
भारत सरकारको सहयोगमा झापाको गौरादह नगरपालिका–१ मा जनता माध्यमिक विद्यालयको भवन बन्ने भएको छ ।
बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।
भारत सरकारको आर्थिक सहयोग नेपाली रूपैयाँ करिब ५.८ करोडमा यो विद्यालय भवनको निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिने नेपालस्थित भारती दूतावासले जनाएको छ ।
यस अवसमार कोशी प्रदेशका मुख्यमन्त्री तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उनीहरूको विश्वास छ ।

नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।