
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसँग पराजित भएको नेपाली कांग्रेस पार्टी विवादको अर्को गोलचक्करमा फसेको छ ।
पार्टी बैठकका नाममा समानान्तर बैठक राख्ने र एकै विषयमा फरक-फरक विज्ञप्ति निकाल्ने हदसम्म कांग्रेस पुगिसकेको छ ।
कांग्रेस बदलियो, अब देश बदल्छौं भन्दै निर्वाचनमा होमिएको कांग्रेस नराम्ररी थचारिन पुग्यो । ‘सय (सिट) पार’को नारा लगाउँदै सभापति गगन थापा मधेश झरेका थिए ।
सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी पराजित हुन पुगे । अन्य पदाधिकारीले पनि चुनाव जित्न सकेनन् ।
पहाडका १८ निर्वाचन क्षेत्रले अलिकति शाख जोगाइदिएको कांग्रेस समानुपातिकतर्फ २० सीट पाउँदै जम्मा ३८ सीटको पार्टी बनेको छ, जुन इतिहासकै सबैभन्दा कमजोर स्थिति हो ।
२१ फागुनको निर्वाचनको पराजयबारे समीक्षा गरी नसक्दै कांग्रेस विभाजनको तहसम्मै पुग्ने गरी आन्तरिक संघर्ष र रडाको मच्चिएको छ ।
पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । पार्टीभित्र भने एकता होइन 'ए! कता ?' को स्थिति सिर्जना भएको छ ।
समानान्तर गतिविधिको नाममा एकै विषयमा दुई फरक-फरक विज्ञप्ति आउन थालेपश्चात् ‘कांग्रेस अब एक रहन सक्दैन’ भन्ने तहबाट अर्थात् विभाजनको तहबाट बहस हुन थालेको छ ।
पार्टीको पुरानो संस्थापन समूहले मंगलबार आफ्नो समूहको बैठक गर्दै छ । धुम्बाराहीस्थित एक होटलमा बैठक बस्ने छ ।

बैठकलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने छन् । बैठकको नेतृत्व, त्यसले गर्ने निर्णय र त्यसपश्चात् जारी हुने विज्ञप्तिमा खड्का कार्यवाहक सभापतिको हैसियतमै प्रस्तुत हुनेछन् ।
बैठक पार्टी सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई चुनौती दिँदै समानान्तर गतिविधिका लागि आयोजना हुन लागेको हो । २७ देखि ३० पुसमा विशेष महाधिवेशन गरेर थापा नेतृत्वको समिति हाल अस्तित्वमा छ ।
तर‚ अनाहकमा आफूहरूलाई पार्टीबाट निकाल्ने स्थिति बनेको र शक्तिविहीन बनाएको भन्दै असन्तुष्ट बनेको यो समूहले सभापति थापा र वर्तमान केन्द्रीय नेतृत्वलाई कांग्रेसको नेतृत्व मानेकै छैन । निर्वाचनको समयमा मत्थर बनाएर तत्कालका लागि विवाद थाती राखिएको थियो । तर‚ निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपश्चात् असन्तुष्ट समूहले थापा नेतृत्वको समूहलाई कुनै पनि हालतमा नस्वीकार्ने भनेको छ ।
‘हामीले उनीहरूलाई मानेकै छैनौं । हामी आफ्नो कर्म गरिरहेकै छौं‚’ समूहका एक नेताले भने‚ ’१७ गते कार्यवाहक सभापति पूर्ण दाइको नेतृत्वमा वृहत् बैठक बस्छ ।’
असन्तुष्ट समूहले समानान्तर गतिविधि स्वरूप नै दोस्रो कार्यक्रम गर्ने तयारी गरेको हो । जसलाई संस्थापन समूहले 'नोटिस'मा राखेको छ । असन्तुष्ट समूहले निरन्तर समानान्तर गतिविधि गरे पार्टी गम्भीर संकटमा पर्ने भन्दै सभापति गगन थापा र उनको टीममा रहेका केन्द्रीय पदाधिकारी छलफलमा जुटेका छन् ।
शनिबार अनौपचारिक छलफल गरेर असन्तुष्ट समूहबाट हुन थालेको समानान्तर गतिविधि पार्टी अनुशासनविपरीत भएको निचोड निकालिएको छ ।
पार्टी सहमहामन्त्री योगेन्द्र चौधरीले समूहगत वा वैचारिक भेला गर्ने छुट भए पनि ‘कार्यवाहक सभापति हुँ भन्दै समानान्तर गतिविधि गरे त्यसको नतिजा भोग्न तयार हुनुपर्ने’ धारणा राखे । असन्तुष्ट भनिएको समूहभित्र सिनियर नेताहरू रहेको भए पनि उनीहरू पार्टी विधि र विधानभन्दा माथि हुन नसक्ने उनको भनाइ छ ।
‘उहाँहरूले हामीलाई अनुशासन र विधिविधान सिकाएको हो र हामीले सिकेका हौं‚’ उनले लोकान्तरसँग भने‚ ‘उहाँहरू विधि विधानभन्दा माथि हुनुहुन्न र कांग्रेसभित्र रहने भए पार्टी विधि विधान मान्नै पर्छ ।’
शनिबार पनि असन्तुष्ट समूहले बैठक बसेर केही निर्णय गरेको थियो । पार्टी कार्यालय सानेपामा संस्थापन समूहको बैठक जारी रहँदा असन्तुष्ट समूह ठमेलको एक होटलमा बैठक बसेको थियो । बैठकले पूर्व गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई वर्तमान सरकारले पक्राउ गरेकोमा प्रतिवाद गर्दै विज्ञप्ति जारी गरेको थियो ।
यता‚ सानेपाबाट पनि विज्ञप्ति जारी भयो । तर‚ असन्तुष्ट समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का भन्दै विज्ञप्ति जारी भएपश्चात् सभापति थापा र उनको समूह थप झस्किएको छ ।
रमेश लेखकलाई तुरुन्त रिहा गर्न माग गर्दै प्रतिशोधको प्रतिकार गर्ने भन्दै पार्टीको लेटरहेडमा विज्ञप्ति जारी गरेपश्चात् संस्थापन समूह थप तनावमा पुगेको हो ।
सानेपाबाट जारी भएको विज्ञप्तिले भने रमेश लेखक पक्राउको प्रस्ट ढंगले विरोध गरेको छैन । विज्ञप्तिमा व्यक्तिवादी हुनुभन्दा पनि कानूनी प्रक्रिया पालना गर्न अनुरोध गरिएको छ ।
यो प्रकरणले कांग्रेस फुट्यो भन्नेलाई बल पुगेको देखिन्छ । अर्को पाटोबाट हेर्दा कांग्रेस ‘फुटिसकेको हो ?’ भन्ने प्रश्न पनि स्वभाविक देखिन्छ । पार्टी नेता संकटमा परेका बेला दुई फरक मत आउनुले सकारात्मक सन्देश गएको देखिँदैन ।
कांग्रेसभित्र पार्टीका प्रायः सिनियर नेताहरू असन्तुष्ट समूहमा छन् । त्यसैले‚ आगामी असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी सहित अघि बढेको कांग्रेसमा समानान्तर गतिविधिले थप असर गरेको छ ।
निरन्तर समानान्तर गतिविधिको नाममा पार्टी हितविपरीत कार्य गरे त्यो स्वीकार्य हुनै नसक्ने सहमहामन्त्री चौधरी बताउँछन् । निरन्तर समानान्तर गतिविधि गर्दै गए पार्टीबाट निकाल्नेसम्मको तयारीमा गगन नेतृत्वको कांग्रेस लागिपरेको छ ।
‘समूहगत बैठक बसे पनि पार्टी विधानविपरीत समानान्तर गतिविधि गर्नै पाइँदैन‚’ चौधरीले थपे‚ ‘यदि उहाँहरूले समानान्तर गतिविधि गर्दै जानुभयो भने पार्टी अनुशासनभित्र पर्ने सबै तहको कारवाही गर्नुपर्ने अवस्था आउन सक्छ । आशा छ, उहाँहरू त्यो तहसम्म पुग्नुहुन्न।’

विशेष महाधिवेशन अवैधानिक हो भन्दै असन्तुष्ट समूह सर्वोच्च अदालतको शरण छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपश्चात् आधिकारिकता दाबी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत समूह सर्वोच्च अदालत पुगेको हो ।
यो विषयमा अदालतले निर्णय दिएको छैन । अदालतमा विषय विचाराधीन नै भएकाले पनि असन्तुष्ट समूहले समानान्तर गतिविधिलाई जारी राख्ने निष्कर्ष निकालेको हो । अदालतको अन्तिम आदेश ‘जे आए पनि मान्य हुने’ भन्दै असन्तुष्ट समूह आदेश नआएसम्म समानान्तर गतिविधि नरोक्ने निष्कर्षमा पुगेको देखिन्छ ।
‘अदालतको अन्तिम आदेश मान्नै पर्छ र हाम्रो लागि स्वीकार्य हुन्छ पनि‚’ असन्तुष्ट समूहका अर्का एक नेता भन्छन्‚ ‘आदेश नआउँदै हामीले गगन थापालाई सभापति मान्ने भन्ने हुँदैन । आफ्नो गतिविधि गर्न पाइहाल्छौं नि !’
यता वर्तमान संस्थापनले भने असन्तुष्ट समूहले समानान्तर गतिविधि गरे समूहको नेतृत्वलाई कारवाही गर्नेसम्मको तयारी गरिसकेको छ ।
उनीहरूलाई क्रियाशील सदस्य समेत नरहने गरी कारवाही गर्ने तथा सदस्यता नवीकरण कार्य नै नगर्ने तयारीमा सभापति थापा र वर्तमान कार्यसमिति रहेको छ, जसलाई असन्तुष्ट समूहले धम्कीको संज्ञा दिएको छ ।
‘उनीहरूले पार्टी हाइज्याक गर्न मिल्ने अनि हामीले उनीहरूको कुरा मान्दिनुपर्ने भन्ने हुँदैन‚’ ती नेता थप्छन्‚ ‘गगनले बनाएर कांग्रेस बनेको होइन हामी । हेरौंला कसरी कारबाही गर्दा रहेछन् !’