
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा कोशी प्रदेशमा ५८.६० प्रतिशत मतदान भएको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा गरी कूल २० लाख ९४ हजार ४ सय ८३ मत खसेको हो ।
कोशी प्रदेशमा कूल ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका थिए । खसेको कूल मतमध्ये महिलाको संख्या १० लाख ६९ हजार ५०२ र पुरुषको संख्या १० लाख २४ हजार ९७४ रहेको छ भने अन्य ७ जनाले मतदान गरेका छन् ।
तथ्यांक अनुसार मोरङ जिल्लामा सबैभन्दा बढी ६४.५६ प्रतिशत मतदान भएको छ भने खोटाङमा सबैभन्दा कम ४२.८५ प्रतिशत मात्र मत खसेको छ ।
मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्रमा कूल ५ लाख ५ हजार ५१४ मत खसेको छ । मोरङमा कूल ७ लाख ८३ हजार ५० मतदाता रहेका थिए । खसेको कूल मतमध्ये महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ ।
तथ्यांक अनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्यले मतदान गरेका छन् ।
मोरङका ६ वटा क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर १ मा सबैभन्दा कम ६०.३६ प्रतिशत मतदान भएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मत खसेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५ जनाले मतदान गरेका छन् ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७, क्षेत्र नं. ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ६४ प्रतिशत, क्षेत्र नं. ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ । निर्वाचन क्षेत्र नं. ६ मा ६६.२३ प्रतिशत ९१ हजार २९२ मत खसेको छ ।
झापामा ६४.२४ प्रतिशत मतदान भएको छ । ५ वटा निर्वाचन क्षेत्रमा कूल ४ लाख ५८ हजार ३६२ मत खसेको छ । झापामा कूल ७ लाख १३ हजार ५३७ जना मतदाता रहेका थिए ।
झापा क्षेत्र नम्बर ५ मा भने जिल्लाको औसतभन्दा केही बढी अर्थात् ७० प्रतिशत हाराहारी मतदान भएको छ । यो क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह मुख्य प्रतिस्पर्धी छन् ।
सुनसरीमा ६३.६२ प्रतिशत भएको भएको छ । जसमा ३ लाख ६९ हजार ६०० सयले मतदान गरेका छन् । इलाममा ५७.०४ प्रतिशत मत खसेको छ । जसमा १ लाख ३२ हजार २१४ जनाले मतदान गरेका छन् ।
धनकुटामा ५४.३१ प्रतिशत अर्थात् ६४,३१५, तेह्रथुममा ५३.५९ प्रतिशत अर्थात् ३९ हजार १९३ मत खसेको छ । त्यसैगरी, संखुवासभामा ५२.६१ प्रतिशत अर्थात् ६२ हजार ९३७ मत, उदयपुरमा ५२.१५ प्रतिशत अर्थात् १ लख २४ हजार, ५९०, ताप्लेजुङमा ५१.३७ प्रतिशत अर्थात् ४६ हजार ४०२ मत, पाँचथरमा ४९.६३ प्रतिशत अर्थात् ७१ हजार १७० मत खसेको छ ।
सोलुखुम्बुमा ४८.४१ प्रतिशत अर्थात् ४१ हजार ४०१ मत, ओखलढुंगामा ४८.१४ प्रतिशत अर्थात् ५९ हजार ७९ मत, भोजपुरमा ४६.१७ प्रतिशत अर्थात् ५८ हजार ६९ मत र खोटाङमा ४२.८५ प्रतिशत अर्थात् ६३ हजार ३५ मत खसेको छ ।
तथ्यांक अनुसार तराईका तीन जिल्ला (मोरङ, झापा र सुनसरी) मा मतदानको उत्साह बढी देखिएको छ भने पहाडी र हिमाली जिल्लाहरूमा औसत मतदान ५० प्रतिशतको हाराहारीमा रहेको छ ।
मतदान कार्य सकिएसँगै अहिले सबै जिल्लाका मतपेटिका संकलन गरी मतगणनास्थलमा लैजाने कार्य भइरहेको छ । धेरैजसो स्थानमा बिहीबार रातिदेखि मतगणना शुरू गर्ने तयारी गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी विनोद घिमिरेले प्रदेशभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । केही फाटफुट घटनाबाहेक सबै जिल्लामा उत्साहजनक र सुरक्षित वातावरणमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ ।