०१ साउन २०८३, शुक्रबार
गगनको प्रतिबद्धता

०४६ सालपछिका सबै काण्डको छानबिन गर्छौं, मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन- गगन थापा

फागुन १४, २०८२
काठमाडौं
०४६ सालपछिका सबै काण्डको छानबिन गर्छौं, मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन- गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले  २०४६ सालपछि भएका भनिएका सुनिएका सबै काण्डहरूको छानबिन गर्ने बताएका छन् । 

त्यसमा आफ्नै परिवारका कोही सदस्य रहेछन् भने पनि उन्मुक्ति नपाउने थापाको भनाइ छ । 

‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरूको छानबिन गर्दै गर्दा मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्‍यो भनेर सुन्न पाउनु हुँदैन’, बिहीबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भने । 

उनले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै भने, ‘यो पाँच वर्षलाई परीक्षण नगरौं । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रा भन्न सकिन्छ तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।’

उनले कर्णाली र काठमाडौं महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने बताए । उनले भने, ‘कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाडौंमा त १० अर्ब छ । सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।’

 थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी पनि गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन उनले सबैलाई आग्रह गरे । 

उनले भने, ‘विगत पाँच/छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागि मात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौं- यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउनेछौं भनेर सपना बोकेर आएका छौं । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौं । पाँच वर्ष भनेर कुरेर बस्दैनौं । वैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्‍यौं भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौं ।’

उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्‍यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए । 

उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिस्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने । हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरूलाई कर्णालीबासीले नपत्याओस् ।’

null

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए । 

सभापति थापाले अगाडि भने, ‘कर्णालीको विकासको पहिलो मुद्दा संविधान पनि बदल, कानून पनि बदल । काठमाडौंबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ । म संविधान र कानून बदलाब गरौं भनेर भन्छु । तर बनाउन कति दुःख छ । कर्णालीमा पैसा कम छ मात्र हैन खर्च पनि गर्न सकिएको छैन । पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ । अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न ।’

सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै उनले भने, ‘विकास बहुआयामिक छ । यहाँ हल्ला छ । को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ ।’

उनले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे । 

सभापति थापाले भने, ‘मैले दुई चार वटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौं । देश पनि बदल्छौं । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौं । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन । अर्को शक्ति आक्रोश छ आगो छ । हामी पेटको आगो पनि भर्नुपर्नेछ ।’

सो सभामा नेपाली कम्युनिस्ट पार्टीबाट धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई सभापति थापाले पार्टीमा स्वागत गरे ।

salt training

कमेन्ट गर्नुहोस्