०३ साउन २०८३, आइतबार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

नेपाललाई यूएईले दियो १२९ रनको लक्ष्य

बैशाख ८, २०८३
काठमाडौं
नेपाललाई यूएईले दियो १२९ रनको लक्ष्य

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको हो ।

यूएईलाई ठूलो योगफल बनाउनबाट रोक्ने क्रममा नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले १९ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए ।

मध्यमतेज गतिका बलर हेमन्त धामीले पनि दुई विकेट हात पारे । उनले आफ्नो खेलजीवनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलेका हुन् ।

२० वर्षीय धामीले यूएईका कप्तान एवम् ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई आफ्नो पहिलो सिकार बनाए । उनले मुहम्मद वसिमलाई एलबीडब्लूको धरापमा पारे ।

धामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो पहिलो विकेट हो । उनले पहिलो ओभरको पहिलो बलमै यूएईका कप्तानलाई पेभेलियन फर्काएका थिए ।

त्यसपछि उनले यूएईका हरप्रित सिंहको विकेट लिए । उनले हरप्रितलाई पनि एलबीडब्लूकै धरामा पारे । नन्दन यादव र साहब आलमले पनि एक–एक विकेट कुम्ल्याए ।

यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान नाथले ४२ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काए ।

भ्रमणकारी टोलीका लागि ओपनर ब्याट्सम्यान अदिब उस्मानीले पनि ३० रन जोडे । आठौँ नम्बरमा क्रिज समाल्न आएका मुहम्मद अरफानले ३२ रन बनाए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म कुल १२ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा नेपाल र ६ खेलमा यूएई विजयी भएका छन् ।

कीर्तिपुर मैदानमा भने हालसम्म यी दुई टोलीबीच दुई खेल खेलिएको छ । कीर्तिपुर मैदानमा खेलिएको दुबै खेलमा नेपाली टोली यूएईसँग पराजित भएको छ ।

यो मैदानमा सबैभन्दा पहिले सन् २०२३ को अक्टोबर २७ तारिखमा यी दुई टोलीबीच भिडन्त भएको थियो । उक्त खेलमा यूएईले नेपाललाई चार विकेटले हराएको थियो ।

त्यसपछि सोमबार यही स्टेडियममा खेलिएको खेलमा पनि यूएईले नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ६ विकेटले हराएको थियो ।

नेपाली टोलीले घरेलु मैदानमा भने यूएईसँग हालसम्म पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलेको छ । बाँकी तीन खेल मूलपानी क्रिकेट मैदानमा खेलिएको हो ।

मूलपानी मैदानमा खेलिएको तीनवटै खेलमा नेपाली टोली विजयी भएको छ । त्यसैले नेपाली टोली कीर्तिपुर मैदानमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक यूएईलाई हराउने धुनमा देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्