३० असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन सर्वेक्षण

लोकान्तर 'प्रि-इलेक्सन पोल'- २ : विपिन आचार्यले जित्दैछन् दाङ २ मा चुनाव

फागुन २१, २०८२
काठमाडौं
लोकान्तर 'प्रि-इलेक्सन पोल'- २ : विपिन आचार्यले जित्दैछन् दाङ २ मा चुनाव

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका विपिनकुमार आचार्य दाङ २ बाट निर्वाचित हुने लोकान्तरको सर्वेक्षणले देखाएको छ ।

दाङ क्षेत्र नम्बर २ का विभिन्न ठाउँका मतदातामा गरिएको सर्वेक्षणले रास्वपाका आचार्य निर्वाचित हुने देखिएको हो ।

पहिलोपटक चुनावी प्रतिस्पर्धामा आएका रास्वपा सहमहामन्त्री आचार्यले एमालेका महासचिव पोखरेललाई पराजित गर्न लागेको सर्वेक्षणले देखाएको छ । पोखरेल यसअघि ०७९ सालको चुनावमा १९३ मतान्तरले पराजित भएका थिए ।

लोकान्तरको सर्वेक्षणमा सहभागीमध्ये ४१ दशमलव ९३ प्रतिशतले रास्वपा उम्मेदवारलाई भोट दिने बताए । २३ दशमलव १७ प्रतिशत मतदाताले एमालेका शंकर पोखरेललाई मत दिने बताए ।

०७९ सालको चुनावमा तत्कालीन नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र ०७४ सालमा कृष्णबहादुर महराले चुनाव जितेको यो क्षेत्रमा नेकपाका उम्मेदवार भन्दा कांग्रेसका किरण किशोर घिमिरे अगाडि रहेको सर्वेक्षणले देखाएको छ ।

१८ दशमलव २५ प्रतिशतले रूखमा किरणकिशोर घिमिरेलाई भोट हाल्ने बताए भने ११ दशमलव ८७ प्रतिशतले नेकपाका उम्मेदवार निर्मल आचार्यलाई भोट दिने बताए । ४ दशमलव ७८ प्रतिशत मतदाताले भने राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका दललाई भोट हाल्ने बताए ।

कुनै बेला माओवादी ‘सशस्त्र जनयुद्ध’को प्रभाव क्षेत्र रहेको यो क्षेत्रमा नेकपा उम्मेदवारप्रतिको अरुचिले गणतन्त्र स्थापनका लागि भएको त्यो आन्दोलनलाई मानिसहरूले बिर्सँदै गएको बुझ्न सकिन्छ ।

null

‘यसपटक नयाँलाई’ नाराले अपरिचित अनुहारलाई चान्स !

रास्वपा सहमहामन्त्री समेत रहेका आचार्य दाङमा परिचित अनुहार होइनन् । शंकर पोखरेल लगायत अन्य उम्मेदवारको तुलनामा दाङको विकासमा आचार्यको योगदान छैन ।

रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र समेत रहेका आचार्य गोर्खा मिडिया नेटवर्कमा भएको आर्थिक अनियमिततामा मुछिएका व्यक्ति हुन् । सहकारीबाट गोर्खा मिडियामा आएको पैसा अपारदर्शी ढंगले आचार्यको ‘नोबडी प्रडक्सन’मा गएको थियो ।

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले आचार्यसँग बयान लिएको थियो । तर, यो कुराले दाङका मतदातालाई प्रभावित गरेको पाइएन । कतिपय मतदाताले आफ्नो क्षेत्रमा को उम्मेदवार छ भन्ने थाहै नपाई घण्टीमा भोट हाल्ने बताएका थिए ।

आचार्यको नाम शुरूमा समानुपातिकको बन्द सूचीमा थियो । विवाद भएपछि उनले बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्षको टिकट पाएका थिए ।

यसपटक ‘नयाँलाई हेर्ने’ भन्दै घण्टीलाई भोट दिने बताएका मतदाताले आचार्यलाई नचिनेको बताए । कांग्रेस–एमाले पटक–पटक सत्तामा गएर पनि राम्रो काम नगरेकाले यसपटक नयाँलाई मौका दिने मतदाताले बताएका थिए ।

घण्टीमा भोट दिने बताएका मतदाताले रास्वपा सभापति रवि लामिछाने र रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका बालेनलाई हेरेर भोट दिन लागेको बताए ।

जेनजी आन्दोलन दबाउन भूमिका खेलेका कारण एमालेलाई भोट नदिने कतिपय मतदाताको भनाइ थियो । आन्दोलन भड्काउनमा वैदेशिक चलखेल रहेको भन्ने पोखरेलको भनाइसँग मतदाता सहमत देखिएनन् ।

लुम्बिनी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री हुँदा गरेको विकास र प्रदेशको राजधानी दाङ पुर्‍याएको एजेन्डालाई पनि मतदाताले रुचाएको देखिएन ।

वैदेशिक रोजगारीमा रहेका छोराछोरी या पतिले फोन गरेर नयाँलाई भोट हाल्नु भनेर निर्देशन दिएको कतिपय मतदाताले बताए ।

१९ वर्षका युवादेखि ८७ वर्षका वृद्धसम्मका मतदातामा गरिएको थियो सर्वेक्षण

लोकान्तर डट्कमले दाङ २ अन्तर्गतका विभिन्न पालिकामा गएर मतदातासँग सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा १९ वर्षका युवादेखि ८७ वर्षका वृद्ध समेत सहभागी भएका थिए ।

महिला, मजदुर, किसान, व्यापारी, विद्यार्थी र वैदेशिक रोजगारीबाट फर्किएका युवा समेत सर्वेक्षणमा सहभागी भएका थिए । उमेरले ८० पार गरेका कतिपय मतदाताले जीवनमा पहिलोपटक नयाँ पार्टीलाई भोट दिन लागेको बताए ।

‘नयाँलाई भोट दिन्छौं’ भनेका मतदाताले स्वदेशमै आफ्ना बालबच्चाको भविष्य सुनिश्चित गर्नका लागि घण्टीमा भोट हाल्न लागेको बताए । नयाँलाई भोट दिन्छौं भन्ने बहुसंख्यक मतदाताले सरकारी काममा ढिलासुस्ती र झञ्झटबाट मुक्ति चाहेको बताए ।

पढ्नुहोस्, यो पनि :

लोकान्तर 'प्रि-इलेक्सन पोल' : झापा ५ मा बालेनले जित्दैछन् चुनाव
 

salt training

कमेन्ट गर्नुहोस्