०३ साउन २०८३, आइतबार

रास्वपाप्रति जनताको आशा, विश्वास र भरोसा छ : पूनम अग्रवाल

फागुन १३, २०८२
बुटवल
रास्वपाप्रति जनताको आशा, विश्वास र भरोसा छ : पूनम अग्रवाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक उम्मेदवार पूनमकुमारी अग्रवाल एक सफल उद्योगी हुन् । रूपन्देहीको भैरहवा निवासी पूनमको नाम समानुपातिक सूचीको मधेशी महिलातर्फ एक नम्बरमा छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउन खटिँदै समानुपातिक मत पनि माग्नमा उनी व्यस्त छिन् । 

‘उद्योगी तथा बौद्धिक महिलाको छवि’ बनाएकी पूनम मारवाडी महिला समुदायबाट पहिलो पटक सांसद बन्ने सम्भावना प्रबल देखिन्छ ।

फागुन २१ गते हुने निर्वाचनबाट रास्वपाले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने दाबी उनको छ ।

परिधिभित्र रहेर राजनीति सुधार गर्नका लागि रास्वपालाई मतदान गरी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ स्पष्ट बहुमत दिन अग्रवालले आग्रह समेत गर्दै आएकी छिन् ।

'रास्वपाले देश बनाउँछ' भन्ने भरोसा आम जनतामा रहेको उनले बताइन् । ‘देशको परिवर्तन रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले गर्नेछ,’ पूनमले भनिन्, ‘देशको विकास र परिवर्तनका लागि रास्वपालाई स्पष्ट बहुमत जनताले दिनेछन् । रूपन्देहीका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी बन्नुहुन्छ ।’

राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्ने पूनमले मेडिकल बायोलोजीमा स्नातकोत्तर गरेकी छिन् ।​

लामो समयसम्मको राजनीतिक अस्थिरताले हरेक क्षेत्रमा विकृति बढेको उनको बुझाइ छ । ‘प्रजातन्त्र पुन:स्थापना भएदेखि नै राजनीतिक क्षेत्र अस्थिर रूपमा गुज्रिँदै जाँदा राज्यका हरेक ठाउँमा विभिन्न विकृतिले जरो गाड्दै जान थाल्यो,’ उनी भन्छिन्, ‘निर्वाचनको सँघारमा छौं । एक पटक देशको मुहार फेर्न र सुधारका लागि रास्वपालाई जनताले पूर्ण विश्वास गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

यसअघि हुने भनिएको रूपन्देही–३ को उपनिर्वाचनमा समेत उनी आकांक्षी थिइन् ।

रास्वपाले समानुपातिक उम्मेदवार छान्न देशभरका कार्यकर्ता सहभागी हुन पाउने गरी आन्तरिक मतदान गरेको थियो । जसमध्ये मधेशी महिला उम्मेदवारमा अग्रवालले सर्वाधिक १४ हजार ७४५ मत पाएर मधेशी महिलामा पहिलो बनेकी थिइन् । लामो समयदेखिको मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेकी उनले पार्टीले अघि सारेका एजेन्डा, पार्टी सभापतिको कुशल नेतृत्व र मुलुकको विकासप्रतिको स्पष्ट दृष्टिकोणले गर्दा रास्वपा रोजेको बताइन् ।

उम्मेदवार सिफारिस भएपछि उनले भनेकी थिइन्, ‘म पार्टीको सिपाही हुँ, पार्टीको हितमा काम गर्ने हो । मैले शुरूआततदेखि नै सोहीअनुसार काम गर्दै आएकी छु । यही भएर कार्यकर्ता र पार्टीले मेरो मूल्यांकन गरेको बुझेकी छु ।’

सुत्केरी अवस्थामा समेत राजनीतिक कार्यक्रममा सक्रिय बनेकी उनी अहिले साढे दुई वर्षकी छोरी बोकेर चुनावी प्रचारमा दौडिरहेकी छिन् । यसैले पनि पार्टी भित्र र बाहिर उनको लोकप्रियता बढिरहेको छ ।

उनको परिवारको लगानीमा रूपन्देहीको रोहिणीमा मुलुकको पहिलो अर्गानिक दानेदार मल उद्योग सञ्चालनमा छ ।

विगतमा विभिन्न मेडिकल कलेजहरूमा पढाएको अनुभव समेत बटुलेकी उनी प्रष्ट वक्ताको रूपमा समेत परिचित छन् ।

उनले राष्ट्रिय स्तरका सम्मान समेत पाइसकेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्