
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई हटाउने तयारी गरेका छन् ।
एकपछि अर्को विवादमा मुछिन थालेपछि प्रधानमन्त्री बालेनले मन्त्री साहका विषयमा बुझिरहेका छन् । उनी जोडिएका विषयमा आफ्नो संयन्त्रमार्फत् अध्ययन गरिरहेका छन् ।
मन्त्री साहको कमजोरी देखिए उनलाई पदमुक्त गर्ने तयारी छ ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूका विषयमा आफ्नो हिसाबले बुझिरहनुभएको छ । केही फल्ट देखिनेबित्तिकै हटाउनुहुन्छ । यसलाई नियमित प्रक्रियाका रूपमा बुझ्दा पनि हुन्छ । तर आजै हटाउने भन्ने छैन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।
मन्त्री साहकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा बैठकमा सहभागी भएको विषय पनि अहिले विवादमा छ ।
श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाएको थियो । तर नयाँ सरकार गठन भएसँगै उनी सदस्यको हैसयतमा बोर्ड बैठकमा सामेल भएको विषय बाहिरिएको छ ।
श्रममन्त्री साहलाई बिहीबार नै पदमुक्त गर्ने चर्चा चलिरहेको छ । तर प्रधानमन्त्रीको सचिवालय टीमले भने आजै हटाउने विषयमा अनभिज्ञता प्रकट गर्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्ना सांसदलाई मन्त्रीमा पठाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने भनेको थियो । चैत १३ म मन्त्री नियुक्त भएका साह महोत्तरी–२ बाट निर्वाचित हुन् ।
श्रममन्त्री साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको देखिएपछि प्रधानमन्त्रीले नै चासो लिएर बुझिरहेका छन् ।