
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता र सचेतक पनि बदल्ने तयारी गरेको छ । यसका लागि आवश्यक छलफल भइरहेको कांग्रेस स्रोत बताउँछ ।
कांग्रेस विश्वस्त स्रोतका अनुसार सभापति गगनकुमार थापासहित उनीनिकट नेताहरू सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउनुपर्ने पक्षमा छन् । विशेष महाधिवेशनमा सहयोग नगरेको मात्र होइन, उनले बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सभामा समन्वय गर्न नसक्ने मत उनीहरूको छ ।
साथै‚ उनी विशेष महाधिवेशन पक्षधरको भावनाअनुसार अघि बढ्न नसक्ने र निरन्तर आफूहरूको विरुद्धमा उभिने भएकाले पनि राष्ट्रिय सभाजस्तो महत्त्वपूर्ण ठाउँको जिम्मेवारीबाट मुक्त गरिनुपर्ने आवाज कांग्रेसभित्र उठेको हो ।
लोकान्तरले पार्टी महामन्त्री गुरुराज घिमिरेलाई राष्ट्रिय सभाको नेता परिवर्तन गर्न लागिएको हो ? भन्ने प्रश्न गरेको छ ।
उक्त प्रश्नमा महामन्त्री घिमिरेले यस विषयमा सामान्य कुरा उठेको तर‚ छलफल भने भइनसकेको दाबी गरे ।
००००
नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि भीष्मराज आङदेम्बेले कांग्रेस बदलिएको प्रमाणित भएको बताएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेपछि उनले कांग्रेसले इतिहास रचेको प्रतिक्रिया दिएका हुन् । ‘कांग्रेस बदलिएको प्रमाणित भएको छ, कांग्रेसले इतिहास रचेको छ,’ उनले भने ।
००००
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले श्वेतपत्र सार्वजनिक गर्दै निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने बताएका छन् ।
सोमबार देशको वर्तमान आर्थिक स्थितिलाई समेटेर श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री वाग्लेले अर्थतन्त्रको विद्यमान चुनौतीहरूको सामना गर्दै आर्थिक रूपान्तरणका लागि बहुआयामिक अवसरहरूमा लगानीमैत्री नीतिगत वातावरण निर्माण गरिने बताएका हुन् ।
त्यस्तै, स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत् निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिने श्वेतपत्रमा उल्लेख छ ।
जसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने मन्त्री वाग्ले बताएका छन् ।
जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत् स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर रहेको पत्रमा उल्लेख छ ।
००००
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा नगर्ने १० कामको सूची सार्वजनिक गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने बताएकी छन्। शक्तिको दुरुपयोग नगर्ने र कानुनविपरीत कसैको भनसुन नसुन्ने अडान पनि उनले सार्वजनिक गरेकी छन्।
००००
आगामी वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लालीबजार’ कानुनी विवादमा तानिएको छ ।
वादी समुदायको जीवन र संघर्षको कथामा आधारित भनिएको यो फिल्मले सोही समुदायको भावनामा ठेस र्पुयाएको भन्दै प्रदर्शन रोक्न माग गरिएपछि विवाद सुरु भएको हो ।
००००
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समयमा बाहिर आइरहेको यो भ्रमलाई चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालाहरुसँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने स्पष्ट गरेका हुन् ।
००००
सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त विषयमा दुवै पक्षको छलफलका लागि यही वैशाख २२ मा बोलाउने आदेश भएको छ ।
००००
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरिरहेको सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा सरोकारवालाहरूले चासो देखाएका छन् । मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएको छोटो अवधिमै हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषणहरू प्राप्त भएका छन् ।
सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकको मस्यौदा गत वैशाख ११ गते मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको थियो । मस्यौदा सार्वजनिक भएपछि कर्मचारी, सरोकारवाला निकाय र आम नागरिकबाट उत्साहजनक रूपमा सुझावहरू प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।
००००
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा ६ जनाको गिरोहलाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले ठगी गर्नुअघि नै तपाईं एउटा सक्कली नोट दिनुस्, हामी दोब्बर नोट दिन्छौं, बजारमा मज्जाले चल्छ भन्दै नक्कली नोटको कारोबार गर्दै आएको तथ्य खुलेको छ ।
००००
पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपतिसहितका पूर्व विशिष्ट पदाधिकारीले विदेशमा उपचार गराउँदा राज्यले स्वास्थ्य उपचार खर्च दिनेसम्बन्धी कार्यविधि सर्वोच्चले खारेज गरिदिएको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासले पूर्व पदाधिकारीहरूलाई विदेशमा उपचार गराउँदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधिको व्यवस्था खारेज गर्नेगरी आदेश गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक सात दशमलव ७३ अङ्कले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।
००००
सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णयका साथै यससम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
००००
काठमाडौंको माइतीघर मण्डलमा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र बस्नेतमाथि बलात्कार आरोप लगाएकी शोभा पाठकबीच भुतलाभुतल भएको छ ।
सोमबार माइतीघरमा उनीहरूबीच हात हालाहालत भएको हो । शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुर्नवहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका बेला महेशकी श्रीमती अम्बिका दलबलसहित आएर शोभालाई भुत्ल्याउन थालेको आरोप लगाइएको छ ।