
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न पौडेललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहनप्रसाद श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरी कांग्रेसलाई समर्थन गर्ने र तालमेल गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका हुन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको बताउँदै उनले पार्टीको नीतिविपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही क्षेत्र नम्बर २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता छैन । राप्रपाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’
पार्टीले प्राविधिक रूपमा राप्रपाको उम्मेदवारी खाली हुन गएको क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पङ्क्ति र मतदातालाई आग्रहसमेत गरेको छ ।
रूपन्देही–२ मा राप्रपाको उम्मेदवार छैनन् । उम्मेदवारी दिएकी कर्भिका थापाको विदेशमा स्थायी आवास अनुमति (पीआर) त्याग गरेको तीन महिना नपुगेर कानूनी रूपमा उम्मेदवारी दिन नपाउने भएपछि उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
आइतबार क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति निकालेर कांग्रेसका चुन्न पौडेललाई समर्थन गरेको बताएका थिए । राप्रपा जिल्ला समितिले उक्त विज्ञप्तिको खण्डन गर्दै अन्य पार्टीको उम्मेदवारलाई समर्थन गर्ने कुरा निराधार रहेको बताएको थियो । विज्ञप्ति निकाल्ने थापालाई पार्टीले निलम्बन गरिसकेको छ ।
