०२ साउन २०८३, शनिबार
संसदको पहिलो बैठक

जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदनमाथि कांग्रेस सांसदले उठाए प्रश्न

चैत १९, २०८२
काठमाडौं
जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदनमाथि कांग्रेस सांसदले उठाए प्रश्न

नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले जेनजी घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार पार्टीका तर्फबाट सदनलाई सम्बोधन गर्दै आङदेम्बेले भदौ २३ को घटना मात्र छानबिन गरेर २४ को घटनालाई बेवास्ता गरिएको बताएका हुन् ।

‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने । कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने । यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगलेसम्म २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारबाहीका लागि सिफारिस गर्‍यो‚’ उनले भने‚ ‘तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न ।’

उनले २४ गते संसद् भवन खरानी भएको र त्यो खरानीलाई सम्झिएर कामना गर्दै भविष्यमा कोही खरानी बनाउनेतिर अगाडि नबढून् भन्ने पनि अनुरोध गरे । 

‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद् भवन होइन । हाम्रो संसद् भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकी भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरून्‚’ उनले भने‚ ‘किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ? सभामुख महोदय म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।’

सांसद आङ्देबेले प्रधानमन्त्री बालेन शाहलाई ध्यानाकर्षण गराउँदै जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने ? भन्दै प्रश्न गरे । 

‘म आग्रह गर्न चाहन्छु- सरकारले सुझबुझपूर्ण ढंगले कानून र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् !कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको छ । यो मान्यतामा हामी आज पनि प्रस्ट र दृढ छौं‚’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्