२८ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन सर्वेक्षण

लोकान्तर 'प्रि-इलेक्सन पोल' – ३ : मनिष झाले जित्दैछन् धनुषा ३ मा चुनाव

फागुन २१, २०८२
काठमाडौं
लोकान्तर 'प्रि-इलेक्सन पोल' – ३ : मनिष झाले जित्दैछन् धनुषा ३ मा चुनाव

नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र अघिल्लोपटक चुनाव जितेकी एमाले नेतृ जुलीकुमारी महतो महासेठलाई पछाडि पार्दै धनुषा– ३ मा रास्वपाका मनिष झाले चुनाव जित्ने ‘लोकान्तर सर्वेक्षण’ले देखाएको छ ।

लोकान्तर डट्कमले धनुषा ३ का विभिन्न स्थानमा पुगेर ५ सय १७ जना मतदातासँग गरेको सर्वेक्षणले रास्वपाका मनिष झा विजयी हुने देखाएको हो । यसअघि ०७९ सालमा चुनाव जितेकी जुलीकुमारी दोस्रो स्थानका लागि निधिसँग प्रतिस्पर्धामा रहेको सर्वेक्षणले देखाएको छ ।

रास्वापाका मनिष झाले ४७ दशमलव २९ प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ । नेपाली कांग्रेसका निधिले १७ दशमलव ८३ र एमालेकी जुली महासेठले १४ दशमलव ३७ प्रतिशत मत ल्याउने देखिएको छ ।

जसपाका परमेश्वर साह सुडीले ९ दशमलव २३, नेकपाका रामललित मण्डलले ७ दशमलव ६१ प्रतिशत तथा जनमत पार्टीका गोपालप्रसाद साहले ३ दशमलव ६७ प्रतिशत मत पाउने लोकान्तरको सर्वेक्षणले देखाएको छ ।

null

जनकपुरमा परिचित अनुहार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार डा. राजीव झाको समर्थनले मनिषको पक्षमा माहोल सिर्जना गर्न भूमिका खेलेको देखियो ।

मतदाताले ‘यसपटक नयाँलाई हेर्ने’ भनेर दिएको प्रतिक्रियाले प्रमुख संसदवादी दल कांग्रेस र एमालेका उम्मेदवार रक्षात्मक बनेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले धनुषा ३ लाई आफ्नो गढ भनेर दाबी गरे पनि मधेशका जिल्लामा त्यस्ता गढ र भोट बैंक भत्किएको विश्लेषण गरिएको छ ।

बालेन फ्याक्टरले उल्ट्याउँदै नतिजा

मधेशमा चलेको ‘बालेन नामक आँधी’ले चुनावी नतिजामा उलटफेर ल्याउने संकेत देखिएको छ । ‘बालेन प्रधानमन्त्री’ बन्ने नाराले परम्परागत संसदवादी दलका उम्मेदवारलाई नयाँले छायाँमा पारिदिएका छन् ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेपछि रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले जनकपुरमा गएर पहिलो सम्बोधन गरेका थिए । बालेनले सम्बोधन गरेको सो कार्यक्रम सञ्चालन मनिषले गरेका थिए भने सभा भएको स्थल धनुषा ३ मा थियो ।

बालेनले जनकपुरमा मैथलीमा गरेको सम्बोधन र रोड शोपछि मधेशका जिल्लामा रास्वपाप्रति लहर छाएको हो । ‘मधेशको छौरा’लाई प्रधानमन्त्री बनाउने हो ? भनेर बालेनले गरेको सम्बोधन मधेशका जिल्लामा रास्वपा उम्मेदवारका लागि सञ्जिबनी बूटी बनेको छ ।

लोकान्तर डट्कमले फागुन ११ गते ‘मधेशका ३२ वटै क्षेत्रमा रास्वपाको एक्लो उम्मेदवार हुन् बालेन !’ भन्ने विश्लेषण प्रकाशित गरेको थियो । त्यो लहर पूर्वी तराईका जिल्लामा समेत पुगेको छ ।

घण्टीलाई मत दिन्छु भन्ने अधिकांश मतदाताले बालेन प्रधानमन्त्री भएमा आफूहरूको जीवनमा सुधार आउने र मधेशमा विकास हुने बताएका थिए ।

यसरी ‘घण्टी छाप’मा भोट दिन्छु भन्ने जवाफ दिएका कतिपय मतदातालाई धनुषा ३ मा रास्वपाको उम्मेदवार को छ भन्ने समेत ज्ञान नरहेको पाइयो ।

मधेशका जिल्लाका उम्मेदवारले बालनले जनकपुरमा गरेको भाषणको अडियो क्लिप माइकमा बजाउँदै चुनाव प्रचार गरिरहेका थिए । वर्षौंदेखि कांग्रेस–एमालेलाई भोट दिएका मतदाताले यसपटक मत परिवर्तन गर्न लागेको खुलाएका थिए ।

२०७९ सालको चुनावमा एमाले नेत्री महतो ३३ हजार ३ सय ८८ मत पाएर विजयी भएकी थिइन् । तत्कालीन सत्ता गठबन्धनको समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले २३ हजार ६ सय ८६ मत पाउँदा जनमत पार्टीका शम्भुनाथ शाहले ४ हजार ७ सय ६२ मत पाएका थिए ।

०७९ सालको चुनावमा निधि समानुपातिक सांसद थिए । ०७४ सालको चुनावमा एमालेको समर्थन रहेका राजेन्द्र महतोसँग निधि पराजित भएका थिए । तर, विगतको अंकगणित यसपटकसँग चुनावका तुलना गर्न नमिल्ने मतदाताहरूले बताए ।

१९ देखि ८४ वर्षका मतदातासँग गरिएको थियो सर्वेक्षण

लोकान्तर डट्कमले धनुषा ३ अन्तर्गतका विभिन्न क्षेत्रमा पुगेर ५ सय १७ जना मतदातासँग कुराकानी गरेको थियो । कुराकानी गरेकामध्ये बहुसंख्यकले यसपटक नयाँ दललाई मत दिने बताएका थिए ।

पहिलोपटक मतदान गर्न लागेका ९३ प्रतिशत नयाँ मतदाताले ‘घण्टी छाप’मा भोट हाल्न लागेको बताए । ७ प्रतिशतले कांग्रेस, एमाले र जनमत पार्टीलाई भोट दिने बताए । कांग्रेसलाई भोट हाल्छौं भन्ने अधिकांश मतदाता पाको उमेरका थिए ।

विगतदेखि नै कांग्रेसलाई मत दिएका कतिपयले आफूहरूको हात अन्यत्र नजाने बताए । केही मतदाताले कांग्रेसमा नेतृत्व परिवर्तन भएर आशा जगाएकाले रूखमै भोट हाल्ने बताए ।

एमालेलाई भोट दिन्छौं भन्ने अधिकांश मतदाता पार्टी सदस्यता लिएका थिए । कुनै दलमा आबद्ध नरहेका चलायमान मतदाताले एमालेको नाम लिएनन् । कतिपय मतदाताले भदौ २३–२४ को जेनजी आन्दोलन दबाएका कारण एमालेलाई भोट नदिने बताए ।

केही मतदाताले प्रत्यक्षमा घण्टी र समानुपातिकमा पार्टी (एमाले)लाई नै भोट हाल्ने बताए ।

पढ्नुहोस्, यो पनि :

धनुषाका ५१७ मतदातासँग कुरा गरेपछि क्षेत्र नम्बर ३ र ४ को विश्लेषण

लोकान्तर 'प्रि-इलेक्सन पोल' : झापा ५ मा बालेनले जित्दैछन् चुनाव

लोकान्तर 'प्रि-इलेक्सन पोल' – २ : विपिन आचार्यले जित्दैछन् दाङ २ मा चुनाव

salt training

कमेन्ट गर्नुहोस्