
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले रास्वपा नेतृत्वको सकारले सहकारी ठगीमा संलग्नलाई कारबाही गर्ने विश्वास आफूलाई रहेको बताएका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) र गृहमन्त्री सुधन गुरुङले सहकारी पीडितलाई न्याय दिलाउने आशा रहेको बताएका हुन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार पार्टीका तर्फबाट सम्बोधन गर्दै उनले सहकारी पीडितलाई सरकारले नभइ सहकारी ठगबाटै रकम भराउनुपर्ने पनि बताए ।
‘सडकको किनारमा मकै पोलेर‚ साग बेचेर पसिना र रगत बगाएर संकलन गरेको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याइनेछ र पीडितको रकम सरकारबाट हैन ती अपराधीहरूको तीन पुस्ते जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग आशावादी छु‚’ उनले भने ।
साथै, उनले निर्मला पन्तदेखि इनिशा विकसम्मलाई यो सरकारले न्याय दिने पनि आशा प्रकट गरे । शाहीले वर्तमान सरकारलाई बहुमतको अहंकार नदेखाउन पनि सुझाव दिए । उनले असंलग्न परराष्ट्र नीतिबाट यो सरकार अघि बढ्नुपर्ने उल्लेख गरे ।
‘वर्तमान सरकार जनताको हितमा लागोस् । जनताको आवाजमा सुन्ने प्रजातान्त्रिक मूल्य मान्यतामा अडिग रहोस्‚’ उनले भने । साथै उनले वर्तमान सरकार सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभइ जनताको आशा, भरोसा र भविष्यको दियो बन्नुपर्ने सुझाव दिए ।
‘वर्तमान सरकारले विगतका सबै भ्रष्टाचारको काण्डको सबै फाइल खोलोस् । लाउडादेखि सहकारी घोटालासम्मका सबैलाई कठघरामा उभ्याउनेछ भन्ने आश छ‚’ शाहीले भने ।
शाहीले प्रदेश संरचना खारेज गरेर नचाहिने खर्च पनि जोगाउन पनि सरकारसँग माग गरे । उनले देशलाई हिन्दूराष्ट्र घोषणा गर्न पनि माग गरे । जसका लागि संविधान संशोधन गर्दा रास्वपालाई अपुग हुने संख्या पुर्याउन आफूहरू तयार रहेको शाहीको भनाइ छ ।