
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा रौतहट क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल दुई हजार २०५ मत ल्याएर अग्रपंक्तिमा छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेना ६२९ र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन् ।
पत्रकारिता छाडेर राजनीतिमा होमिएका ऋषि धमलाले भने जम्मा ९ मत ल्याएका छन् । आम जनता पार्टीबाट चुनाव लडेका धमलाको चुनावी प्रचार लोभलाग्दो देखिए पनि त्यहाँका मतदाताले उनलाई रुचाएको देखिएन ।
यो क्षेत्रबाट २० जना उम्मेदवार थिए । एमालेका रामजी साह सोनार अहिले मतान्तरमा चौंथो छन् । उनले एक सय २२ मत ल्याएका छन् ।
उज्यालो नेपाल पार्टीबाट उठेका तुलसी राज गिरीले १६, जनमत पार्टीका राम कल्याण राउतले १५, स्वतन्त्रबाट उठेका सुरेन्द्र प्रसाद पटेलले १४, जनता समाजवादी पार्टीका राज कुमार दास तत्माले १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रूपलाल रायले ९, स्वतन्त्रका अर्का उम्मेदवार बैजुनाथ पटेलले ७ मत पाएका छन् ।
श्रम संस्कृति पार्टीका नवराज अर्यालले ६, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का किशोर सहनीले ५, प्रगतिशील लोकतान्त्रिक पार्टीका सत्य नारायण भगत बीनले ४, स्वतन्त्र उम्मेदवार समसुन खातुनले ३, स्वतन्त्रबाटै उठेका किरण कुमार काफ्लेले २, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दिनेश प्रसाद शाहले १, संयुक्त नागरिक पार्टीका केशव राईले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा सिंह रुम्बाले १ र स्वतन्त्र उम्मेदवार गौतम कुमार साहले १ मत ल्याएका छन् । अहिले पनि यो क्षेत्रमा मतगणना जारी छ ।