![एमालेले लगातार जितिरहेको काठमाडौं-९ मा जे देखियो… [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Kathmandu-9_Final_HZXDnjyXSI.jpg)
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा चुनावी माहोल तातिएको छ । सबै पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त छन । चौतारा र चिया पसलमा जनता चुनावी गफमा गफिएका भेटिन्छन् ।
यो निर्वाचन क्षेत्रमा २०७४ र २०७९ को निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए । यो पटक भने एमालेलाई जित निकाल्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । यो पटक एमालेबाट अजयक्रान्ति शाक्य, नेपाली कांग्रेस नानुमैयाँ बास्तोला, रास्वपाबाट डोल प्रसाद अर्याल, नेकपाबाट राधाकृष्ण महर्जन र राप्रपाबाट दिल कुमार कार्कीको मुख्य प्रतिस्पर्धा रहेको छ ।
हामीले नागार्जुन नगरपालिका वडा नम्बर ६,७ र ८ घुमेर त्यहाँका मतदातासँग कुराकानी गर्दा अधिकांशले परिवर्तनको पक्षमा आफ्नो मत जाहेर गरे । धेरै यसपटक नयाँलाई हेर्ने बताएका छन् । २०७९ सालको निर्वाचनमा रास्वपाका टेकबहादुर पोखरेल १ हजार मतको झिनो अन्तरले पराजित भएका थिए । त्यसबेला रास्वपा स्थापना भएको ६ महिना भएको थियो । यसपटक रास्वपाको पक्षमा माहोल देखिएकाले जित निकाल्न सहज हुने मतदाताले आकलन गरेका छन् ।
नागार्जुन–७ का गौतमराज गिरीले चुनावी माहोल निकै बढेको र उम्मेदवार घरदैलोमा भोट माग्न आइरहेको बताए । गत वर्ष थोरै मतले पराजित भएकाले यसपटक घण्टीले नै जित्ने उनको विश्वास छ। नयाँ अनुहारलाई एकपटक अवसर दिनुपर्ने उनको धारणा छ ।
उनले भने, ‘चुनाव लागेको छ । घरदैलोमा उम्मेदवारहरू आइरहेका छन् । गत वर्ष थोरै मतले रास्वपा हारेको हो । यसपटक जित्छ भन्ने आशा छ ।’
अर्का स्थानीय रामशरण गिरीले भने चुनावी माहोल पहिलेभन्दा कम देखिएको बताए । यद्यपि यसपटक घण्टीले नै जित्ने उनको विश्वास छ । बालेन शाह पढेलेखेको व्यक्ति भएकाले केही गर्छन् भन्ने आशा रहेको उनले बताए । आफ्नो मत घण्टीमै जाने उनले स्पष्ट पारे ।
‘चुनावको माहोल पहिलेभन्दा कम छ । पहिले थोरै मतले हारेको हुनाले यसपटक ढुक्कसँग घण्टीले जित्छ । बालेन पढेलेखेको मान्छे हो, उसले केही गर्छ भन्ने आशा छ’, उनले भने ।
नागार्जुन-८ का स्थानीय हरिशरण गिरीले नेपालमा लोकतन्त्र र गणतन्त्रको अभ्यासप्रति असन्तुष्टि जनाउँदै दुई दल मात्र भए देश बन्ने धारणा राखे । पुराना पार्टीप्रति वितृष्णा बढेकाले यसपटक नयाँलाई मत दिने उनको भनाइ छ ।
नागार्जुन–६ रामकोटका शंकर श्रेष्ठले कांग्रेस, एमाले र माओवादी सबैलाई परीक्षण गरिसकेको भन्दै यसपटक रास्वपालाई हेर्ने धारणा राखे । रास्वपालाई बहुमत दिएर स्थिर सरकार बनाउन सहयोग गर्नुपर्ने उनले बताए । कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने र एमाले तेस्रो स्थानमा रहने उनको अनुमान छ ।
उनले भने, ‘पुराना सबैलाई हेरियो । कांग्रेस, एमाले र माओवादीलाई पनि भोट हालियो तर केही गर्न सकेनन् । रास्वपाले बहुमत पाएर स्थिर सरकार बनाए केही गर्छन् कि भन्ने आशा छ । त्यसैले रास्वपालाई नै मत हाल्ने हो ।’
नागार्जुन–८ की अप्सरा गिरीले पनि यसपटक नयाँलाई अवसर दिनुपर्ने बताइन् । ३५ वर्षसम्म अरूलाई हेर्दा पनि परिवर्तन नआएको भन्दै यसपटक रास्वपालाई जिताउने उनको धारणा छ । बालेनलाई प्रधानमन्त्री भएको देख्ने चाहना पनि उनले व्यक्त गरिन् ।
उनले भनिन्, ‘३५ वर्ष अरूलाई हेरियो । यसपटक नयाँलाई हेर्ने हो । यहाँ बाटोको समस्या धेरै छ, जसले आए पनि बनाउनुपर्छ । बालेनले केही गर्छ कि भन्ने आशा छ । उसलाई प्रधानमन्त्री बनाउन भए पनि घण्टीमा मत हाल्ने हो ।’
नागार्जुन–६ कै स्थानीय ईश्वरराज भट्टराईले आफू २०३६ सालदेखि कांग्रेसमा आबद्ध भए पनि अहिले कांग्रेस छोडेर रास्वपामा लागेको बताए । पुराना पार्टीले धेरै पीडा दिएको भन्दै नयाँलाई पाँच वर्ष देश चलाउन दिनुपर्ने उनको धारणा छ । चुनावपछि भ्रष्टाचार निर्मूल हुनुपर्ने उनले बताए ।
‘म २०३६ सालदेखि कांग्रेसमा थिएँ । अहिले कांग्रेस छोडेर रास्वपामा लागेको छु । कांग्रेस र एमालेले धेरै रुवाए । अब पाँच वर्ष नयाँलाई देश चलाउन दिनुपर्छ । भोट घण्टीमै हाल्ने हो’, उनले भने ।
नागर्जुन–८ का स्थानीय गोकुलराज गिरीले पनि एकपटक नयाँलाई हेर्ने मन रहेको बताए । निर्वाचित भएपछि जनताका समस्या बुझेर काम गर्ने प्रतिनिधि आवश्यक रहेको उनको भनाइ छ । बाटोको समस्या समाधान हुनुपर्ने उनले बताए ।
उनले भने, ‘मेरो पनि यसपटक नयाँलाई हेर्ने मन छ । चुनावपछि भ्रष्टाचार निर्मूल गर्नुपर्छ । घण्टीलाई भोट हाल्ने भनेर छोराछोरीले पनि भनेका छन् । अब मतदानको दिन थाहा हुन्छ ।’
नागार्जुन–६ का अर्का स्थानीय राजमणि गिरीले चुनावी माहोल गर्मागर्मी रहेको बताए । आफू २०४८ सालदेखि एमालेको युवा संघमा रहेको तर यसपटक नयाँलाई मत दिने सोच बनाएको उनले बताए । सदस्यता नत्यागे पनि यसपटक रास्वपालाई मत दिने उनको भनाइ छ ।
‘चुनावी माहोल गर्मागर्मी छ । म २०४८ सालदेखि एमालेको युवा संघमा छु । तर अहिले सक्रिय छैन । सदस्यता नत्यागे पनि यसपटक नयाँ पार्टी रास्वपालाई मत दिने हो’, उनले भने ।
नागार्जुन–७ की निर्मला गिरीले बाटो र पानीको समस्या समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताइन् । बुझेर सक्षम व्यक्ति छान्नुपर्ने उनको धारणा छ ।
उनले भनिन्, ‘यहाँ बाटो र पानीको समस्या छ । त्यसलाई समाधान गर्ने नेतृत्व चाहिएको छ । राम्रो मान्छे छान्ने हो, जुनसुकै पार्टीको भए पनि । जे होस्, यो पटक मत नयाँलाई ।’
काठमाडौं-९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१२ का गोकुलपाटीका एक व्यक्तिले भने आफूले पुरानै पार्टीलाई मत दिने बताए । नयाँलाई भन्दा गाली खाइने भन्दै उनले आफ्नो नाम खुलाउन चाहेनन् भने क्यामरामा समेत बोल्न मानेनन् ।
‘नयाँको हावा यसरी लागेको छ कि पुराना दललाई भोट दिन्छु भन्दा गाली खाइन्छ’, उनले भने, ‘यस्ता अराजकलाई किन मत दिनु ? यिनीहरू भन्दा त बरु कांग्रेस-एमाले नै ठीक छन् ।’
चन्द्रागिरि नगरपालिका-१ सिर्जनाचोकमा तरकारी पसल गरेकी एक महिलाले पनि कांग्रेस/एमालेमध्ये एक दललाई मत दिने बताइन् । उनले अहिले घण्टीको हावा चले पनि चुनाव भने पुरानै पार्टीले जित्ने बताइन् ।
‘नयाँ नयाँ भनेर हुन्छ ? के छ यिनीहरूको योगदान ? अरूलाई गाली गर्ने र उछितो काढ्ने संस्कार भएकालाई मत दिनु भन्दा बरु कांग्रेस/एमालेलाई नै दिनु ठीक !’, उनले भनिन् ।
हेर्नुहोस् भिडियो :