
भारतको बैंग्लोरस्थित मैसुरु रोड नजिकैको एक शान्त छिमेकमा बस्ने सुजाता सेजेकानका लागि नेपालमा बालेन्द्र शाह (बालेन)को उदय एउटा व्यक्तिगत र गर्विलो कथा बनेको छ। बालेनकी दिदी सुजाता पेसाले कलाकार हुन् र उनी आफ्ना पति हरिश कुमार सेजेकसँग बस्छिन्।
बालेन नेपालको आगामी प्रधानमन्त्री बन्न सक्ने सम्भावनाले सुजाता मात्र होइन, बैंग्लोरमा रहेका करिब एक लाख नेपालीहरूमा पनि उत्साह जगाएको छ। 'यो सबै सपनाजस्तो लाग्छ, मलाई निकै गर्व लाग्छ एक दिदीको रूपमा,' सुजाताले मेट्रोलाइफसँग कुरा गर्दै भनिन् । डेकेनहेराल्डमा प्रकाशित रिपोर्टअनुसार बालेनले कडा मेहनत गरेर आफूलाई विश्वसामु प्रमाणित गरेको उनले बताइन् ।
बालेनले बैंग्लोरको 'निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी' बाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (एम. टेक) गरेका थिए। एम टेक गर्दै गर्दा शाहले दुई वर्ष शहरमा बिताए ।
सुजाताका अनुसार बैंग्लोरको बसाइले बालेनलाई पूर्वाधार र विकासबारे सोच्ने दृष्टिकोण दियो। उनले त्यहाँ सिकेको आधुनिक प्रविधि र नेपालको परम्परागत निर्माण शैलीलाई मिलाएर भूकम्प प्रतिरोधी संरचना बनाउने लक्ष्य राखेको सुजाता बताउँछिन्।

बालेनलाई बैंग्लोरका इन्दिरानगर र बसवनगुडी जस्ता ठाउँहरू मनपर्थ्यो। फुर्सदमा उनी परिवारसँग नन्दी हिल्स, मैसुरु प्यालेस र मडिकेरी घुम्न जान्थे। कहिलेकाहीँ चराहरू हेर्न कोम्मघट्टा ताल पनि पुग्थे। बालेनका भिनाजु हरिश सम्झिन्छन्, 'मेयर वा प्रधानमन्त्री जे भए पनि उनी हाम्रा लागि प्रिय हुन्, जो सधैँ सरप्राइज दिन मन पराउँछन्।'
बालेनलाई लिएर बैंग्लोरमा रहेका नेपालीहरूमा पनि उत्साह छ । तर, पुरानो पुस्ताले भने अझै आशंका गरिरहेको छ । ३२ वर्षीय निकेश भण्डारीका अनुसार युवाहरू बालेनको परिवर्तनको एजेन्डामा उत्साहित छन्, जबकि घरका ठूला सदस्यहरू अझै पनि पुराना नेताहरूलाई नै विश्वास गर्छन् । निकेश भन्छन्, 'हामी रातारात परिवर्तन त खोज्दैनौँ, तर राम्रो शिक्षा र रोजगारी भएमा विदेशिनु पर्ने बाध्यता कम हुने आशा छ।' दक्षिण बैंग्लोरमा घरेलु कामदारका रूपमा कार्यरत २९ वर्षीया कल्पना पनि बालेनको उदयले स्वदेशमै रोजगारी पाउने आशा व्यक्त गर्छिन्।

इभेन्ट म्यानेजमेन्ट गर्ने अर्जुन थापाका लागि बालेनको यो सफलता अकल्पनीय छ। 'नेपालीज इन बैंगलोर' फेसबुक ग्रुपका सञ्चालक अर्जुन सम्झिन्छन्, 'बालेन र उनका साथीहरू पहिले हाम्रै ग्रुपमा आफ्नो सांगीतिक कार्यक्रमका निम्तोहरू पोस्ट गर्थे। आज उनी प्रधानमन्त्रीको चर्चामा हुनु अचम्मको कुरा हो।'
निर्वाचनका बेला बैंग्लोरबाट मात्रै करिब १० हजार नेपालीहरू भोट हाल्न स्वदेश फर्किएको अनुमान गरिएको छ। बैंग्लोरमा करिब एक लाख नेपाली रहेको अनुमान छ । तीमध्ये धेरै पश्चिम नेपालका छन्, जुन पूर्वी क्षेत्रभन्दा कम विकसित मानिन्छ। बालेनको यो यात्राले बैंग्लोरमा रहेका विद्यार्थी, पेसाकर्मी र श्रमिक सबैमा एउटा नयाँ आशा र बहस सिर्जना गरेको छ ।