
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताएका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे ।
लामिछानेले आफूलाई बारम्बार प्रमाण मागेर घोच्ने प्रयास भइरहेको टिप्पणी गरे। उनले आफूलाई अन्तिम इच्छा सोधिएकोबारे पनि टिप्पणी गरे ।
'ठाउँ–ठाउँबाट घोचिरहन्छन्, त्यसैले मैले भन्नुपर्छ। प्रमाण छ भनेको ६५८ दिन भयो । अब चाहिँ प्रमाण चाहिँदैन,' उनले भने, 'मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै भयो । त्यसको जवाफ– मेरो अन्तिम इच्छा २१ गते मतपत्रमा देखाइदिनुहोला। म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।'
सभामा बालेनले भने चितवनको पर्यटनको कुरा गरे । उनले बोल्ने क्रममा समर्थकहरूले चर्को हुटिङ गरेपछि उनी केही बेर रोकिए ।
गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रहरी टोली हात्तिगौँडास्थित उनको निवासमा पुगेको थियो ।
पक्राउ गर्ने क्रममा प्रहरीले अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको थियो ।
प्रहरी र लामिछानेका सहयोगीबीच भएको विवादको उक्त भिडियो त्यतिबेला भाइरल भएको थियो ।