई थुने भनेर रुन्छन् । हामीले भनेर हुने अवस्था नै छैन,' गुरुङले थपे ।
स्थानीय केरुङ्गे खोलाको बाढीले गाउँमा बर्सेनि वितण्डा मच्चाउने गरेको उनको गुनासो छ ।

'शशांकले यो केरुङ्गे खोलामा स्थायी तटबन्धको व्यवस्था गर्ने भनेर पटक-पटक जित्नुभयो । तर, खोलाको आतंक ज्युँका त्यु छ,' उनले भने, 'यहाँ नालाको समस्या पनि छ । वर्षामा पानी घरभित्र पस्छ ।'
बलबहादुरसँगै रहेका अन्यले पनि केरुङ्गे खोला र नालाको समस्याबारे बताए ।

त्यसपछि हामी केरुङ्गे खोला नियाल्न पुग्यौं । खोलामा स्थानीय युवाहरू बालुवा चाल्ने काम गरिरहेका थिए । जालीमा ढुंगा भरेर अस्थायी तटबन्धको व्यवस्था गरिएको थियो ।

स्थानीयले बहुलाहा खोला हो यो भनेपछि हेर्न पुगेका हामीले त्यहाँ पानी देखेनौं । धौवादी (फलाम खानी) आसपासबाट शुरू हुने खोलामा वर्षामा मात्र पानी हुने रहेछ ।
***
कावासोती ५ अकाला चोककी एक महिलाले पनि आफ्नो ठाउँमा धौवादीबाट आउने केरुङ्गे खोलाका कारण समस्या हुने गरेको बताइन् । चुनावी माहोलबारे भने उनले कुनै प्रतिक्रिया गर्न चाहिनन् ।
कावासोती ६ खोकेटोलका हेमराज न्यौपानेले कांग्रेस उम्मेदवार बालकृष्ण न्यौपाने राम्रो व्यक्ति भएको बताए । 'बालकृष्ण घिमिरे राम्रो व्यक्ति हुनुहुन्छ । कांग्रेसलाई विगतजस्तो सजिलोचाहिँ छैन । यहाँ त्रिकोणात्मक (कांग्रेस, एमाले र रास्वपा) प्रतिस्पर्धा हुन्छ,' उनले भने ।

कतिपय काम भए पनि डुबानसहितका समस्या भने यथावत रहेको उनले बताए ।
'विकासका कतिपय काम भए पनि अलिअलि समस्या पनि थियो । शशांक आए पनि हार्ने निश्चित भएपछि यहीँबाट रोकेका हुन्,' उनले थपे ।
***
देवचुली नगरपालिका वडा नम्बर १० प्रगतिनगर पुग्दा ८० वर्षीय रविलाल भुसालसहित केही वृद्धहरूको समूह भेटियो ।
आफूहरूले विगतमा शशांकलाई मत दिए पनि उनलाई सीमित व्यक्तिले घेरामा राखेर बिगारेको उनीहरूले बताए ।

'शशांकले कामै गरेनन् भन्न मिल्दैन । यही सडकमा पनि थोरै पैसा सरकारबाट आयो, थोरै हामीले पैसा उठाएर पिच गरेका हौं । नाला हामीले नै बनाएका हौं,' भुसालले भने, 'कामै गरेनन् भन्न त मिल्दैन । तर, उनलाई आसेपासेले बिगारे ।'
गाउँमा युवा नै नरहेको र तातोपानी तताएर दिने मान्छे समेत नभएको उनको गुनासो थियो ।
'हामीले गाउँमा युवा देख्न पाउँदैनौं, बाबुहरूलाई मात्र हो देखेको,' उनले थपे, 'तातोपानी तताएर दिने मान्छे पनि छैन । सके पकाएर खाने हो, नसके बुढाबुढी नै भोकै सुत्नुको विकल्प छैन ।'

माथिका केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यो क्षेत्रबाट ३ पटक जितेका शशांक कोइरालाप्रति हरेक मतदाताको कुनै न कुनै गुनासो पाइन्छ ।
अहिले शशांकका कारण सिर्जित गुनासाहरूको सामना गर्दै चुनावी मैदानमा छन्, बालकृष्ण घिमिरे ।
नवलपुर १ मा कांग्रेसको गढ जोगाउने जिम्मेवारी घिमिरेको काँधमा आइपुगेको छ । यो २०६४ मा माओवादीको देशव्यापी प्रभाव छँदा पनि कांग्रेसले जितेको पुरानो गढ हो । स्थानीय तहमा एमाले-कांग्रेस मिश्रित नतिजा आए पनि संसदीय चुनावहरूमा कांग्रेसले लगातार जित्दै आएको छ ।
देशभर तालमेल हुँदा पनि यहाँका कांग्रेस मतदाताले प्रतिनिधिसभामा रूखबाहेक अन्य चिह्नमा मत हाल्नुपरेको छैन ।
यति बलियो क्षेत्र हुँदाहुँदै पनि नवलपुर १ मा कांग्रेस पहिलोपटक रक्षात्मक बनेको हामीले पायौं ।

नवलपुरकै बुङ्लिङटार गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका बालकृष्ण घिमिरे 'पीएचडी स्कलर' हुन् ।
उनले लामो समय कावासोती बहुमुखी क्याम्पमा अध्यापन समेत गरेका थिए ।
बालकृष्ण शशांकले काम गरेनन् भन्न नमिल्ने जिकिर गर्छन् । बाँकी रहेका अधुरा काम आफूले पूरा गर्ने उनी बताउँछन् ।
'डा. शशांक यहाँ आएपछि ठूल्ठूला आयोजना अगाडि बढेका छन् । कालीगण्डकी करिडोर स्तरोन्नति भएको छ । करिडोर जोड्ने ३ वटा मोटरबाटो निर्माण भएका छन् । ट्रमा सेन्टर शिलान्यास भएको छ । बीपी स्मृति खेलग्रामको काम अगाडि बढेको छ । दर्जनौं स्कूललाई बस उपलब्ध गराउन सहजीकरण गर्नुभएको छ । अनगिन्ति काम भएको छ,' घिमिरेले भने, 'नागरिकका अपेक्षा दिनानुदिन बढेका छन् । हामीसँग राष्ट्रिय बजेट सीमित छ । कतिपय काम अधुरा पनि छन् । सम्पन्न भएका कामप्रति श्रद्धा व्यक्त गरौं, बाँकी कामको जिम्मेवारी हामीले बोकेर अगाडि बढ्छौं ।'

उनले भूमिहीन समस्या समाधानदेखि केरुङ्गे खोलाको तटबन्ध निर्माणलगायतका काम अगाडि बढाउने बताए ।
मनदेखि मिल्यो त टिकट वितरणको विवाद ?
उम्मेदवारी मनोनयनका दिन नेपाली कांग्रेसबाट २ जनाले टिकट ल्याएपछि यो क्षेत्रमा विवाद उत्पन्न भएको थियो ।
पार्टीको टिकट ल्याएर बालकृष्णले शुरूमा उम्मेदवारी दिएका थिए । फेरि पार्टीका महासमिति सदस्य गजेन्द्रबहादुर आलेका नाममा पनि टिकट आयो ।
मनोनयनका दिन दुवैजनाको उम्मेदवारी दर्ता भयो । अन्तिममा सहमतिका नाममा गजेन्द्रलाई ब्याक हटाइयो र बालकृष्णको उम्मेदवारी सदर भयो ।
अहिले गजेन्द्र बालकृष्णसँगै चुनावी अभियानमा हिँडेका छन् । शुक्रबार गैँडाकोट- १२ को सम्पर्क कार्यालय उद्घाटनमा पनि गजेन्द्र सहभागी भएका थिए ।
तर, कार्यकर्ताहरू उम्मेदवारी मनोनयका क्रममा देखिएको समस्याले कहीँ न कहीँ असर गर्ने चिन्ता व्यक्त गर्छन् ।
'हामीले पहिले ग्रामीण इलाकाबाट ४ देखि ५ हजारले लिड गरेर आउँथ्यौं । त्यहाँ विशेष गरी मगरसहित जनजातिको बाक्लो बसोबास छ । गजेन्द्र आले उम्मेदवार भएको भए त्यहाँको जनजाति मतमा हामीले अझै राम्रो गर्न सक्थ्यौं, तर अब त्यो भोट कति तान्न सक्छौं भन्ने चिन्ता छ,' कांग्रेस नवलपुरका एक कार्यकर्ताले लोकान्तरसँग भने ।

कांग्रेस नवलपुरका संगठन विभाग सदस्य तथा लोकतन्त्रवादी आदिवासी जनजाति संगठनका प्रवक्ता भुवन आले पार्टीले निर्णय गरिसकेको विषयमा अब समस्या नहुने जिकिर गर्छन् ।
'अब टिकटको विषयले त्यति समस्या होला जस्तो लाग्दैन,' आलेले लोकान्तरसँग भने ।
चितवनबाट नारायणी तरेको घण्टीको हावा
२०७९ मा यो क्षेत्रबाट कांग्रेसका शशांक कोइराला २७ हजार ६७ मत ल्याएर निर्वाचित हुँदा एमालेका कृष्णप्रसाद पौडेलले २५ हजा ४७ मत पाएका थिए ।
पूर्वमाओवादी पृष्ठभूमिका रास्वपा उम्मेदवार राजन गौतमले पनि अप्रत्यासित ढंगले २४ हजार ५ मत ल्याउन सफल भएका थिए ।
राप्रपाका मोहनीलाल भुसालले ३४६९ मत पाउँदा अन्य उम्मेदवारले ४ अंकको आँकडा छुन सकेका थिएनन् ।
रास्वपाले यसपटक पनि तिनै गौतमलाई अगाडि सारेको छ । एमालेबाट भागीरथ सापकोटा उम्मेदवार बन्दा नेकपाबाट लोकप्रसाद भुर्तेल उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा विभिन्न दलका २८ र स्वतन्त्र ६ गरी ३४ जना उम्मेदवार छन् ।
कांग्रेसले विशेष चुनौती अघिल्लोपटकको निकटतम प्रतिद्वन्द्वी एमालेभन्दा रास्वपालाई ठानेको छ ।
रास्वपाको पक्षमा देशव्यापी माहोल नहुँदा पनि कडा टक्कर दिएका गौतमलाई यसपटक माहोलको साथ छ ।
गैँडाकोट १२ को सम्पर्क कार्यालय उद्घाटनमा उपस्थित एक कांग्रेस कार्यकर्ता भन्दै थिए- 'अघिल्लोपटक धेरैले लुकेर घण्टीमा भोट हाले, यसपटक हाकाहाकी हाल्दैछन् ।'
त्यसो त, कांग्रेस-एमालेका स्थानीय नेता/कार्यकर्ता रास्वपामा प्रवेश गर्ने लहर नै चलेको छ ।
गैँडाकोट ११ र १२ का कांग्रेस वडा सभापति रास्वपामा प्रवेश गरेका छन् । एमालेबाट १२ नम्बर वडाका अध्यक्ष, सचिवसहितको टीम नै रास्वपामा गएको छ ।
अघिल्लोपटक गैँडाकोटसहित तराई बेल्टका नगरपालिकाकाका ब्राह्मण/क्षेत्री बस्तीबाट राम्रो मत ल्याएको रास्वपा यसपटक थारूसहित जनजाति बस्तीमा पनि छिरिसकेको पाइयो ।

गैँडाकोटको पूर्वपश्चिम राजमार्गबाट केही भित्र छिरेपछि भेडाबारीमा थारु र मगरहरूको करिब ३०० घर रहेछ । त्यहाँ चैते धानको ब्याडमा काम गर्दै गरेका वृद्धवृद्धासँगै एक प्रौढ उमेर समूहका थारु पुरुष पनि भेटिए । उनी नेपाली कांग्रेसको पुरानो क्रियाशील सदस्य पनि रहेछन् ।
आफ्नो ठाउँमा काम भएन भन्न नमिल्ने बताएका उनले तर गाउँबाट ७५ प्रतिशतभन्दा बढी भोट घण्टीमा जाने बताए ।
'यहाँ काम भएन भन्न त मिल्दैन । सिँचाइका लागि यो वर्षमात्रै ४ वटा बोरिङ थपियो । तपाईंले यो फाँटमा जति पनि साना घरहरू देख्नुहुन्छ, ती सबै बोरिङ हुन्,' उनले भने, 'तर, हाम्रो समुदायमा पनि युवा जति सबै घण्टी भनेर हिँडेका छन् । आजको स्थितिमा ७५ प्रतिशत भोट घण्टीमा जाने अवस्था छ ।'

उनको पनि झुकाव घण्टीतर्फ बढेको हामीले पायौं । यो क्षेत्रमा को-को उठ्नुभएको छ ? उम्मेदवारहरू कस्ता हुनुहुन्छ ? भनेर सोध्दा उनले आफूलाई राजन गौतम (रास्वपा उम्मेदवार)बाहेक अरू थाहा नभएको बताए ।
उनीसँगै रहेका वृद्धले पनि बाटो पिच नभएको, भोटे खोलाका कारण डुबानको समस्या रहेको बताए ।
एमालेलाई पनि गर्न मिल्दैन 'इग्नोर'
देशव्यापी माहोल आफ्नो पक्षमा नरहे पनि एमाले समेत यो क्षेत्रमा इग्नोर गर्न नमिल्ने शक्ति हो । अघिल्लोपटक कांग्रेसको निकटतम प्रतिस्पर्धी रहेको एमालेले देवचुली र कावासोती नगरपालिका तथा बुङ्लिङटार गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको थियो । यस्तै, वडाहरूमा पनि एमालेको प्रभावशाली उपस्थिति छ ।
'एमालेका भागिरथ सापकोटा पनि इग्नोर गर्न नसकिने उम्मेदवार हुनुहुन्छ,' गैँडाकोटमा भेटिएका एक स्थानीयले भने, 'पालिकाहरूको नतिजा हेर्दा त एमाले यहाँ बलियो दाबेदार हो ।'
हामीले यस क्षेत्रका विभिन्न पालिकामा पुग्दा नेकपासहित अन्य दलको भने खासै प्रभाव पाएनौं ।
यो क्षेत्रमा गैँडाकोट र देवचुली नगरपालिका पूरै, कावासोतीका ११ वटा वडा र बुलिङटा गाउँपालिका पर्छन् ।