
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । निर्वाचन सुरक्षाका कारण यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा उल्लेख छ ।
‘खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरू गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ, ’ उनले जारी गरेको सूचनामा लेखिएको छ । अरूलाई असर नगर्नेगरी घर/कम्पाउण्डभित्रै भने नाचगान र रमाइलो गर्न पाइने छ ।
होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रूपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको हो । प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ ।
होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छालगायत कपडाहरू प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गरी रात्रिकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचना प्रकाशित गरेको छ ।
काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसाय बन्द गर्न/गराउन सूचित गरिएको हो ।
