
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने सरकारको तयारीमा आपत्ति जनाएको छ ।
पेरिसडाँडामा जारी केन्द्रीय कार्य संयोजन समितिको बैठकमा छलफल भएका विषयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् ।
'विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी गलत छ, यो बेठीक हो,' उनले भने, 'यसले जनताको अधिकारलाई कुण्ठित गरेको छ, यो गलत हो, गर्न पाइँदैन, हामी यसको विपक्षमा उभिन्छौं ।
नेता खतिवडाले ४५ सदस्यीय केन्द्रीय कार्य संयोजन समितिको बैठकमा आजसम्म ४३ जना नेताहरूले आफ्नो धारणा राखिसकेका पनि जानकारी दिए । आवश्यक छलफल र नयाँ वर्ष कारणले आगामी वैशाख ३ गते बैठक बस्ने उनले बताए ।
गत बिहीबारको बैठकमा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको प्रस्तावमा केन्द्रित रहेर नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।