
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्ने वार्ता यसै हप्ता पुनः शुरू हुन सक्ने संकेत दिएका छन् । पहिलो चरणको वार्ता बिनानष्कर्ष सकिएपछि ट्रम्पले दोस्रो चरणको वार्ता हुने तयारी भैरहेको बताएका हुन् ।
गत शनिबार इस्लामाबादमा भएका वार्ताहरू कुनै नतिजाबिना नै समाप्त भएपछि अमेरिकाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको छ । 'तपाईंहरू त्यहाँ (इस्लामाबाद) बस्नुपर्छ, किनकि अर्को दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ जान बढी इच्छुक छौं,' न्यूयोर्क पोस्टसँगको एक अन्तर्वार्तामा ट्रम्पले भने ।
अमेरिकी सेनाले आफ्नो नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज होर्मुजजलमार्गबाट नगएको दाबी गरेपछि उनको टिप्पणी आएको हो । यो गतिरोधले अर्को हप्ता समाप्त हुने दुई हप्ताको युद्धविरामबारे पनि प्रश्न उठाएको छ ।
ट्रम्पले इरानसँगको जारी युद्ध अब समाप्त हुने धेरै नजिक रहेको दाबी गरे । फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने, 'मलाई लाग्छ यो लगभग समाप्त भइसकेको छ।'
ट्रम्पको भनाइले युद्धविराम वा शान्ति सम्झौताको लागि प्रमुख निर्णय चाँडै हुन सक्ने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि, यस क्षेत्रमा तनाव पूर्ण रूपमा कम भएको छैन र थप वार्ताहरू महत्त्वपूर्ण मानिन्छन् ।
इरानले ट्रम्पको टिप्पणीको जवाफ दिएको छैन, तर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः शुरू हुने सम्भावना रहेको बताए ।
रोयटर्सका अनुसार खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि यस हप्ताको अन्त्यतिर अमेरिकी र इरानी टोलीहरू पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि मिति अझै तय गरिएको छैन।
दुई पक्षबीचको वार्ताको सम्भावनाले पनि तेल बजारलाई केही राहत प्रदान गरेको छ, मंगलबार बेन्चमार्क तेलको मूल्य १०० डलरभन्दा तल झरेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायली हवाई आक्रमणपछि, इरानले विश्वको लागि महत्त्वपूर्ण तेल र ग्यास ढुवानी मार्ग, होर्मुजलाई प्रभावकारी रूपमा बन्द गरेको छ । एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र लगभग १० हजार अमेरिकी सैन्य कर्मचारीहरूले अब इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिरिने कुनै पनि देशका जहाजहरूमा नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रलाई हानि पुर्याएको छ ।
यो कदम इरानलाई दबाब दिने उद्देश्यले गरिएको हो । यसले इरानको आम्दानीका दुई प्रमुख स्रोतहरूलाई लक्षित गर्दछ।
गत शनिबार र आइतबार पाकिस्तानको राजधानी इस्लामाबादमा भएको प्रारम्भिक उच्चस्तरीय वार्ताले कुनै सम्झौता गर्न सकेन। अमेरिकाले इरानले आफ्ना सर्तहरूमा सहमत नभएको बताएको छ। वार्तामा इरानको आणविक महत्वाकांक्षा सबैभन्दा ठूलो बाधा बनेको छ ।
एक अमेरिकी अधिकारीले सीबीएस न्यूजलाई बताए अनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम संवर्धन पूर्ण रूपमा निलम्बन गर्न भनेको छ। अन्य अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानले युरेनियम संवर्धनलाई पाँच वर्षको लागि मात्र रोक्ने प्रस्ताव गरेको छ ।
यता, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानसँगको सम्बन्धमा राष्ट्रपति ट्रम्पले चाहेको 'ग्रान्ड बार्गेन' (वृहत सम्झौता) का लागि आफूले संघर्ष जारी राख्ने बताएका छन् । गत सप्ताहान्तमा पाकिस्तानको इस्लामाबादमा इरानी पक्षसँग भएको उच्चस्तरीय वार्ताको नेतृत्व गरेका भेन्सले वार्ताका क्रममा विपक्षी टोली सम्झौताका लागि इच्छुक देखिएको विश्वास व्यक्त गरेका छन् ।
दशकौँदेखिको अविश्वासका बाबजुद पनि वार्ता सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ । सीएनएनका अनुसार मंगलबार जर्जियाको एथेन्समा आयोजित 'टर्निङ पोइन्ट युएसए' को कार्यक्रममा बोल्दै उपराष्ट्रपति भेन्सले भने, 'अहिलेसम्मको प्रगतिबाट म निकै सन्तुष्ट छु।'
उनले इरानसँगको मुद्दामा राष्ट्रपति ट्रम्पको ठूलो योजना रहेको उल्लेख गर्दै प्रशंसासमेत गरे। 'उहाँ (ट्रम्प) कुनै सानोतिनो सम्झौता गर्न चाहनुहुन्न, उहाँको लक्ष्य एउटा वृहत सम्झौता (ग्रान्ड बार्गेन) गर्ने नै हो,' भेन्सले स्पष्ट पारे, 'राष्ट्रपति ट्रम्प यस्तो सम्झौता चाहनुहुन्छ जहाँ इरानसँग आणविक हतियार नहोस् र उसले आतंकवादलाई राज्यस्तरबाट प्रश्रय दिन बन्द गरोस् । बदलामा इरानी जनताले फस्टाउने अवसर पाउनेछन् र विश्व अर्थतन्त्रमा जोडिन सक्नेछन् । राष्ट्रपतिले यही प्रस्ताव अघि सार्नुभएको हो ।'