
बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्ग अब सञ्चालनको निर्णायक मोडमा आउन थालेको छ। १४ महिनाअघि (१० माघ २०८१) मा ‘ब्रेक थ्रू’ गरिएको सुरुङमार्ग अप्ठ्यारो परेको अवस्थामा आउँदो बर्खामा गाडी पठाउन सक्ने गरी काम भइरहेको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने सुरुङमार्ग १ हजार १२६ मिटर लामो र साढे ८ मिटर चौडा छ। पहाड र तराई जोड्ने गरी ७ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सुरुङमार्गको हालसम्म टनेलभित्र एकतर्फी बाटो ढलान सकिएको छ।
सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख नवराज बास्तोलाले आउँदो असारसम्म गाडी चलाउन मिल्ने गरी काम सक्ने जानकारी दिए। ‘टनेलको सडक वान साइड ढलान सकियो,’ बास्तोलाले लोकान्तरसँग भने, ‘वैशाख अन्त्यसम्म टनेल भित्रको सडक निर्माणको काम सकेर इलेक्ट्रोमेकानिकल कम्पोनेन्ट जडान सुरु हुन्छ। सँगै फायर सेफ्टी पनि जडान असारसम्म सकेपछि सडकमा कुनै अवरोध आए वैकल्पिक अवस्थामा सुरुङबाट पनि गाडी पठाउन सक्ने गरी काम भइरहेको छ।’
सुरुङको हालसम्म भौतिक प्रगति ६५.२७ र वित्तीय प्रगति ५८.६५ प्रतिशत छ। सुरुङअन्तर्गत चारवटा काम भइरहेका छन्। योसँगै सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहडामा जोखिमयुक्त क्षेत्रमा रक सेड र स्लोप प्रोटेक्सनको काम जारी छ। यो भनेको सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमपूर्ण सडकलाई माथि भिरसम्मै सुरक्षा प्रदान गर्ने प्रविधि हो। अस्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ र सोहीअनुसारका नयाँ डिजाइनमा रक सेड र स्लोप प्रोटेक्सनका काम भइरहेको बास्तोलाले बताए।
उनका अनुसार सुरुङभित्र सुरक्षित बनाउने काम, रक फल वायरिङ, रक सेड निर्माण र स्लोप प्रोटेक्सन भइरहेका छन्। सुरुङ प्रस्थान र अन्तिम विन्दु क्षेत्रमा सडक सुरक्षित बनाउन रक फल ‘वायरिङ’ को काम पनि भइरहेको छ। यसले सडकमाथिबाट ढुङ्गा खस्न रोक्नेछ।
आयोजना निर्माणको ठेक्का सम्झौता अझै १ वर्ष बाँकी छ। २०८० माघ ४ गतेबाट सुरुङ खन्न थालिएको थियो। ‘ठेक्का सम्झौतासम्म हाम्रो कम्तीमा ९० प्रतिशत काम सकिन्छ,’ आयोजना प्रमुख बास्तोलाले थपे, ‘बढीमा ६ महिना थपेर काम सकिन्छ भन्ने मेरो अनुमान छ। तर, अहिले तीव्र गतिमा काम भइरहेको छ।’
पछिल्लो समय बजार भाउ र मूल्यका कारण ‘प्रोग्रेस’ गति सुस्त नबनाउन आयोजनाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनलाई सचेत गराएको छ।
पश्चिम नेपालको प्रमुख सहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ ‘ब्रेक थ्रू’ ले पूर्वाधारको क्षेत्रमा आशाको किरण जगाएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म झन्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद, सधैँ पहिरोको उच्च जोखिममा पर्छ। सडकदेखि तल तिनाउ नदीतर्फ अप्ठ्यारो भिरसहितको छाँगो र माथितर्फ अग्लो चट्टानसहितको पहाड भएकाले वर्षामा मात्र होइन, हिउँदमा समेत सुक्खा पहिरोको उत्तिकै जोखिम हुन्छ।
लामो छलफल र बहसपछि सोही जोखिमलाई मध्यनजर गरी सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माणको योजना अघि बढाएको थियो। सुरुङमार्ग निर्माणको काम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले अब ३५ प्रतिशत काम र २० प्रतिशत समय बाँकी रहेको बताइन्। ‘यो सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वाधार विकाससहित आर्थिक क्षेत्रमा समेत फड्को मार्न योगदान गर्नेछ। गुल्मी र पाल्पाका नागरिकको एक दशकदेखिको चाहना पूरा हुनेछ,’ ज्ञवालीले भनिन्।
सुरुङमार्गको काम सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) राखेर सडक सुरक्षित बनाउने काम पनि आयोजनाले गरिरहेको छ।
अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ। पहिरोका कारण ठुलो जनधनको क्षति हुँदै आएपछि यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ। दोभानदेखि बुटवलको चिडियाखोलासम्मको ५ किलोमिटर क्षेत्र अति जोखिमपूर्ण मानिन्छ। बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति गराइरहेको यो खण्डलाई सुरक्षित बनाउन राज्यको लामो प्रयासपछि सुरुङ निर्माणको काम अघि बढेको हो।
पछिल्लो १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ८० जनाभन्दा बढीले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ। सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ।
सुरुङमार्ग बनेपछि सिद्धबाबा क्षेत्रमा पहिरोको सन्त्रास अन्त्य हुने आशा लिइएको पाल्पा दोभानका स्थानीय तोया लम्सालले बताए। सडकमा अहिले दैनिकजसो २ हजार ५०० हाराहारीमा सवारीसाधन गुड्छन्। यो सडक खण्ड हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र उत्तरी छिमेकी देश चीन जोड्ने कोरला नाकासम्म पुग्ने गरिन्छ।
वातावरणविद् तथा इन्जिनियर प्रा.डा. खेटराज दाहालले सिद्धबाबा सुरुङ आवश्यकभन्दा केही छोटो बनेको बताए। ‘सुरुङ कम्तीमा चिडियाखोलादेखि दोभानसम्म बन्नुपर्ने हो,’ दाहालले भने, ‘यात्राका क्रममा मानिसहरू बलि चढेका थिए। यति नै भए पनि सरकारले एकदमै राम्रो गर्यो। यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर लामो सुरुङमार्गको आवश्यकता हो। सानो नै बने पनि खुसी हुनुपर्छ।’ सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड पनि विस्तारको काम सरकारले अगाडि बढाउँदै छ।