
मधेशमा चुनावी माहोल सिर्जना गर्ने अभिप्रायले नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र जनकपुरबाट सार्वजनिक गर्यो । मधेशलाई जोड्न भन्दै पार्टी सभापति गगन थापा चुनाव जित्दै आएको काठमाडौं छाडेर मधेश झरे ।
मधेशलाई कांग्रेसले आफ्नो भोट बैंक भन्छ, तर मतदानका लागि १० दिन बाँकी रहँदा पार्टीको पक्षमा अपेक्षित लहर ल्याउन सकेको छैन । जनकपुरमा विशाल सभा गरेर कांग्रेसले मधेशलाई सन्देश दिन खोज्यो, तर त्यसको प्रभाव अहिलेसम्म देखिएको छैन ।
नेपाली कांग्रेस र नेकपाका प्रभावशाली नेताहरू चुनावी मैदानमा रहेको धनुषामा नयाँ दलले आफ्नो उपस्थिति सशक्त बनाएका छन् । बालेन (बालेन्द्र) शाहलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेपछि मधेशका अन्य जिल्लामा जस्तै धनुषामा पनि रास्वपाप्रतिको आकर्षण पाइएको छ ।
लोकान्तर डट्कमको टीमले शुक्रबार, शनिवार र आइतबार (फागुन ८, ९ र १० गते) धनुषाका क्षेत्र नम्बर ३ र ४ का विभिन्न क्षेत्रका ५ सय १७ जना मतदातासँग कुराकानी गरेको थियो ।
हामीसँग कुराकानी गरेकामध्ये बहुसंख्यक मतदाताले यसपटक नयाँलाई अवसर दिने बताए । कांग्रेस–एमालेलाई भोट दिन्छु भन्ने मतदाताको संख्या अत्यन्त थोरै(निर्वाचन आचारसंहिताका कारण प्रतिशत नखुलाइएको)देखिएको छ ।
कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दललाई पटक पटक अवसर दिए पनि जनताको अपेक्षा अनुसार काम नगरेकाले यसपटक नयाँ दललाई मौका दिने मतदाताहरू बताउँछन् ।

शहरी क्षेत्रमा बसोबास गर्ने, महिला, मजदुर, कृषक, व्यापारी लगायत मतदाताको भनाइ एउटै छ– यसपटक नयाँलाई हेर्ने । कुराकानी गरेका अधिकांशले बालेन प्रधानमन्त्री बन्ने कुराले आफूहरूलाई घण्टीप्रति प्रेरित गरेको बताए ।
मधेशका ३२ सीटमै बालेन हुन् उम्मेदवार !
माघ ५ गते जनकपुरमा भएको सभामा बालेनले ‘मधेशीको छौरा’लाई प्रधानमन्त्री बनाउने हो ? भनेर गरेको भाषणले मधेशका जिल्लामा तरंग ल्याइदिएको छ । मधेशका रास्वपा उम्मेदवारहरूले बालेनको त्यही भाषण माइकिङ गर्दै चुनाव प्रचार गरिरहेका छन् ।
प्रत्येक उम्मेदवारको ब्यानरमा लेखिएको छ–‘अब की बार बालेन सरकार’ । होली नजिकिँदै गर्दा जनकपुरका पसलमा ‘अबकी बार बालेन सरकार’ लेखिएका टिसर्ट बिक्रीमा राखिएका छन् । यसले पनि बताउँछ मधेशमा बालेनको क्रेज कसरी बढिरहेको छ ।
कुराकानी गरेका अधिकांश मतदाताले बालेनलाई प्रधानमन्त्री बनाउनका लागि यसपटक घण्टीमा भोट हाल्न लागेको बताए । ‘बालेनलाई प्रधानमन्त्री बनाउन घण्टी छाप’मा मोहर लगाउने भन्ने कतिपयलाई पार्टीको नाम थाहा छैन ।

जुन क्षेत्रका मतदातासँग कुरा गर्दा पनि उस्तै जवाफ सुनिन्छ– बालेन शाहलाई प्रधानमन्त्री बनाउनका लागि भोट दिने । काठमाडौं महानगरलाई चम्काएकाले बालेन प्रधानमन्त्री बनेमा देशको विकास हुने उनीहरूको बुझाइ छ ।
जनकपुरका श्रीराम साहले जनताले अहिले घण्टी घण्टी भनिरहेको बताए । अर्का मतदाता गोपाल झाले नयाँ युवा सबैले घण्टी घण्टी भनिरहेको सुनाए ।
जनकपुर ९ का देवनारायण साह यसपटक जनताले परिवर्तन चाहिरहेको बताउँछन् । ‘सबैले भनिरहेको सुन्छु, यसपटक परिवर्तन चाहियो । सबैलाई हेरेको छु यसपटक नयाँलाई मौका दिनुपर्छ भन्ने हाम्रो सोच छ’, साहले भने ।
लक्ष्मीनिया १ का शिवकुमार यादवले यसपटक मतदाताको मन परिवर्तन भइरहेको बताए । ‘सबैले यो भनिरहेका छन् कि एकपटक नयाँलाई दिएर हेरौं । नयाँ भनेको बालेन हो । बालेन भनेको नयाँ भिजनको मान्छे हो, काठमाडौंमा राम्रो गर्यो भने देशैभर राम्रो गर्न सक्छ’, उनले भने ।

अटोरिक्सा चलाउने जनकपुर उपमहानगरपालिका ६ का सुरज कुमारले यसपटक नयाँलाई भोट दिने योजना रहेको बताए । ‘यसपटक नयाँलाई भोट दिने, बालेनलाई प्रधानमन्त्री बनाउने’, कुमारले भने, ‘राम्रो सरकार भयो भने हामी जस्तो बेरोजगारलाई फाइदा हुन्छ ।’ उनले आफ्नो रिक्सामा चढ्ने धेरैले यसपटक नयाँलाई भोट दिनुपर्छ भनेर कुराकानी गर्ने गरेको बताए ।
जनकपुर ५ की राधिकादेवी यादवले यसपटक नयाँ नयाँ भनिरहेको बताइन् । ‘बढी लोगको बढी कुरा गरिरहेका छन्, सब्जी बजारमा गए पनि घण्टी छापको कुरा भनिरहेका छन्, यत्रो माला बनाएर राखेका छन्’ राधिकादेवीले भनिन् ।

७२ वर्षका चन्द्रशेखर झा यसपटक जनकपुरमा कांग्रेस र घण्टीको चर्चा चलिरहेको बताए । ‘गाउँघरमा घण्टीको कुरा चलिरहेको छ, मेरो पनि मन घण्टीले जितोस् भन्ने इच्छा छ । यिनीहरू नयाँ पनि छन्, जवान केटा आइरहेको छ । राम्रो गर्यो भने ठीकै होला, पुरानाले जस्तै गर्यो भने उनीहरूको पनि घण्टी बज्छ’, झाले भने ।
जनकपुर ८ का वीरेन्द्र कुमार मालीले काठमाडौंमा राम्रो काम गरेका बालेन प्रधानमन्त्री बन्ने कुराले मधेशमा घण्टीछापको लहर आइरहेको बताए । ‘यसपालि सबैले बदलाव खोजिरहेका छन्, बालन बालन (बालेन बालेन) भनिरहेका छन् । उनले मेयर भएर यस्तो काम गरेका छन्, प्रधानमन्त्री बन्ने अवसर पाए भने झन राम्रो काम गर्छन् होला’ मालीले भने ।
जनकपुरका शम्भु धोबीले यसपटक मधेशका जिल्लामा घण्टीको लहर चलेको बताए । ‘यहाँ घण्टीको हल्ला चलेको छ । सबै नेतालाई हामी हेरिदियौं, एकपटक बालेनलाई पनि हेरौं’, धोबीले भने ।

धनुषा ४ मा पर्ने जनकपुर १३ का उमेश कुमार शाहले यसपटक नयाँलाई हेरौं भन्ने लहर आएको बताए । ‘पुरानोलाई ३५ साल हेरिएको छ, यसपटक नयाँलाई हेरौं भनेर सबैले त्यस्तै भनिरहेका छन्’ साहले भने ।
‘चुनाव जितेकाले काठमाडौंमा घर बनाए, हामीलाई हेरेनन्’
नयाँलाई मौका दिने बताएका मतदाताले कांग्रेस–एमाले लगायत पुराना दलका नेताबाट आफूहरूलाई धोका भएको बताए ।
शम्भु कुमार मुखियाले पहिलेको नेताले केही नगरेका कारण यसपटक नयाँलाई भोट दिने विचार बनाएको बताए । ‘पुरानोलाई कति दिने ? काम नगरे पनि हामी नमरुन्जेल दिइराख्ने ? यसपटक नयाँलाई दिने हो, उनीहरूले राम्रो गरे भने फेरि दिने, नभए नदिने’, मुखियाले भने ।
धनुषा ४ का सोनु साहले पहिलेको नेताले केही नगरेका कारण यसपटक नयाँलाई दिने बताए । ‘पुरानो नेताले केही काम गरेनन्, यसपटक नयाँलाई भोट दिने सोचाइ बनेको छ । बालेनलाई जितायो भने युवाले केही गर्छ कि भन्ने आश छ’, साहले भने ।
नवलकिशोर ठाकुरले कांग्रेस-एमालेलाई हेरिसकेको सुनाए । ‘यसपटक बालेन दाइलाई दिनुपर्छ भन्ने छ, काठमाडौंमा काम गरेको मान्छेलाई प्रधानमन्त्री बन्न दिऊँ भनेर नयाँलाई भोट दिने विचार बनाएको छु’, ठाकुरले भने ।
लक्ष्मीनगर ४ सहपीका लालबहादुर ठाकुरले युवा जति परिवर्तनको पक्षमा रहेको बताए । ‘७७ जिल्लामा परिवर्तनको आँधी छ, जनताले परिवर्तन भनेको छ । पुराना पार्टीले हाम्रो बालबच्चाको भविष्य नास गरेकाले अब नयाँलाई रोज्नुपर्ने अवस्था आयो’, ठाकुरले भने ।

जगनारायण यादवले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई भोट दिने कुरा चलिरहेको बताए । ‘देशको समस्या समाधानका लागि नेपाली कांग्रेसले जित्नु पर्छ भन्ने जनताको कुरा रहेको छ, नयाँ भनेर मात्र हुँदैन’, उनले भने ।
धनुषा ४ का राजकिशोर यादवले पनि कांग्रेसको चर्चा रहेको बताए । यादवद्वय पूर्वराष्टपति डा. रामवरण यादवको गृहनगरका कांग्रेस कार्यकर्ता हुन् ।
सपहीमा सैलुन चलाउँदै आएका मंगल ठाकुरले यसपटक नयाँलाई भोट दिने बताए । ‘यसपटक घण्टीको चर्चा चलिरहेको छ । हामीले एमाले-कांग्रेस देखिसकेको छ, एकपटक घण्टीमा देख्नु परेको छ’ ठाकुरले भने, ‘हाम्रो आश विश्वास छ कि बालेन आयो भने कुछ विकास गर्छ ।’
सञ्जीवकुमार मण्डलले मान्छेहरूले घण्टीमा दिने भनिरहेका छन् । ‘देश विदेशमा बालेन बालेन भनिरहेका छन्, नयाँलाई दिऊँ कि पुरानालाई मेरो मर्जी’, मण्डलले भने ।
रामचन्द्र साहले नयाँ नयाँ भने पनि आफू एमालेलाई नै भोट दिने पक्षमा रहेको बताए । ‘यहाँ रघुवीर महासेठले राम्रै गर्नुभएको छ । मैले यसपटक पनि उहाँलाई भोट दिने हो’, साहले भने ।
टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका एमडी सामीले जनताले यसपटक परिवर्तन भनिरहेको बताए । ‘देशको अवस्थामा सुधार हुन्छ कि भनेर मान्छेले यसपटक नयाँलाई दिऔं भनिरहेका छन्’, उनले भने ।

गोपालकुमार यादवले देश सुधार्नका लागि नयाँलाई भोट दिने कुरा गरिरहेको बताए । ‘पुरानो दलसँग जनता परेसान भइसकेको छ, पीडित भइसकेको छ । यसपटक बालेनलाई प्रधानमन्त्री बनाउने कुरा गरिरहेका छन्’, उनले भने ।
जनकपुर १९ का हिरालाल यादव मतदाता यसपटक पुराना दलको नाम लिने पक्षमा नरहेको दाबी गर्छन्। ‘जनताले भनिरहेको छ ४० वर्षदेखि भोट दिँदा केही परिवर्तन गरेन, जनतालाई डुबाइदियो, अब चाहिँ नयाँलाई दिनुपर्छ भनिरहेका छन्’, उनले भने ।
पुराना दलले विकास नगरेका कारण यसपटक मतदाताले नयाँ दल रोज्ने भनिरहेको जगदीश ठाकुरले बताए।
राजेन्द्र प्रसाद साहले यसपटक मान्छेले बालेन साह भनिरहेको बताए । ‘यहाँ जति नेता थियो कमाएर घर बनायो, जनतालाई त केही गरेन’, साहले भने,‘देउवा, ओली र प्रचण्ड सबैले देश बर्बाद बनाए कुनै काम गरेनन् ।’
विगतमा जसपाको वडा कमिटीको अध्यक्ष भइसकेका राजकुमार यादवले यसपटक नयाँलाई दिने पक्षमा रहेको बताए । ‘मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाएमा देश विकास हुन्छ भन्ने आश छ । हामी सबै यसपटक बालेनको पक्षमा छौं, घण्टी छापमा मोहर लगाउने भनेका छौं’, उनले भने ।

प्रभावशालीको क्षेत्रमा नयाँको धावा
धनुषा ३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेकी जुलीकुमारी महतो र रास्वपाका मनिष झा उम्मेदवार छन् । नेकपाका रामललित मण्डल,जसपाका परमेश्वर साह सुडी र जनमत पार्टीका गोपाल प्रसाद साह तथा अन्य दल र स्वतन्त्रका गरी ४५ जना उम्मेदवार चुनावी मैदानमा छन् । ०७९ सालको चुनावमा निधि समानुपातिक सूचीबाट सांसद बनेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो विजयी भएकी थिइन् । उनले ३३ हजार ३ सय ८८ मत पाउँदा लोसपाका अनिल झाले २३ हजार ६ सय ८६ मत पाएका थिए, जनमत पार्टीका उम्मेदवार तेस्रो भएका थिए । जनताको मनोविज्ञान बदलिएका कारण ३ वर्ष अगाडिको नतिजा यसपटक मेल खाँदैन ।
स्थानीयमाझ राम्रो पकड बनाएका समाजसेवी डा. राजीव झाले उम्मेदवारी फिर्ता गरेर रास्वपाका मनिषलाई समर्थन गरेपछि रास्वपा बलियो बनेको छ । राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका झाले उम्मेदवारी फिर्ता गरेर मनिषलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

धनुषा ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव, नेकपा एमालेका रघुवीर महासेठ र रास्वपाका राजकिशोर महतो उम्मेदवार छन् । यस्तै, नेकपाका सञ्जयकुमार महतो, जसपाका कृष्णचन्द्र प्रसाद शाह र जनमत पार्टीका इन्द्रजित कुमार यादवसहित अन्य दल र स्वतन्त्र गरी यो क्षेत्रमा ३७ जना उम्मेदवार छन् ।
२०७९ सालको चुनावमा एमालेका महासेठले कांग्रेसका महेन्द्र यादवलाई झिनो मतले चुनाव हराएका थिए । महासेठले ३२ हजार २ सय ३६ मत पाउँदा कांग्रेसका यादवले ३२ हजार ११२ मत पाएका थिए । यो क्षेत्रमा पनि विगतको मतको अंकगणित मिल्दैन ।
विगतमा झिनो मतले हारेका कारण धनुषा ४ मा महेन्द्र यादवको पक्षमा मतदाताले सहानुभूति राखे पनि रघुवीरको आलोचना गरे । पटक-पटक चुनाव जितेर गए पनि काम नगरेको आरोप लगाए ।
जनकपुरमा भेटिएका कांग्रेसका मतदाताहरूले अहिले नयाँको लहर चले पनि मतदानको दिनसम्म आफ्नो पक्षमा माहोल फर्किने दाबी गरे । कांग्रेसले मधेशलाई महत्व दिएका कारण मतदाताले आफूहरूका उम्मेदवारलाई समर्थन गर्ने उनीहरुको विश्वास छ ।

मतदानको मिति नजिकिँदै गर्दा राजनीतिक दलले चुनाव प्रचार प्रसार तीव्र बनाएका छन् । धनुषाका क्षेत्र नम्बर १ र २ मा पनि बहुपक्षीय प्रतिस्पर्धा रहेको मतदाताहरू बताउँछन् ।
०७९ सालको चुनावमा धनुसा १ मा जसपाका दीपक कार्की र २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका थिए । यादवले यसपटक टिकट पाएनन् । धनुषा १ मा नेकपाका मात्रिका यादव, कांग्रेसका रामपल्टन साह, एमालेका रामचन्द्र मण्डल र रास्वपाका किशोरी साह उम्मेदवार छन् । जसपाबाट दीपक कार्की नै उम्मेदवार छन् ।
धनुषा २ मा कांग्रेसका दिनेश परसैला यादव, एमालेका उमाशंकर अरगरिया, नेकपाका रामचन्द्र झा र रास्वपाका रामविनोद यादव उम्मेदवार छन् ।
आसन्न चुनावबारे के भन्छन् धनुषाका मतदाता ? हेर्नुहोस् भिडियो :