
हाल गण्डकी प्रदेशका धेरैजसो स्थान र कर्णाली, बागमती तथा कोशीका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा पनि वर्षाको प्रभाव बढ्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका अधिकांश पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
विशेषगरी आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र झनै विस्तार हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशीका धेरै स्थान र अन्य तीन प्रदेशका केही स्थानमा वर्षा हुनेछ भने कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको समेत जोखिम रहेको विभागले जनाएको छ ।
यसपटकको वर्षाका कारण साना खोला खोल्सीहरूमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र सडक अवरुद्ध हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मौसमविद उज्ज्वल उपाध्यायले वर्षाको प्रभावका कारण त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा यात्रा नगर्न सुझाव दिएका छन् ।
उनका अनुसार काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र अलिराति ठूलो वर्षा हुने सम्भावना छ ।
भोलि बुधबार र पर्सि बिहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रीशुली-कालिगण्डकीसम्म बेला-बेलामा वर्षा भैरहने उनको अनुमान छ ।
बुधबार कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ।
विभागले वैशाख १६ गतेका लागि सातै प्रदेशका जिल्लालाई पहेँलो रङ्गले सङ्केत गर्दै मौसमको अद्यावधिक जानकारी लिएर मात्र आफ्नो दैनिक क्रियाकलाप अघि बढाउन नागरिकहरूलाई सचेत गराएको छ । यो मौसमी प्रणाली बिहीबारसम्मै कायम रहने देखिएकाले हिमाली तथा पहाडी भेगका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
खराब मौसमका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् । आजका लागि तय गरिएका विभिन्न डोमेस्टिक उडानहरू निर्धारित समयमै सञ्चालन हुन नसकी डिले भएका हुन्।
विमानस्थलको लाइभ उडान विवरणअनुसार अधिकांश ल्क्लाका उडानहरू डिले भएका छन् ।
कम भिजिबिलिटी, बादल र वर्षासहितको मौसमका कारण जहाज उडान र अवतरणमा समस्या हुँदा उडान तालिका प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
मौसम प्रतिकूल हुँदा विशेषगरी पहाडी तथा तराईका विभिन्न विमानस्थलसँग जोडिएका उडानहरूमा यस्तो समस्या दोहोरिने गरेको छ ।
अन्तर्राष्ट्रिय उडान र अवतरण भने भैरहेको छ । तर, केही उडानहरू निर्धारित समयभन्दा ढिला भएका देखिएको छ । कार्यालयका अनुसार कम भिजिबिलिटी, बादल लाग्ने र वर्षाजस्ता अवस्थाका कारण उडानहरू समयमै अवतरण तथा उडान गर्न कठिन भएको हो ।