
कोशी प्रदेशका तीनवटा मुख्य जिल्ला झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण तीव्र रूपमा फैलिएको छ ।
संक्रमणका कारण हजारौंको संख्यामा कुखुरा, हाँस, अण्डा र दाना नष्ट गरिएको छ भने अर्बौंको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक डा. दीपा दिवाली र लेयर्स कुखुरा पालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाका अनुसार अहिले भेटेरिनरी अस्पताल र विज्ञ केन्द्रहरू संक्रमण नियन्त्रणका लागि फिल्डमा अहोरात्र खटिएका छन् ।
पशुपन्छी विकास महाशाखाकी डा. दीपा दिवालीले हालसम्म झापा, मोरङ र सुनसरीका १२ वटा फार्ममा बर्डफ्लुको पुष्टि भइसकेको जानकारी दिइन् ।
शुरूमा ३ वटा फार्ममा देखिएको संक्रमण अहिले बढेर १२ वटासम्म पुगेको आधिकारिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको छ । फागुन १८ गतेदेखि शुरू भएको यो प्रकोप नियन्त्रण गर्न ‘र्यापिड रेस्पोन्स टीम’ परिचालन गरिएको छ ।
हालसम्मको सरकारी तथ्यांक अनुसार ३७ हजार ८ सय ६० वटा लेयर्स कुखुरा नष्ट गरिसकिएको छ । यसका अतिरिक्त ४३ हजार ९ सय ७१ गोटा अण्डा, ८ हजार २ सय केजी दाना र ५ सय ५० वटा अण्डाको खाली क्रेट पनि नष्ट गरिएको छ।
आउटब्रेक कन्फर्म भएपछि प्राविधिक टोलीले प्रभावित क्षेत्रको अध्ययन गरी विभागलाई प्रतिवेदन पठाउने र सोही आधारमा संक्रमित क्षेत्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गरी खोरलाई नि:संक्रमण गरेर सिल गर्ने काम भइरहेको डा. दिवालीले बताइन् ।
व्यवसायीहरूले भने ठूलो क्षति भएको दाबी गरेका छन् । लेयर्स कुखुरा पालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाले संक्रमणका कारण मोरङ र सुनसरीमा मात्रै २ लाख १४ हजार कुखुरा नष्ट भइसकेको दाबी गरे ।
बास्कोटाका अनुसार मोरङका १७ वटा र सुनसरीका ९ वटा गरी २६ वटा फार्ममा संक्रमण देखिएको छ । मोरङमा मात्रै ६ वटा ठूला फार्ममा र अन्य १२ वटा फार्ममा संक्रमण देखिएको व्यवसायीहरूको दाबी छ । प्रदेशका व्यवसायीहरूको करिब ४ अर्ब रूपैयाँ बराबरको क्षति भएको बास्कोटाको दाबी छ ।
हलेसी पोल्ट्री, बुढीगंगा कृषि फार्म, अठियाबारी कृषि फार्म, कामाख्या पोल्ट्री, जे एण्ड जे कृषि फार्म र दाहाल कृषि फार्मजस्ता ठूला व्यावसायिक प्रतिष्ठान यसपटकको बर्डफ्लुबाट थला परेको बास्कोटाको दाबी छ ।
अध्यक्ष बास्कोटाले संक्रमण भित्रिनुको मुख्य कारण खुला सिमानाबाट हुने अवैध आयात भएको औंल्याए । फागु पूर्णिमा अर्थात् होलीको समयमा मासुको खपत बढ्ने भएकाले खुल्ला सीमा नाका हुँदै अवैध रूपमा बोइलर कुखुरा नेपाल भित्रिएकाले नेपालमा त्यसको असर परेको उनले दाबी गरे ।
सिमानामा कडाइ नहुँदा दु:ख गरेर व्यवसाय गर्ने स्वदेशी किसानले अर्बौंको नोक्सानी बेहोर्नुपरेको व्यवसायी बास्कोटाको गुनासो छ ।
संक्रमण फैलिएसँगै बजारमा कुखुराको मासु र अण्डाको खपतमा भारी गिरावट आउने डरले व्यवसायी थप चिन्तित बनेका छन् । डा. दीपा दिवालीका अनुसार अझै धेरै फार्मबाट नमूना संकलन गरी परीक्षणका लागि पठाइएको छ, जसको रिपोर्ट आउन बाँकी छ । अझै संक्रमित फार्मको संख्या अझै बढ्न सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
भेटेरिनरी अस्पताल र विज्ञ केन्द्रहरूले स्थानीय तहसँग समन्वय गरी संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाएका छन् । तर किसानहरूले भने अर्बौंको ऋण लिएर व्यवसाय शुरू गरेको अवस्थामा राज्यले उचित क्षतिपूर्ति नदिए पोल्ट्री क्षेत्र पूर्ण रूपमा धराशायी हुने चेतावनी दिएका छन् । मोरङ र सुनसरीमा मात्रै ९० वटा कुखुरा फार्म रहेका छन् ।