
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो ।
लगातार तीन हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । वेस्ट इन्डिज लगातार तीन जितसहित विश्वकपको सुपर-८ मा पुग्ने पहिलो टोली बनेको छ ।
अब मंगलबार स्कटल्याण्डविरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए ।
ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए । नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालले ब्याटिङमा कमजोर शुरूआत गरे पनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा १३३ रन बनाएको थियो । ऐरीले ४७ बल खेल्दै ३ चौका र ३ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।
दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे ।
यसबाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्यो ।
बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए ।