०६ साउन २०८३, बुधबार

कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गरेर अगाडि बढ्छौं : शंकर पोखरेल

चैत २८, २०८२
काठमाडौं
कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गरेर अगाडि बढ्छौं : शंकर पोखरेल
फाइल फोटो

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कम्युनिस्ट आन्दोलनलाई पुनः जागृत र पुनर्गठित गरेर अगाडि बढ्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका चुनौती सामना गर्दै अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले भने, 'हालको निराशालाई सङ्कल्पमा बदल्ने छौं र सङ्कल्पलाई आशामा बदल्ने छौं । सत्ता र केन्द्रमुखी भएर जनताबीचमा पुग्न नसक्दा कम्युनिस्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौं ।'

उनले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । 'विक्रम संवत् २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौं । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौं,' महासचिव पोखरेलको भनाइ थियो ।

पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताइन् ।

सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्वाह गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्